दुई महिनामा सरकारको राजस्व सङ्कलन १ खर्ब ८३ अर्ब, खर्च भने १ खर्ब ९९ अर्ब


चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना साउन र भदौमा सरकारले १ खर्ब ८३ अर्ब २१ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ। महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्क अनुसार भदौ मसान्तसम्म सङ्कलित राजस्व वार्षिक लक्ष्यको ११.५९ प्रतिशत हो।

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा चालु वर्ष राजस्व सङ्कलनमा सुधार देखिएको छ। गत वर्ष भदौ मसान्तसम्म सरकारले १ खर्ब ५७ अर्ब ५३ करोड रुपैयाँ राजस्व उठाएको थियो। यस वर्ष सोही अवधिमा २५ अर्ब ६७ करोड रुपैयाँ बढी राजस्व सङ्कलन भएको हो। सरकारले चालु आर्थिक वर्षमा कुल १५ खर्ब ८० अर्ब ३१ करोड रुपैयाँ राजस्व उठाउने लक्ष्य राखेको छ।

कर राजस्व १ खर्ब ७२ अर्ब

भदौ मसान्तसम्म सङ्कलित कुल राजस्वमा कर राजस्वको हिस्सा सबैभन्दा ठुलो रहेको छ। यस अवधिमा १ खर्ब ७२ अर्ब ४२ करोड ९७ लाख रुपैयाँ कर राजस्व सङ्कलन भएको छ, जुन वार्षिक लक्ष्यको १२.२९ प्रतिशत हो।

यस्तै, गैर कर राजस्वतर्फ १० अर्ब ७७ करोड ६९ लाख रुपैयाँ सङ्कलन भएको छ। यो वार्षिक लक्ष्यको ६.०९ प्रतिशत हो।

राजस्वबाहेक सरकारले भदौ मसान्तसम्म ५ अर्ब ५३ करोड रुपैयाँ अनुदान र १ अर्ब ३७ करोड रुपैयाँ अन्य प्राप्तिबाट जुटाएको छ। यससँगै दुई महिनामा सरकारको कुल प्राप्ति १ खर्ब ९० अर्ब १० करोड रुपैयाँ पुगेको छ, जुन वार्षिक लक्ष्यको ११.५८ प्रतिशत हो।

दुई महिनामा १ खर्ब ९९ अर्ब खर्च

राजस्व सङ्कलनमा सुधार देखिए पनि सरकारी खर्चको गति भने अपेक्षाकृत सुस्त रहेको छ। महालेखा नियन्त्रक कार्यालयका अनुसार भदौ मसान्तसम्म सरकारको कुल बजेट खर्च १ खर्ब ९९ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। यो कुल विनियोजित बजेट २१ खर्ब २४ अर्ब ३४ करोड रुपैयाँको ९.४१ प्रतिशत हो।

यस अवधिमा पुँजीगत खर्चतर्फ ७ अर्ब ६६ करोड ४८ लाख रुपैयाँ मात्र खर्च भएको छ। यो वार्षिक विनियोजनको १.७८ प्रतिशत हो।

चालु खर्चतर्फ १ खर्ब २२ अर्ब ३ करोड ५४ लाख रुपैयाँ खर्च भएको छ, जुन वार्षिक विनियोजनको ९.६ प्रतिशत हो। त्यस्तै, वित्तीय व्यवस्थातर्फ ऋणको साँवा तथा ब्याज भुक्तानीमा ७० अर्ब १३ करोड ७० लाख रुपैयाँ खर्च भएको छ। यो वार्षिक लक्ष्यको १६.५९ प्रतिशत हो।

पहिलो दुई महिनाको तथ्याङ्क अनुसार सरकारको कुल प्राप्ति १ खर्ब ९० अर्ब १० करोड रुपैयाँ हुँदा कुल खर्च १ खर्ब ९९ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ। यसरी हेर्दा दुई महिनामै सरकारको खर्च आम्दानीभन्दा करिब ९ अर्ब ७३ करोड रुपैयाँ बढी देखिएको छ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x