लोकआस्थाको महापर्व छठअन्तर्गत आज साँझ देशभर श्रद्धा र भक्तिपूर्वक अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी पहिलो अर्घ्य दिइएको छ। कात्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिन मनाइने यस पर्वको मुख्य दिन आज व्रतालुहरूले कठोर निराहार (पानीसमेत नपिई) व्रत बसेर जलाशय तथा नदी किनारमा सूर्यदेवको आराधना गरेका छन्।
शुक्रवार ‘नहाय–खाय’ विधिबाट सुरु भएको यस पर्वको दोस्रो दिन शनिबार ‘खरना’ विधि सम्पन्न गरिएको थियो। खरनासँगै सुरु भएको ३६ घण्टा भन्दा लामो निराहार व्रतको पालना गर्दै आज साँझ व्रतालुहरू नदी, पोखरी तथा विभिन्न जलाशयका किनारमा पुगी कम्मरसमम्मको पानीमा उभिई अस्ताउँदो सूर्यलाई अर्घ अर्पण गरेका छन्। मिथिलाञ्चलमा यस विधिलाई ‘सझिया अर्ख’ वा ‘सझियाघाट’ भनिने गरिन्छ।
राजधानी काठमाडौंको गुह्येश्वरी, गौरीघाट, कमलपोखरी, गहनापोखरीजस्ता जलाशयहरूसँगै तराई–मधेशका विभिन्न नदी किनार तथा पोखरीहरूमा श्रद्धालुहरूको भारी भिड लागेको छ। बाँसकाे ५०, डाली, ठेकुवा, फलफूल र विभिन्न पूजासामग्रीसहित सूर्यदेव र छठी माताको उपासना गरिएको छ। अस्ताउँदो सूर्यलाई अर्घ दिएपछि रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ दिएसँगै चार दिन लामो यो महापर्व विधिवत् रूपमा सम्पन्न हुनेछ।
प्रकृतिप्रतिको अगाध श्रद्धा, सामाजिक सद्भाव र पारिवारिक कल्याणको कामनासहित मनाइने यस पर्वका अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ।
