भाद्रमा विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ६.३ प्रतिशत र अमेरिकी डलरमा ५.८ प्रतिशतले घट्यो

ज्ञानमाण्डू। चालु आर्थिक वर्षको भाद्र महिनामा विप्रेषण आप्रवाह ‘रेमिट्यान्स’मा ६ प्रतिशत अधिकले कमी आएको छ ।केन्द्रिय बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार वैदेशिक रोजगारीका लागि गएका नेपालीहरुले पठाउने विप्रेषण आप्रवाह चालु आर्थिक वर्षको दोस्रो महिनामा ६.३ प्रतिशतले घटेर जम्मा १५५ अर्ब ३७ करोड रुपैयाँमा सिमित भएको छ । यस आर्थिक वर्षको भदौ महिनामा मात्र करिब ८० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको तथ्यांकले देखाएको छ ।

नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको श्रावण महिनामा ७५ अर्ब ९६ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । चालु आ.व.को दोस्रो महिना अर्थात भदौमा रेमिट्यान्स आप्रवाह करिब ८० अर्बले थप भई १५५ अर्ब ३७ करोड रुपैयाँ पुगेता पनि चालु आर्थिक वर्षको भदौमा भित्रिएको रेमिट्यान्स गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ६.३ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ८.१ प्रतिशतले वृद्धि भई १६५ अर्ब ७३ करोड रुपैयाँ पुगेको थियो । 

चालु आर्थिक वर्षको भाद्रसम्म आइपुग्दा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ५.८ प्रतिशतले कमी आई १ अर्ब ३१ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आर्थिक वर्षको  सोही अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.६ प्रतिशतले बढेको थियो ।

समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या उल्लेख्य रुपमा वृद्धि भई ३८,४९२ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ९९.२ प्रतिशतले घटेको थियो । त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा अवधिमा उल्लेख्य रुपमा वृद्धि भई २२,९७६ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो संख्या ८६.५ प्रतिशतले घटेको थियो ।

समीक्षा अवधिमा खुद ट्रान्सफर ६.४ प्रतिशतले कमी आई रु.१७१ अर्ब ९२ करोड कायम भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ४.४ प्रतिशतले बढेको थियो 

स्रोत: नेपाल राष्ट्र बैंक 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x