महिलालाई उद्यमी बनाइने

ज्ञानमाण्डू।दक्षिण ललितपुर ग्रामीण विद्युत् सहकारी संस्था लिमिटेडले दक्षिण ललितपुर र गोदावरीका केही महिलालाई उद्यमी बनाउने भएको छ । सो संस्थाले ग्रामीण प्रविधि केन्द्र र सामुदायिक विद्युत् उपभोक्ता राष्ट्रिय महासङ्घसँगको साझेदारीमा यहाँका ६४ महिलालाई नमुना महिला उद्यमीका रूपमा अघि बढाउने योजना बनाएको हो । 

विसं २०५७ मा स्थापना भएको यस संस्थाले दक्षिण ललितपुरका १८ वडा र गोदावरी–७ देवचौर गरी १९ वटा वडामा विद्युत् सुविधाको पहुँच विस्तार, नवीकरणीय ऊर्जाको विकास तथा प्रवर्द्धन, सामाजिक परिचालन र उद्यमशीलता विकासको काम गर्दै आएको संस्थाका अध्यक्ष गोविन्दप्रसाद बजगाईंले जानकारी दिए । 

"केही वर्ष अघिसम्म दक्षिण ललितपुरलाई विकट परिभाषित गरेर चिन्ने गरिन्थ्यो, लगनखेल बसपार्कबाट दक्षिण ललितपुरको अन्तिम विन्दु हेलटार पुग्न ९० किलोमिटरको दुरी पार गरेर जानुपर्छ, यहाँ रहेका मूल्य वान प्राकृतिक स्रोत साधनको व्यवस्थापन र महिलालाई स्वयं आत्मनिर्भर बनाउन निकै आवश्यक रहेको हुँदा यस संस्थाले हरेक वर्ष उद्यमशीलताको तालीम दिँदै आएको हो ।” -उनको भनाइ रह्यो। 

भ्रमण वर्ष २०२० चलिरहेका अवसरमा पर्यटकलाई दक्षिण ललितपुर भित्र्याउन भोजनालय र घरवासको व्यवस्थापन, माहुरी पालन तालीम, सिस्नो पाउडर निर्माण, नेपाली कागज बनाउने, कुखुरा पालन, धसिङ्ग्रे तेल उत्पादनको तालीम दिइने योजना अघि बढाइएको बजगाईंले बताए । यसअघि संस्थाले महाङ्कालका १७, कोञ्ज्योसोका २०, बाग्मतीका २४ र देवीचौरका तीन गरी ६४ महिलालाई उद्यमशीलता तथा व्यवसाय व्यवस्थापनको तालीम दिइसकेको छ । 

सो तालीममा आबद्ध भएका महिलाले हाल केही न केही पेसा र व्यवसाय गरी आफ्नो दिनचर्या अघि बढाइरहेका छन् । उनले भने , “हामीले अन्य आठ जिल्लाका १५ संस्थामा आबद्ध ५०० महिलालाई पनि नमुना महिला उद्यमीका रूपमा विकास गर्ने योजना अघि बढाएका छौँ ।” यसै गरी संस्थाले महिला उद्यमशीलता तथा उद्यम विकास प्रवर्द्धनमा जोड दिन ऊर्जा बचत, ऊर्जामा आधारित व्यवसाय सञ्चालनमा जोड दिनुका साथै महिलाको दिनचर्यामा सुधार गराउन विद्युतीय चुलो प्रवर्द्धन कार्यलाई अघि बढाउने भएको छ । संस्थाले भखरै सार्वजनिक गरेको १८औँ वार्षिक प्रतिवेदन अनुसार हाल संस्थामा छ हजार १३४ ग्राहक सङ्ख्या रहेको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x