नेपालमा १० महिनामै ४५ अर्बभन्दा बढी एफडीआई प्रतिबद्धता, कृषि क्षेत्रमा सर्वाधिक आकर्षण

चालु आर्थिक वर्षको पहिलो १० महिनामा नेपालमा प्रत्यक्ष वैदेशिक लगानी (एफडीआई) प्रतिबद्धता उल्लेखनीय रूपमा बढेको छ। उद्योग विभागका अनुसार साउनदेखि वैशाखसम्म ७ सय २८ वटा परियोजना मार्फत ४५ अर्ब ३२ करोड १६ लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको हो।

यस अघि चैत मसान्तसम्म ६ सय १५ परियोजनाबाट ४१ अर्ब ७९ करोड ८५ लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो। वैशाख महिनामा मात्रै थप १ सय १३ परियोजना दर्ता हुँदा ३ अर्ब ५२ करोड ३० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता थपिएको विभागले जनाएको छ।

क्षेत्रगत विवरणअनुसार कृषि क्षेत्रमा सबैभन्दा ठुलो विदेशी लगानी प्रतिबद्धता आएको छ। १६ वटा कृषिमूलक परियोजनामा २२ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको लगानी प्रस्ताव गरिएको छ।

पर्यटन क्षेत्र पनि विदेशी लगानीकर्ताको प्राथमिकतामा परेको देखिएको छ। १ सय ८९ पर्यटन सम्बन्धी परियोजनामा १२ अर्ब ५४ करोड ७० लाख रुपैयाँ लगानी प्रतिबद्धता आएको छ। यस्तै, सेवामूलक क्षेत्रका ५५ परियोजनामा ४ अर्ब २३ करोड २४ लाख रुपैयाँ लगानी आउने प्रतिबद्धता प्राप्त भएको छ।

उत्पादन मूलक उद्योगतर्फ ४२ परियोजनामा २ अर्ब ७० करोड रुपैयाँ लगानी प्रस्ताव गरिएको छ भने पूर्वाधार क्षेत्रको एक परियोजनामा १ अर्ब ६५ करोड रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको विभागले उल्लेख गरेको छ।

सूचना प्रविधि क्षेत्रमा भने सबैभन्दा धेरै ४ सय २१ परियोजना दर्ता भएका छन्। यी परियोजनामार्फत १ अर्ब ७४ करोड ३८ लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको छ।

ऊर्जा क्षेत्रका दुई परियोजनामा २३ करोड ४२ लाख रुपैयाँ लगानी प्रस्ताव गरिएको छ भने खनिज मूलक क्षेत्रका दुई परियोजनामा सबैभन्दा कम ११ करोड ५० लाख रुपैयाँ बराबरको लगानी प्रतिबद्धता आएको तथ्याङ्कमा उल्लेख छ।

उद्योग विभागका अनुसार पछिल्ला वर्षहरूमा नेपालमा कृषि, पर्यटन र सूचना प्रविधि क्षेत्र विदेशी लगानीकर्ताका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x