
आर्थिक वर्ष २०८२/८३ को पहिलो नौ महिनामा नेपालको वैदेशिक व्यापार मिश्रित अवस्थामा देखिएको छ। समीक्षा अवधिमा कुल वस्तु निर्यात १८.५ प्रतिशतले वृद्धि भई २२२ अर्ब ९४ करोड रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा निर्यात ६५.२ प्रतिशतले बढेको थियो।
गन्तव्यका आधारमा भारततर्फको निर्यात २२.६ प्रतिशत तथा अन्य मुलुकतर्फ ५.१ प्रतिशतले वृद्धि भएको छ। तर चीनतर्फको निर्यात भने ४६.८ प्रतिशतले घटेको छ।
वस्तुगत रूपमा भटमासको तेल, अलैँची, पाम तेल, जुटजन्य सामग्री तथा चाउचाउको निर्यात बढेको छ। यता जिङ्क सिट, पार्टिकल बोर्ड, चिया, ऊनी गलैँचा तथा हस्तकलाका सामग्रीको निर्यातमा गिरावट आएको छ।
त्यसै गरी, समीक्षा अवधिमा कुल वस्तु आयात १३.८ प्रतिशतले बढेर १४ खर्ब ९० अर्ब ५० करोड रुपैयाँ पुगेको छ। भारतबाट हुने आयात ७.८ प्रतिशत, चीनबाट २१.३ प्रतिशत तथा अन्य मुलुकबाट २४.२ प्रतिशतले वृद्धि भएको छ।
आयाततर्फ रासायनिक मल, भटमासको कच्चा तेल, चाँदी, यातायातका उपकरण, सवारी साधन तथा पेट्रोलियम पदार्थको आयात बढेको छ भने खाने तेल, लसुन र दाललगायत वस्तुको आयात घटेको देखिएको छ।
निर्यातको तुलनामा आयात उच्च हुँदा कुल व्यापार घाटा १३ प्रतिशतले बढेर १२ खर्ब ६७ अर्ब ५६ करोड रुपैयाँ पुगेको छ। यस अवधिमा निर्यात–आयात अनुपात १५ प्रतिशत कायम भएको छ।
यस्तै, समीक्षा अवधिमा खुद सेवा आय ६७ अर्ब ५४ करोड रुपैयाँ घाटामा रहेको छ। भ्रमण आय ३.८ प्रतिशतले घटेर ६४ अर्ब १० करोड रुपैयाँमा सीमित भएको छ भने भ्रमण व्यय २.६ प्रतिशतले घटेर १ खर्ब ६५ अर्ब ३६ करोड रुपैयाँ कायम भएको छ।
नौ महिनामा निर्यात १८.५ प्रतिशतले बढ्दा व्यापार घाटा १२ खर्ब ६७ अर्ब रुपैयाँले नाघ्यो
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
