–उत्सव ढकाल
ज्ञानमाण्डू। हाल दिनहुँ जसो विभिन्न क्षेत्रका धेरै रोजगारदाता सङ्घसंस्थाहरूले राष्ट्रिय दैनिक पत्रपत्रिकाहरूमा कर्मचारी आवश्यकता सम्बन्धी सूचना प्रकाशित गरेको देखिन्छ । यसबाट स्पष्ट हुन्छ कि एकातर्फ कैयन सङ्घसंस्थाहरूलाई दक्ष, सक्षम र प्रभावशाली जनशक्तिको खाँचो छ भने अर्को तर्फ हजारौँ बेरोजगार युवायुवतीहरू रोजगारीको प्रयासमा रहेका छन् । रोजगारीको अवसर पर्खिरहेका बेरोजगार युवायुवतीहरूलाई सहयोग गर्ने अभिप्रायले विभिन्न क्षेत्रका सङ्घ संस्थाहरूले प्रकाशित गरेका रोजगारी सम्बन्धी सूचनाहरू निजहरू समक्ष पु¥याई सङ्घसंस्थाहरूलाई आफूले खोजे अनुरूपको जनशक्तिको आवश्यकता पूर्ति गर्ने र रोजगारीको खोजीमा रहेका युवायुवतिहरुलाई रोजगारीको अवसर सम्बन्धी जानकारी गराउने सोचका साथ ज्ञानमाण्डूले रोजगारी सम्बन्धी जानकारीमूलक समाचारहरू प्रकाशित गर्दै आएको छ ।
यस लेखमा रोजगारदाता र रोजगारीको खोजीमा रहेका उमेदवारहरुलाइ सहयोग पुगोस् भनी रोजगारदाताले कर्मचारीहरू पहिचान गर्दा ध्यान दिनु पर्ने कुराहरू र उमेदवारले रोजगारीका लागि सङ्घसंस्था चयन गर्दा ध्यान दिनु पर्ने कुराहरू का बारेमा व्याख्या गर्ने कोसिस गरिएको छ ।
उमेदवारले रोजगारदाता छनौट गर्दा ध्यान दिनु पर्ने कुराहरू :
नेपाल एक विकासशील देश भएकै कारण रोजगारीको अवसरहरूको सीमितता छ तथापि उपलब्ध अवसरअनुरुप आफ्नो कार्यस्थल जस्तो महत्पूर्ण विषयमा निर्णय लिँदा उमेदवारले सही रोजगारदाता छनौट गर्दैछु वा छैन भन्ने कुरा सावधानीपूर्वक विचार गर्न आवश्यक छ ताकि उमेदवारबाट आफ्नो लागि अनुपयुक्त कार्यक्षेत्र छनौट हुन गै समय र प्रयास मात्र खेर नजाओस बरु उम्मेदवार आफूले रोजेको रोजगारदाताले आफ्नो वृत्ति विकास संगैे व्यक्तिगत विकास र आफूले सम्पादन गर्ने कार्यमा समेत सन्तुष्टि दिलाउन सकोस् । उमेदवारले रोजगारदाता छनौट गर्दा मूलतः देहायका कुरामा विशेष ध्यान दिन उपयुक्त हुन्छ ।
(१) तलब भत्ता तथा सुविधाहरुः जागिर गर्नेहरू मध्ये धेरैका लागि, मुख्य प्रेरणाको श्रोत तलब, भत्ता तथा कर्मचारीलाई प्रदान गरिने सुविधा नै हो । अतः रोजगारदाता ले प्रदान गर्ने कर्मचारी सुविधाहरू प्रतिस्पर्धी हुन आवश्यक छ । तलब भत्ता तथा सुविधाहरुमात्र सबै थोक होइन सो बाहेक आफ्नो भावी क्यारियर प्रगतिको अवसरहरू, आत्मसन्तुष्टिको अवसरको बारेमा पनि विचार गर्न जरुरी हुन्छ ।
(२) प्रशिक्षण र विकास: कर्मचारीलाई सुम्पिने जिम्मेवारी र निजको कार्य भूमिका निर्वाह गर्न सहज होस् भनेर रोजगारदाता संस्थाले के कस्तो प्रशिक्षण दिने गरेको छ वा छैन तथा आफ्ना कर्मचारीहरूको व्यक्तिगत र व्यावसायिक विकासको लागि रोजगारदाता संस्था प्रतिबद्ध छ वा छैन भन्ने पक्षमा पनि आकलन गर्न जरुरी छ ।
(३) इनाम र मान्यता: उमेदवारले रोजगारदाता संस्थामा इनाम र मान्यता (Incentive and Recognition) सम्बन्धी अभ्यास के कस्तो छ भन्ने कुरामा विचार गर्नु ज्यादै आवश्यक छ किन भने कर्मचारीको लागि इनाम र मान्यता एकmotivating factor पनि हो । हामीले रोजगारीका लागि निवेदन दिनु अघि के यो रोजगारदाता संस्थाले साँच्चै नै मिहिनेत र उत्कृष्ट प्रदर्शनका लागि आफ्ना कर्मचारीहरूलाई इनाम, पुरस्कार, मान, सम्मान दिन्छ भन्ने कुरा पत्ता लगाउन आवश्यक छ ।
(४) प्रतिष्ठाः कर्मचारीको प्रतिष्ठा कम्पनीको प्रतिष्ठासँग जोडिएको हुन्छ । उमेदवारले रोजगारदाता संस्था छनौट गर्दा समाजमा रोजगारदाता संस्थाको प्रतिष्ठा कस्तो छ, कम्पनीको उत्पादन वा सेवा गुणस्तरीय छ वा छैन ? Do they value their clients or customers? Does the company respect their stake holders? भन्ने तर्फ पनि आकलन गर्न जरुरी छ ।
(५) कम्पनीको संरचना र संस्कार: उमेदवारले कम्पनीको संरचना र कम्पनीको संस्कारलाई पनि विचार गर्नुपर्दछ । कसरी र केका आधारमा सञ्चालक समिति र व्यवस्थापन समितिको चयन भएको छ भन्ने कुराको ज्ञात हुनुपर्दछ साथै कम्पनीको संस्कार उमेदवारकोे व्यक्तित्वसँग कसरी फिट हुन्छ वा हुन सक्दैन भन्ने तर्फ पनि विचार गर्नुपर्दछ । उदाहरणका लागि के कम्पनीले एक उच्च प्रतिस्पर्धात्मक वातावरणलाई प्रोत्साहन गर्दछ जहाँ हामी आफ्ना सहकर्मीसँग प्रत्यक्ष प्रतिस्पर्धा गर्न सकौँ, के कम्पनीले team working and sharing of knowledge लाई प्रोत्साहन गर्दछ ?आदि ।
(६) तपाईँको सम्भावित सुपरभाइजरः उमेदवारले काम गर्दा कसलाई रिपोर्ट गर्ने हो र उसको स्वभाव कस्तो छ भन्ने कुराको खोजी गर्नु पनि जरुरी छ । उमेदवारले विचार गर्नुपर्दछ, के उ सहकर्मीहरूसँग एकसाथ राम्रोसँग काम गर्न चाहन्छ ? के उ आफ्ना सहकर्मीहरूका लागि एक राम्रो रोल मोडेल हुनेछ ? के उ सहयोगी छ ? के उसले आफ्ना सहकर्मीहरूका लागि अभिभावकको भूमिका निर्वाह गर्न सक्छ ?सक्षम छ ?आदि ।
(७) भूमिकाः केही प्रश्नहरू छन् जुन उमेदवारले आफैलाई सोध्नुपर्छ, Does my qualification meet my role? के म वास्तवमा मेरो कार्य पद र कम्पनी मा रुचि राख्छु? के म भूमिका पूरा गर्न मेरो क्षमतामा विश्वास गर्छु? के मलाई प्रदान गरिने भूमिकाले चुनौती र सिक्नका लागि अवसर प्रदान गर्दछ? के मलाई प्रदान गरिने भूमिकाले मलाई मेरो क्षेत्रमा एक विशेषज्ञ बन्न सहयोग गर्न सक्छ वा भविष्यमा अवसरका ढोका खोल्दै व्यापक विस्तारको साथ मलाई अवसर प्रदान गर्नेछ? आदि विषयमा पनि गंभीररुपमा विचार गर्न जरुरी छ ।
अतः उमेदवारले रोजगारदाता छान्ने आफ्नो निर्णय गर्नु अघि आफ्नो कार्य विवरण राम्रोसँग बुझी आफ्ना प्राथमिकताहरू र भविष्यका क्यारियर लक्ष्यहरूको बारेमा स्पष्ट हुनुपर्दछ र रोजगारीको प्रस्ताव स्वीकार गर्दा आफ्नो भूमिका र कम्पनीको बारेमा आवश्यक जानकारी हासिल गरेको छु भन्ने कुरामा सुनिश्चित हुनुपर्दछ ।
रोजगारदाता ले ध्यान दिनु पर्ने कुराहरू:
आफ्नो व्यावसायिक परिवेशमा मैले कस्तो उमेदवारलाई मानव संशाधनकोरुपमा भित्राउँदै छु भन्ने कुरामा विशेष ध्यान दिई दक्ष, कुलीन र सकारात्मक सोच भएको उम्मेदवार पहिचान गरी छनौट गर्न रोजगारदाताले विशेष ध्यान दिनुपर्ने हुन्छ जसका आधारमा कम्पनी आफ्नो व्यवसाय विस्तार र विकासमा अझ प्रतिस्पर्धी बन्न सकोस् ।
(१) योग्यताः सामान्यतया रोजगारदाताले उमेदवारमा हेर्ने पहिलो कुरा योग्यता नै हो । रोजगारदाताले उमेदवारलाई प्रदान गर्ने कार्य र जिम्मेवारी पुरा गर्नका निमित्त उमेदवारको योग्यता के कति छ भन्ने कुरामा ध्यान दिन जरुरी छ साथै उमेदवारले भविष्यमा अझ बढी र उपल्लो तहको जिम्मेवारी समाल्न सक्ने वा नसक्ने कुरा पनि आकलन गर्न जरुरी छ । अनुसन्धानहरूले देखाए अनुसार मानिसको शैक्षिक योग्यताले उसको सफलतामा १५ प्रतिशत योगदान गर्दछ भने व्यवहारिकताले ८५ प्रतिशत योगदान गर्दछ । अतःसकारात्मक सोच र सिक्ने प्रवृत्ति भएको उम्मेदवार पहिचान गरी छनौटको प्राथमिकतामा राख्नुपर्दछ ।
(२) अनुभवः विशेष गरी विद्यार्थी वा हालसालै पढाइ सकेका उमेदवारहरुमा अनुभव विरलै भेटिन्छ । कम्पनीमा केही त्यस्ता महत्त्वपूर्ण र अत्यावश्यक कार्यहरू हुन्छन् जुन अनुभवी कर्मचारीहरुद्धारा मात्र गराउन सकिन्छ र त्यस्ता कार्यहरू पनि हुन्छन् जुन अनुभवहीन कर्मचारीहरुद्धारा पनि गराउन सकिन्छ । त्यसैले आफ्नो आवश्यकता अनुसार उमेदवारहरु छान्न सकिन्छ । यदि रोजगारदातालाई धेरै अनुभवी उमेदवारको खाँचो परेको छ भने त्यस्ता उमेदवारलाई उनीहरूको योगदानको प्रतिबद्धता सहित चाहना अनुसारको सुविधा तथा वातावरणको प्रतिबद्धता जनाई छनौटको निर्णय गर्न सकिन्छ भने अनुभवहीनको हकमा सकारात्मक सोच र सिक्ने प्रवृत्तिको पहिचान गरी छनौट गर्न सकिन्छ ।
(३) क्यारियर हिस्ट्रिः यो कुरा अनुभव भन्दा फरक कुरा हो । क्यारियर हिस्ट्रि जान्नका लागि निम्न प्रश्नहरू सोध्न जरुरी छ । जस्तै, उनीहरूले अघिल्लो रोजगारीमा कति समय काम गरे ?, उनीहरूले किन अघिल्लो रोजगारी छोडे वा छोड्न खोजेका हुन् ?, उनीहरूले कुन कुन क्षेत्रमा काम गरेका छन् ? यस्ता प्रश्नहरूले रोजगारदातालाई उम्मेदवार को बारेमा धेरै कुराहरू बुझ्न मद्दत पुग्दछ ।
(४) क्यारियर गोल्स र उद्देश्यः रोजगारदाताले जहिले पनि उमेदवारले भविष्यमा आफूलाई कुन स्थानमा देख्न वा पुग्न चाहन्छ भन्ने कुरा जान्न र पत्ता लगाउन जरुरी छ किनभने जुन उमेदवारको उद्देश्य र लक्ष्य छ उसले जहिले पनि प्रभावकारी तवरले कार्यसम्पादन गर्दछ जबकि उद्देश्य बिनाको अथवा नाम र जीविकोपार्जनका लागि मात्र रोजगारी गर्नेले आफूलाई काममा केन्द्रित गर्न सक्दैनन् । निश्चित लक्ष्य र उद्देश्यका साथ जागिरमा लाग्ने कर्मचारीहरूले कुशलतापूर्वक कार्य गरी आफूलाई सुम्पिएको जिम्मेवारी प्रभावकारी तवरले पुरा गरी थप नयाँ कार्य र जिम्मेवारीकालागि तम्तयार भएर बस्दछन् । आफू कार्यरत संस्थालाई अग्रणी र सबै भन्दा सफल संस्थाको रूपमा चिनाउनु नै उनीहरूको मूल उद्देश्य बनिरहन्छ ।
(५)व्यक्तित्वः प्रत्येक रोजगारदाताले उम्मेदवार उत्साही, विश्वसनीय, नैतिक, वास्तविक, अनुकूल, विनम्र, इमानदार, जिम्मेवार, उत्सुक, रचनात्मक र आत्मविश्वास भएको होस् भन्ने चाहन्छ । के प्रत्येक उम्मेदवारमा यी सबै चीजहरू हुन्छन् ? सायद हुँदैनन् अथवा एकदम कमै मात्र हुन्छन् , रोजगारदाताले उम्मेदवाहरुमा यी गुणहरू छन् वा छैनन् भनेर पत्ता लगाउने र आफूले खोजको उम्मेदवारमा के कस्ता गुणहरू हुनुपर्छ भनेर उपहिचान पनि गर्नसक्नुपर्दछ ।
(६)सामाजिक सञ्जालको अवलोकनः सामाजिक सञ्जालका प्रयोगकर्ताहरू बढिरहेको अहिलेको समयमा सामाजिक सञ्जाल मार्फत मानिसहरूले गर्ने व्यवहारले उनीहरूको चरित्र, स्वभाव, आनिवानी प्रदर्शन भई रहन्छ । अतः रोजगारदाताले उम्मेदवार पहिचान गर्ने क्रममा उसले सामाजिक सञ्जाल मार्फत व्यक्त गर्ने अभिव्यक्ति, टिप्पणी आदिको आधारमा सो उम्मेदवार आफ्नो आवश्कताका लागि उपयुक्त हुन्छ, हुँदैन भनेर पहिचान गर्न सम्बन्धित उमेदवारको सामाजिक सञ्जालको अवलोकन गर्न आवश्यक र उपयुक्त देखिन्छ ।
अतः उल्लिखित कुराहरूमा ध्यान दिन सकियो भने रोजगारदाताले आफ्नो वास्तविक आवश्यकतानुकूलको उम्मेदवार पहिचान गरी छनौट गर्न सहज हुने देखिन्छ ।