रिटर्नी उद्यमीको सीप र पुँजी नेपालको आर्थिक रूपान्तरणको आधार : निवर्तमान अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले कोरियाबाट फर्किएका रिटर्नी उद्यमीहरूको सीप र पुँजीलाई नेपालको आर्थिक रूपान्तरणको मुख्य आधार बनाउनुपर्ने बताउनुभएको छ।

नेपाल–कोरिया उद्यमी व्यवसायी सङ्घले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उहाँले नेपाल र गणतन्त्र कोरियाबिचको सम्बन्ध कूटनीतिक र सांस्कृतिकसँगै आर्थिक र व्यावसायिक साझेदारीको जीवन्त उदाहरण भएको बताउनुभयो। हजारौँ नेपाली युवाले कोरियामा काम गरी हासिल गरेको सीप, अनुभव र पुँजी नेपालको उद्यमशीलता विकासका लागि बहुमूल्य सम्पत्ति रहेको उहाँले औँल्याउनुभयो।

कोरियाले साठी वर्षअघि गरिबीबाट औद्योगिक शक्तिमा फड्को मार्दा अपनाएको अनुशासित कार्य संस्कृति, गुणस्तरमा जोड, प्रविधिको विकास, निर्यातमुखी उत्पादन र सरकार–निजी क्षेत्र बिचको समन्वय जस्ता पाठ नेपालमा पनि लागू हुन सक्ने उहाँले बताउनुभयो। रिटर्नी उद्यमीहरूले सिकेको अनुशासन र उत्पादकत्वमा आधारित कार्य संस्कृति स्वदेशी उद्योगमा लागू गर्न सकेमा नेपालको औद्योगिक चरित्र नै परिवर्तन हुन सक्ने उहाँको भनाइ थियो।

जलविद्युत, कृषि प्रशोधन, पर्यटन, सूचना प्रविधि लगायत साना–मझौला उत्पादनमूलक क्षेत्रमा नेपालमा प्रशस्त लगानी सम्भावना रहेको बताउँदै निवर्तमान अध्यक्ष ढकालले भारत–चीनसँगको भौगोलिक निकटता र सुध्रिँदै गएको लगानी वातावरणले नेपाललाई क्षेत्रीय उत्पादन आधारका रूपमा स्थापित हुने अवसर दिएको बताउनुभयो। लगानीमैत्री नीति र एक द्वार सेवाका लागि सरकारसँग निरन्तर संवाद गरिरहेको र यो अभियान थप तीव्र पारिनुपर्ने आवश्यकता उहाँले औँल्याउनुभयो।

देशभर छरिएर रहेको साना पुँजीलाई एकीकृत गरी ठुला आयोजनामा लगानी गर्न १० अर्ब रुपैयाँ पुँजीको नेपाल डेभलपमेन्ट कम्पनी लिमिटेड स्थापना गरिएको जानकारी दिँदै उहाँले नयाँ व्यवसाय सुरु गर्न चाहने रिटर्नीहरूका लागि उक्त कम्पनीले लगानी साझेदार बन्ने र सानो पुँजी भएकाहरूका लागि नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेडमार्फत पनि लगानी गर्न सकिने बताउनुभयो।

रिटर्नी उद्यमी–व्यवसायीसँग रहेको प्राविधिक सीप, कार्य संस्कृति र आर्थिक अनुशासन नेपालको उद्योग क्षेत्रलाई सबैभन्दा बढी आवश्यक रहेको बताउँदै स्वदेशमा उद्यम स्थापनाका क्रममा देखिने कानुनी तथा प्रक्रियागत अवरोध सरकार, निजी क्षेत्र र सरोकारवालाबिचको नियमित संवादबाट हटाउन सकिने उहाँले बताउनुभयो।

अन्त्यमा उहाँले रिटर्नी उद्यमीहरूको लगानी र सीपले स्वदेशमा उत्पादन, रोजगारी र समृद्धिको नयाँ अध्याय लेख्ने कामना गर्दै एफएनसीसीआई र आइएमई ग्रुपका तर्फबाट सधैँ साथ रहने प्रतिबद्धता जनाउनुभयो।

कार्यक्रममा नेपालका लागि कोरियाका राजदूत, दूतावासका कर्मचारीहरू, नेपाल सरकारका प्रतिनिधि, रिटर्नी माइग्रेन्टलगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x