कोरला नाकाबाट १५ दिनमै १ अर्ब ७८ करोड राजस्व सङ्कलन

रसुवागढी–केरुङ र तातोपानी नाका बन्द भएपछि मुस्ताङको उत्तरी कोरला नाकाबाट चिनियाँ माल वस्तुको आयात बढेको छ। यही क्रममा लोमान्थाङ–४ न्हेचुङस्थित मुस्ताङ भन्सार कार्यालयले १५ दिनमा १ अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको छ।

भन्सार प्रमुख विदुर चुडालका अनुसार रसुवागढी–केरुङ नाका पूर्ण रूपमा बन्द भएपछि कोरला नाकाबाट माल वस्तु भित्रिने क्रम तीव्र बनेको हो। भदौ २२ गतेपछि नाकाबाट दैनिक औसत ३० करोड रुपैयाँ हाराहारी राजस्व सङ्कलन भइरहेको उहाँले जानकारी दिनुभयो।

शुक्रवार मात्रै ७१ वटा कन्टेनर र १०६ वटा विद्युतीय सवारीसाधनको भन्सार जाँच पास भएको थियो। रसुवागढी नाका बन्द भएको भदौ १० गतेदेखि भदौ २५ गतेसम्म कोरला नाकाबाट आएका ४३४ कन्टेनर र ६४१ विद्युतीय सवारीसाधनको जाँच पास गरिएको भन्सार कार्यालयले जनाएको छ।

चालु आर्थिक वर्ष २०८३/८४ को साउनदेखि भदौ २५ गतेसम्म कोरला नाकाबाट आयात भएका माल वस्तु, कन्टेनर तथा विद्युतीय सवारीसाधनको जाँच पासबाट कुल २ अर्ब ३१ करोड ४४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ। भदौ ९ गतेसम्म भने १३३ कन्टेनर र १६३ विद्युतीय सवारीसाधन मात्रै नेपाल भित्रिएका थिए।

यस अघि कोरला नाका उपल्लो मुस्ताङका स्थानीयवासीका लागि मात्रै बाह्रै महिना खुला रहने गरेको थियो। तातोपानी र रसुवागढी नाका बाढी पहिरो तथा नदी कटानका कारण अवरुद्ध भएपछि सरकारले गत वर्ष भदौ ३१ गतेदेखि कोरला नाकालाई वैकल्पिक व्यापारिक नाकाका रूपमा प्रयोग गर्न खुला गरेको थियो।

मुस्ताङ भन्सार कार्यालयका अनुसार आर्थिक वर्ष २०८२/८३ मा कोरला नाकाबाट भएको निकासी तथा पैठारीबाट ६ अर्ब ९२ करोड रुपैयाँ राजस्व सङ्कलन भएको थियो। सो अवधिमा १४ अर्ब ४१ करोड रुपैयाँ बराबरका वस्तु आयात र २० करोड ५० लाख रुपैयाँ बराबरका वस्तु निर्यात भएका थिए।

गत आर्थिक वर्षमा कोरला नाकाबाट ३ हजार २२३ वटा विद्युतीय सवारीसाधन र १ हजार ८७३ वटा कन्टेनरको भन्सार जाँच पास भएको थियो।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x