सेबोनद्वारा आईपीओ पाइपलाइनलाई ६ चरणमा वर्गीकरण: ११७ कम्पनीका ७१ अर्ब बढीको आवेदन प्रक्रियामा


नेपाल धितोपत्र बोर्ड (सेबोन) ले प्राथमिक साधारण शेयर (आईपीओ) निष्काशनका लागि प्राप्त भएका आवेदनहरूलाई पहिलोपटक प्रक्रियागत अवस्थाका आधारमा ६ वटा फरक चरणमा वर्गीकरण गरेको छ। बोर्डद्वारा सार्वजनिक गरिएको हालैको अद्यावधिक विवरणअनुसार विभिन्न १ सय १७ वटा कम्पनीहरूकाे कुल ७१ अर्ब ४२ करोड रुपैयाँभन्दा बढी रकम बराबरकाे आईपीओ पाइपलाइनमा रहेकाे छ।

बोर्डले कम्पनीहरूको फाइललाई प्रारम्भिक दर्तादेखि लिएर प्रारम्भिक समीक्षा, कैफियत पठाउने, जवाफ प्राप्त हुने, जवाफको समीक्षा हुँदै अन्तिम समीक्षासम्मका चरणहरूमा बाँडेको छ। सेबोनको यो व्यवस्थापनले निष्काशन प्रक्रियालाई थप व्यवस्थित र पारदर्शी बनाउने अपेक्षा गरिएको छ।

अन्तिम र पाँचौँ चरणमा कुन-कुन कम्पनी?

सेबोनको विवरणअनुसार आईपीओ प्रक्रियाको छैटौँ तथा अन्तिम समीक्षा चरणमा हाल दुईवटा कम्पनीहरू पुगेका छन्। आशुतोष इनर्जी लिमिटेड र कान्तिपुर फर्मास्युटिकल्स ल्याब लिमिटेडले कुल २९ लाख कित्ता सेयर निष्काशनका लागि यो चरणमा पार गरिरहेका छन्। आशुतोष इनर्जीले १२ लाख र कान्तिपुरले १७ लाख कित्ता सेयरको माग गरेका छन्। अन्तिम समीक्षा चरणमा पुग्नु मात्रै आईपीओको औपचारिक स्वीकृति पाउनु भने होइन। बोर्डले सम्पूर्ण कागजात, वित्तीय प्रतिवेदन र कानुनी मापदण्डहरूको गहन परीक्षण गरेपछि मात्रै स्वीकृतिसम्बन्धी अन्तिम निर्णय लिनेछ।

त्यस्तै, अन्तिम चरणभन्दा ठीक अघिल्लो अर्थात् पाँचौँ चरणमा १० वटा कम्पनीहरू रहेका छन्। यस चरणमा एनसी एग्रोटेक इन्डष्ट्रिज, सानिमा हाइड्रोपावर, आईएमई लिमिटेड र सिउरी न्यादी पावरलगायतका कम्पनीहरूका परिमार्जित कागजात तथा जवाफहरूको समीक्षा भइरहेको छ। यी कम्पनीहरूले कुल ५ करोड १९ लाखभन्दा बढी कित्ता सेयरका लागि आवेदन दिएका छन्।

अन्य चरणहरूको अवस्था र अन्य कम्पनीहरू

पाइपलाइनमा रहेका कुल १ सय १७ कम्पनीमध्ये अधिकांश कम्पनीहरू प्रारम्भिक चरणहरूमा नै रहेका छन्। प्राप्त विवरण अनुसार चौथो चरणमा बोर्डले पठाएको कैफियतको जवाफ बुझाएर समीक्षा प्रतीक्षामा रहेका १९ वटा कम्पनीहरू छन्। जसमा डिश मिडिया नेटवर्क, जगदम्बा स्टिल्स, सौर्य सिमेन्ट र ह्यास हस्पिटल रहेका छन्। तेस्रो चरणमा कैफियत पत्र प्राप्त गरेका ४ वटा महाशक्ति सिमेन्ट, शुभश्री अग्नि सिमेन्ट, ज्यास्मिन पेन्ट्स र लक्ष्मी टेक्नोप्लास्ट कम्पनीहरू छन्।

यसैगरी, प्रारम्भिक चरणमा सबैभन्दा धेरै ७६ वटा कम्पनीहरू रहेका छन् जहाँ मारुती सिमेन्ट र अम्बे स्टिल्सजस्ता ठूला संस्थाहरू छन् भने दोस्रो चरणमा ६ वटा कम्पनीहरूको प्रारम्भिक समीक्षा भइरहेको छ। यसरी पहिलो र मात्रै सुरुवाती चरणहरूमा ८२ वटा कम्पनीहरू समेटिएका छन्। सेबोनले कम्पनीहरूको नेटवर्थ र जलविद्युत्को हकमा व्यावसायिक उत्पादन सुरु भएको मिति (सीओडी) लगायतका नियामकीय मापदण्ड पूर्ण रूपमा पालना भएपछि मात्रै सेयर निष्काशनको अनुमति दिने स्पष्ट पारेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x