
बैङ्किङ प्रणालीमा रहेको अधिक तरलता व्यवस्थापन गर्न नेपाल राष्ट्र बैङ्कले आज बैङ्क तथा वित्तीय संस्थाबाट २० अर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्ने भएको छ।
केन्द्रीय बैङ्कले सार्वजनिक गरेको सूचनाअनुसार २८ दिनका लागि उक्त रकम सङ्कलन गर्न लागिएको हो। यसका लागि मङ्सिर ४ गते दिउँसो २ बजे अनलाइन बिडिङ प्रणालीमार्फत बोलकबोल प्रक्रिया सञ्चालन हुनेछ।
निक्षेप सङ्कलनको ब्याजदर बोलकबोल प्रक्रियाबाट निर्धारण गरिने राष्ट्र बैङ्कले जनाएको छ। यसमा सहभागी हुन न्यूनतम १० करोड रुपैयाँ निक्षेप प्रस्ताव गर्नुपर्नेछ। अधिकतम सीमा भने कुल आह्वान रकमसम्म रहनेछ। बोलकबोल रकम १० करोड रुपैयाँको गुणकमा हुनुपर्ने व्यवस्था छ। साथै, तोकिएको कुल सीमाभित्र रहेर संस्थाहरूले एकभन्दा बढी बोलकबोल पेस गर्न सक्नेछन्।
यस प्रक्रियामा राष्ट्र बैङ्कबाट इजाजत पत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउनेछन्।
राष्ट्र बैङ्कका अनुसार सङ्कलित निक्षेपको साँवा तथा ब्याज आगामी पुस ३ गते भुक्तानी गरिनेछ।
