ज्ञानमाण्डू। फोटो जर्नलिस्ट क्लब, नेपालले विगत ७ वर्षदेखि बर्सेनि आयोजना गर्दै आएको फोटो प्रतियोगिताको ७ औं संस्करण नेपाल फोटो प्रतियोगिता २०७६ को घोषणा गरेको छ । क्लबले पुस २० गते आइतबार कमलादीस्थित होटल रोयल सिंघीमा एक कार्यक्रमको आयोजना गरी Nepal Photo Contest 2076 को घोषणा गरेको हो ।
– प्रतियोगितापछि काठमाडौं र मोफसलका ५ स्थानमा प्रदर्शनी हुने
– फोटो अफ दि इयरलाई १ लाख रुपैयाँ पुरस्कार दिइने
– सात विधामा भाग लिन पाइने
– व्यवसायिक र सौखिन फोटोग्राफर तथा फोटोपत्रकारले भाग लिन पाउने
– फोटो दर्ता पुस २० देखि माघ १७ २०७६ राति ११ बजेर ५९ मिनेटसम्म गर्न सकिने
ग्लोबल आइएमई बैंक नेपाल तथा आइएमई ग्रुपका अध्यक्ष श्री चन्द्रप्रसाद ढकालले नेपाल फोटो प्रतियोगिता २०७६ सुुरु भएको घोषणा गरेका थिए । उनले आफूले खिचेको फोटोलाई फोटो प्रतियोगितामा समावेशका लागि अनलाइन इन्ट्री गरी प्रतियोगिताको शुरुवात गरेका थिए ।

विभिन्न सात विधामा प्रतिस्पर्धा गराइने प्रतियोगितामा भाग लिन चाहने प्रतियोगीले आईतबारबाटै फोटो दर्ता गराउन सक्नेछन् । क्लबको आधिकारिक वेभसाइट www.pjclub.com.np वा www.photonepal.trevel मा गएर दिइएको निर्देशनअनुसार फोटो दर्ता गर्न सकिने क्लबले जनाएको छ । प्रतियोगितामा व्यावसायिक र सौखिन सबैखाले फोटोग्राफर तथा फोटो पत्रकार सहभागी हुन पाउनेछन् । प्रतियोगितामा विदेशी नागरिक तथा विदेशमा खिचिएको फोटोले भने सहभागिता जनाउन पाउने छैनन् । तर, खेलकुद विधाको हकमा भने नेपाल बाहिर खिचिएको तस्बिर भने समावेश गराउन पाइने छ । उक्त फोटोमा नेपाली वा नेपाल झल्कने विषय भने कतै न कतै देखिएको हुनु पर्ने छ । आईतबारबाटै सुरु हुने दर्ता प्रक्रिया माघ १७ २०७६ मध्यरातमा १२ बजे बन्द हुनेछ ।

कार्यक्रममा सबै अतिथिलाई फोटो पत्रकार क्लब नेपालकी महासचिव श्री श्रुती श्रेष्ठले स्वागत गरेकी थिइन् । फोटो प्रतियोगिताको घोषणासँगै गत वर्षको फोटो प्रतियोगितामा समावेश फोटोहरूको संग्रह पुस्तक nepal land of contrast-v पनि लोकार्पण गरिएको थियो ।
कार्यक्रमका अतिथि ग्लोबल आइएमई बैंक तथा आइएमई ग्रुपका अध्यक्ष श्री चन्द्रप्रसाद ढकाल, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका उपकुलपति श्री गोपाल चित्रकार, नेपाल पर्यटन बोर्डका निमित्त निर्देशक श्री विमल कँडेल, शिखर इन्स्योरेन्स प्रालिका वरिष्ठ प्रवन्धक श्री सुरज राजवाहक, अर्घाखाँची सिमेन्ट प्रालिका कामु महाप्रवन्धक श्री रमेश थापा, मनराम ग्रुपका संरक्षक श्रीमती मनमाया श्रेष्ठ र फोटो जर्नलिस्ट क्लब नेपालका अध्यक्ष श्री विकास कार्कीले nepal land of contrast-v फोटो पुस्तकको लोकार्पण गरेका थिए ।




अर्घाखाँची सिमेन्ट प्रालिका कामु महाप्रवन्धक श्री रमेश थापाले केही वर्षयता कम्पनीले क्लबलाई प्रतियोगिता आयोजना र प्रवद्र्धनमा सघाउँदै आएको र क्लबका यस्ता अन्य कार्यक्रममा सहकार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रमका विशेष अतिथि ग्लोबल आइएमई बैंक नेपाल तथा आइएमई ग्रुपका अध्यक्ष श्री चन्द्रप्रसाद ढकालले स्थापना भएको सानो अवधिमा नै क्लबले लिएको उचाइ तथा उपलब्धिको प्रशंसा गर्दै क्लबले गरेका कामहरू उदाहरणीय रहेको बताए । उनले एउटा फोटोले हजारौं शब्दमा गरिने बयानभन्दा पनि राम्ररी भाव व्यक्त गर्ने भएकाले यो शाब्दिक व्याख्याभन्दा हजारौं गुणा प्रभावशाली हुने बताए । उनले विगत ५ वर्षदेखि ग्लोबल आइएमईले क्लबसँग सहकार्य गरिरहेको र आगामी दिनमा समेत क्लबसँग सहकार्य जारी राख्ने जानकारी दिँदै यसबाट सरकारको भिजिट नेपाल २०२० अभियानमासमेत सघाउ पुग्ने अपेक्षा रहेको भन्दै प्रतियोगिताको सफलताका लागि शुभकामना व्यक्त गरे ।