दर्शन गर्न हावामा सयर गर्नै पर्ने खड्गदेवी माई

सुन्दा पनि अचम्म लाग्छ करिब ६०० वर्ष भन्दा पुरानो  बन्दीपुरमा रहेको खड्गमाई  मन्दिरको दर्शन विधि रोमाञ्चक छ।  तर यो पौराणिक कालदेखि यही मान्यताका साथ  खड्गमाई दर्शन गरिने गर्दछ। वरदान स्वरूप भगवान् शिवले दिएको  तरबारले  विशेष अवस्थामा नागको  स्वरूप ग्रहण गरेको र पुन नाग बाट तरबारको स्वरूपमा फर्की  तरबार रहेको ठाउँ बाट हावामा उडेर आएर जमिनमा घिस्रिँदै केही पर पुगी हाल रहेको ठाउँमा देवी प्रकट भएको भन्ने बलियो किम्बदन्ती यस मन्दिरको रहेको छ। 

बन्दीपुरको खड्गदेवी माईको रोचक उत्पत्ति र मन्दिर स्थापनाको पौराणिक कथन पनि अचम्म लाग्दो छ ।  हालको भारतका चितौर र सिसौदियाका राजपूतहरूको सन्तान भनी चिनिएका सेन वंशी राजाहरूले आफ्नो समयमा राजनीति र कूटनीतिमा उत्कृष्ट दखल राखी पराक्रमी छाप छोडेका तिनै अजिलसेनका सन्तान तुलासेनले तत्कालीन मकवानपुर राज्य स्थापना गरे । उनका सन्तान मध्ये मणि मुकुन्द सेनले पाल्पा राज्य माथि लडाइँ गरी आफ्नो हातमा सत्ता लिएर राजगद्दी सम्हालेका थिए। त्यस पछि उनले राज्य विस्तारको कार्य धेरै गरे ।

१५ औँ शताब्दीको अवधिमा पाल्पाका राजा मणि मुकुन्द सेनले थुप्रै राज्यहरूमा विजय प्राप्त गरिसकेका थिए।  आफ्ना छोराहरू र भाइहरूको पनि ती राज्यहरूमा शासनको इच्छा पलाउन थालेकोले विवाद मिलाउन उनले सबै राज्यलाई विशेष अधिकार सहित छुट्टाएर उनीहरूको इच्छाअनुरूप शासनको व्यवस्था मिलाई सबैलाई शासनको जिम्मेवारी दिए र आफू भने सत्ताबाट अवकाश लिएर भक्तजन बस्ने निश्चय गरे । शान्ति खोज्दै जाने क्रममा राजा मणि मुकुन्द सेन हालको तनहुँ स्थित सुन्दर क्षेत्र बन्दीपुरको पश्चिमपट्टिको अग्लो पहाडमा दरबार एवं आश्रम बनाई जोगीको भेषमा भक्तिपूर्वक भगवान्‌को आराधनाका साथ आनन्दमय जीवन बिताउन थालेछन् । त्यस बेला तनहुँमा पनि उनकै परिवार सेन राजाहरूकै  शासन चलिरहेको थियो । सन्यासी जीवनमा भए पनि धार्मिक राजा मुकुन्द सेनमा प्रजाप्रतिको चिन्ता उत्तिकै थियो ।  उनको मनमा भाइ छोराहरूले  प्रजामाथि कस्तो शासन गरेका होलान् ? जनताहरू के गर्दै होलान् ? कतै दुःख त पाएका छैनन्? भन्ने जिज्ञासा उत्पन्न भइरहँदो रहेछ । यस्ता कुराले साह्रै सताएपछि एक पटक साँझको समय पारेर आफ्ना भाइ छोराहरूले गरेको शासन व्यवस्था अवलोकन गर्न सर्वसाधारणले नचिन्ने गरी हालको मुकुन्देश्वरी पहाडमा रहेको दरबार एवं आश्रमबाट निस्किई जोगीको भेषमा भ्रमण गर्ने निधो गरेछन् ।  उनी पहिले  शक्तिशाली मकवानपुर राज्यको अवस्था बुझ्न एक्लै निस्किएछन् । यात्राको क्रममा बन्दीपुरको झप्री भन्ने ठाउँमा पुग्दा रात परेछ। जोगी रुपी राजाले एक ब्राम्हणी महिलालाई घर अगाडि देखेछन् । उनले ती महिलासँग उनको घरमा बास बस्ने कुरा राखेछन् । सन्त महात्मा जस्ता व्यक्तिले बास मागेपछि  दयालु ब्राम्हणी पनि आफ्नो अहोभाग्य ठानी सजिलै स्वीकार गरिछन् । बासको सबै प्रबन्ध मिलाएर उनी पाहुनालाई भोजन तयार गर्न चुलोतर्फ लागिछन्। खुसीसाथ मिठा मिठा परिकारहरू बनाइछिन् । थाकेका होलान् बुढा जोगी भनी आफ्नो श्रीमान् घर नआए पनि जोगीलाई खान डाकिछन् । जोगी हात गोडा धोएर भान्सामा बसेछन् र अनेकौँ परिकारहरू देखेर खुसीले गद्गद भएजस्तो गरेछन् । पस्किएका सबै परिकारहरू जोगीले थालमा एकै ठाउँमा हाली मुछेर खाएछन् । भान्से महिला ट्वाल्ल परेर हेरिरहिछन् । उनलाई  जोगीले त्यसरी खाएको मन परेको थिएन । पाहुनाले प्रत्येक परिकारको स्वाद लिई मिठो गरी खाओस् भन्ने उनको इच्छा रहेछ । महिलाले  सोच्दासोच्दै जोगीले खाइसकेर चुठेछन् । महिलाले आराम गर्न बिस्तरामा जान जोगीलाई अनुरोध गरेपछि बिस्तरामा गएर जोगी आनन्दसाथ बसेछन् ।

केही बेरमा ब्राम्हणीका श्रीमान् खेतीपातीको दैनिकी सकेर घर आइपुग्दछन् । उनी रसिलो बोलीमा श्रीमान्‌लाई हात गोडा धोई आउनुहोस् भनी भान्सामा निम्त्याउँछिन् । श्रीमान्‌ पनि त्यो दिन धेरै परिकार पस्केको देख्दा खुसी हुँदै खान थाल्दछन्। श्रीमतीले श्रीमान्‌सँग भन्न थाल्छिन् । "बुढा, हेर्नू ,आज म ज्यादै खुसी छु नि; घरमा आज एक महात्मा बास बस्नुभएको छ; हाम्रो झुप्रो पवित्र भएको छ ।"

"अहो कति राम्रो खबर; अनि गुरुको खानपान र शयन कक्ष तयार गरिदियौ त ?" श्रीमान्‌ले सोधे ।

 "सबै मिलाएर आराम गराएकी छु के " भन्दै थिइन् बुढी । तुरुन्तै प्रसङ्ग बदले जस्तै गरिन्, "तर म आज त्यत्तिकै दुःखी पनि छु नि बुढा !"

 बुढो रातो पिरो हुँदै "होइन के भो र ?" भन्छन् ।

"त्यसरी झस्किनु पर्दैन बुढा !"  

यी दुई बूढाबूढीको गलफती जोगीले बिस्तराबाट सुन्दै थिए । बुढी भन्छिन्, "हेर्नुस् बुढा,  ती बुढा जोगी महात्मा थाके होलान् भनेर तपाईँ नआउँदै मिठा मिठा परिकार तयार गरी भोजन गराएँ । तृप्त पनि गराएँ । तर परिकारहरू स्वादिलो हुँदाहुँदै पनि केही नै नभएजस्तो गरी एकै ठाउँमा सबै चिज मुछेर स्वाद बिस्वाद खाइदिनुभयो । के गर्नुभएको होला के ? उहाँले सबैको स्वाद लिएर छुट्टै खाइदिएको भए मैले उहाँ प्रति दर्साएको सम्मान र मेरो परिश्रमले नि न्याय पाउँथ्यो नि !", बुढीभित्र रिस जाग्न थाले जस्तो भान हुन्थ्यो । उदाहरण दिँदै, "यी जोगी त पाल्पाको राजा जस्तै रहेछन् । तिनले पनि मानिसको भावना नै नबुझी सबैका राज्य कब्जा गरेर सबै मान्छेलाई एकै ठाउँमा मिसाए । मानिसका विचार भावनालाई अन्यायपूर्वक लडाइँ गरेर एकै ठाउँमा जबरजस्ती ल्याई सबैको अस्तित्व मेटिदिए। ठिक त्यस्तै गरी पो उहाँले खाना खानुभयो बा ! । "पाल्पाको राजा जस्तो" भनेर अलि ठुलो र आक्रोश मिसिएझैँ स्वरमा सोच्दै नसोचेको कुरा सुन्दा ती जोगी झस्किँदै छानामाथिबाट खसेझैँ भएछन् । राजा भावविभोर र स्तब्ध भएछन् । रातभरि किङ्कर्तव्यविमूढ भई निराशामा छटपटिएछन् । बारम्बार उनको स्मरणमा "त्यही पाल्पाको राजा जस्तो"  भन्ने शब्दले मात्र चिमोटेछ । उनमा निद्रा पर्ने कुरै पनि भएन । धार्मिक स्वभावका प्रतापी राजा सेनले आफ्ना प्रजाको यस्तो वचनबाट विरक्त मान्दै मन मनै सोचेछन् - "ओहो म प्रति प्रजाको यति धेरै घृणा; म संसार विजेताजस्तो भए पनि प्रजालाई दिने सुशासन र विश्वास आर्जन गर्न असफल रहेछु" ।  हीनताबोधले राजा पुरै थिलथिलो भएछन् ।  उनले त्यही क्षण त्यो घर छाड्ने फैसला लिएछन् । बिना मेलोमेसो आफू बास बसेको घर र वरपर कसैलाई  कुनै सूचना नदिई बाटो लागेछन् । उनी पश्चात्तापले पुरै जलिसकेका थिए । सायद उनी प्रायश्चितको लागि पवित्र ठाउँको खोजीमा निस्केका थिए ।

जब बिहानी झिसमिसे उज्यालो भयो । जोगीको सेवामा भाँडोमा पानी लिई ब्राम्हणी कोठाको ढोका ढकढकाउन पुग्छिन् ।  भित्रबाट कुनै प्रतिक्रिया आउँदैन ।  बल गरेर ढोका धकेल्दा त कोठामा कोही पनि छैन। उनी झसङ्ग हुन्छिन् र बुढालाई तुरुन्त खबर गर्छिन् ।  गाउँभर हल्लाखल्ला र सोधखोज चल्छ । बिदाइ गर्न नपाउँदा र पाल्पाको राजासँग तुलना गरेको कुराले कतै अप्ठ्यारो पो परेछ कि भन्ने कुरा खेलाई भित्रबाट ब्राम्हणदम्पती  पश्चात्ताप गर्दा भएछन् । जोगीको कतै अत्तोपत्तो छैन । जोगीको पिरलो वर्षौँ सम्म गाउँभरि सबै जनामा रहिरहेछ ।

धेरै वर्षपछि गाउँमा आश्चर्यजनक घटनाहरू हुँदा दैवी शक्तिको कारण हो कि भन्ने भान भएछ । झाँक्री बोलाई पाठ गराउँदा केही नयाँ वस्तु गाउँमा वर्षौँ देखि रहेको ठहर भएछ । खोजी गर्दै जाँदा तिनै जोगी बास बसेको ब्राम्हणीको घरमा पुग्दा कोठाको पालीमा सिउरिएको अनौठो तरबार भेटिन्छ । जोगीले छोडेको हुन सक्ने अनुमान गरी कसैले पनि तरबार छुने हिम्मत गरेनछन्। बरु ढोकामा चाबी लगाएर तरबारलाई सुरक्षित नै राख्ने निर्णय भएछ । यसै समयमा पवित्र तीर्थस्थल कालिगण्डकीको किनार देवघाटमा दिनहुँ जसो एक माझी माछालाई जाल थाप्ने रहेछ। कुनै वेला जालमा ठुलो माछा पर्‍यो भनी माझी खुसी हुँदै मुस्किलले जाल तान्छ । जब जाल किनारमा आइपुग्छ अजिबको वस्तु देखी ऊ आत्तिँदै अन्य गाउँलेलाई बोलाउँछ । जालबाट वस्तु निकाल्दा त ढुङ्गा पो रहेछ  । माझीले झनक्क रिसाई जालमा परेको  ढुङ्गा उचालेर अर्को ढुङ्गा माथि के पछारेथ्यो ढुङ्गाबाट रगतजस्तो तरल पदार्थ बग्न थालेछ । अब त झन् सनसनी मच्चिन थालेछ । केही व्यक्तिले  उत्सुकतापूर्वक रहस्य पत्ता लगाउन त्यो ढुङ्गा खोलेर हेरेछन् ।  ढुङ्गाभित्र चक्रवर्ती राजाको पदचिह्न पाइएछ । बुझ्दै जाँदा पत्ता लाग्यो कि त्यो ढुङ्गा नील शालिग्राम रहेछ । कुनै प्रतापी धार्मिक राजाले आफ्नो गल्तीको प्रायश्चितका लागि तपस्या गर्दै गर्दा तप:स्थलमै  देह त्याग गर्दाको अवस्थामा मात्र यस्तो नील शालिग्राम बन्ने गर्दछ । राजा मुकुन्द सेन देवघाटमा आएर तपस्या गरिरहेका थिए । शालिग्राम राजा मुकुन्द सेनको स्वरूप हो भन्ने कुरा पत्ता लाग्ना साथै उता ब्राम्हणीको घरको कोठामा थुनिराखेको तरबारले नागको रूप धारण गरी कोठाबाट बाहिर आई घुम्न थालेछ । (यो तरबार प्रतापी राजा मुकुन्द सेनको आराधना बाट प्रभावित भएर भगवान् शिवले शक्ति स्वरूप दिएको बहुरूपी तरबार भएको किम्बदन्तीमा रहेको पाइन्छ) ।   यो हल्ला टाढा टाढासम्म पुगेछ । नाग रक्षक जसरी त्यो घरको वरिपरि घुमिरहेथ्यो । डराएका मानिसहरूले समस्या हल गर्न हारगुहार गर्दै झाँक्रीहरू बोलाई पाठ सहित पूजाआजा गराएछन् । अनेक उपाय लगाउँदा पनि नाग त्यहाँबाट हट्ने सुरसार आएन । फेरि टाढा टाढाबाट तपस्वी एवं महात्माहरूको भेला बोलाइयो । निकै ठुलो बहसले गाउँको रक्षा र मानव कल्याणको लागि त्यहाँ देवी आएकोले  कोही डराउनु नपर्ने ठहर गर्दै सान्त्वनाको लागि पूजा लगाउनु पर्ने निष्कर्ष भएछ । हप्तौँसम्म ठुलो होम तथा अखण्ड क्षमा पूजाको आयोजना गरिएछ । अविच्छिन्न होम र पूजाको प्रभावले एक दिन नाग प्रभावित भएर आफ्नो पुरानो तरबार स्वरूपमा फर्किएछ । नागबाट पुनः  तरबार भएपछि मानिसहरू झन् डराएर भाग्न थाल्छन् । मानव कल्याणकै लागि देवीको आगमन भएकोले महात्माहरूले नआत्तिन भन्दा पनि ढुक्कसँग महायज्ञमा बस्न सकेनछन् ।  नियमित मन्त्रोच्चारण गर्दै जाँदा तरबार फेरि आफै ठाडो भई अग्नि कुण्ड नजिक आइपुग्छ। नियमित मन्त्र जप जारी हुन्छ । पूजा झन् तीव्र हुन्छ । तरबार हल्लिँदै डाँडामाथि आकाशमा उडेको देखिन्छ। डाँडाको शिरनजिक तरबार गिर्दछ । त्यहाँ बस्तुभाउ हेरिरहेको विश्वकर्मा जातिका बन्दे नाम गरेका एक देवीभक्तले देख्दादेख्दै उछिट्टिएर घिस्रिँदै केही तल पुगेर खड्ग ठाडो परेर रहन्छ ।  बन्देले अष्टमी तिथिको दिन देवीरूपी खड्गको उत्पत्तिको दर्शन गर्ने सौभाग्य पाएछ। बन्देले महात्मा, जोगी एवं सर्वसाधारणलाई देवी उत्पत्ति बखतको साक्षात् अद्भुत दृश्यको विस्तृत विवरण खुलाउँछ । सबै जना दर्शन गर्ने क्रममा यस्तो देवी लीलाको कहानी बन्देसँग बुझ्न  थालेछन् ।

यो दर्शनपछि नै सो ठाउँमा रहने गरी खड्गदेवी माई मन्दिरको स्थापन भएको हो भन्ने धार्मिक मान्यता छ। मन्दिरमा खड्गलाई नै बलि खुवाइने चलन छ।‌ खड्ग स्वरूपमा जसरी जमिन छोडेर हावामा उडेर देवी यहाँ खसिन्; अनि घिस्रेर केही तल पुगी स्थित भइन्; दर्शनार्थीले पनि त्यसै गरी दर्शन गरेमा पूर्ण शुभ फल मिल्छ र देवीको सम्मान पनि हुन्छ भन्ने धार्मिक मान्यता एवं जनविश्वास छ । केही समय भुईँ छोडेर हावामा सयर गरेपछि पैदल हिँडेर देवीको दर्शन गर्न पाइयो भने आँटेको पुग्ने, शक्ति प्राप्त हुने, इमानदार एवं पौरखी बन्न प्रेरणा मिल्ने, सधैँ सत्कर्म मात्र अँगाल्न प्रोत्साहित गर्ने र जस्तासुकै खालका शत्रुको आक्रमणलाई निस्तेज पार्न सक्ने वरदान र आशीर्वाद पाइन्छ भन्ने धार्मिक विश्वास छ ।  विशेष गरी नकारात्मक सोच मनमा नआउन् भन्नेहरूलाई  खड्गदेवीको दर्शन लाभदायी हुने गर्दछ । दर्शनको पूर्वार्ध र उत्तरार्धमा मन्दिर वरिपरिको क्षेत्रमा बास बसी अनुभव गर्दा पनि अलौकिक शान्तिको आनन्द उठाउन सकिन्छ भन्ने कुरा यहाँ बसेर दर्शन गर्नेहरूबाट पुष्टि भैसकेको छ । हावामा भक्तजनहरू लाई सयर गराउने नियमित माध्यम नभएकोले अष्टमी तिथिको दिनमा मात्र वर्षको एक दिन दर्शनार्थीलाई मन्दिर खुल्ला गराउनु पर्ने बाध्यता रहेको मन्दिरका पुजारीहरू बताउँछन् ।

करिब ६०० वर्षको लामो इतिहास रहेको यस मन्दिरमा आजसम्म पनि बडादसैँको अष्टमी तिथिमा वर्षको एक दिन मात्र पूजा अर्चना र बलिका लागि सर्वसाधारणहरूलाई ढोका खुल्ला गरिने प्रचलन छ । यो मन्दिरले महत्त्वपूर्ण सामाजिक न्यायको प्रतिमूर्तिको शक्ति पीठ भएको जनविश्वास आर्जिएको छ।

तीन प्रकारका पुजारीमार्फत तीन प्रकारबाटै पूजा गर्ने परम्परा अनुसार कामको बाँडफाँड गरिएको छ । एक जना पुजारी मगर जातिका छन् जसले खड्गलाई छुन सक्दछन् र त्यसमा पूजा गर्दछन् । यथाविधि पूजापाठ सकेपछि मात्र उक्त खड्ग सम्मानपूर्वक दोस्रा विश्वकर्मा जातिका पुजारीको हातमा थमाइने गरिन्छ । विश्वकर्मा पुजारीबाट पनि खड्गको यथाविधि पूजा सम्पन्न गरी खड्गमा शक्ति चढाउन मन्दिर प्राङ्गणमा दर्शनार्थीबाट परिक्रमा गराइन्छ । तत्पश्चात् तिनले ब्राह्मण जातिका अर्का पुजारीकोमा पूजाको लागि खड्ग लिएर जान्छन् र निज ब्राह्मण पुजारीबाट खड्गको पूजा हुन्छ तर ब्राह्मण पुजारीलाई खड्गको एक्लै पूजा गर्न भने दिइँदैन । विश्वकर्मा पुजारीको आज्ञाअनुरूप नै यथाविधि मन्त्रोच्चारण गरी खड्गलाई दैवी शक्ति युक्त बनाइन्छ । यसरी सबै पुजारीबाट पूजा सकेपश्चात् खड्ग उडेर आई मैदानमा खसेको मूल ठाउँ सो विश्वकर्मा पुजारीको पूजा स्थल हो । त्यही ठाउँमा बसी विश्वकर्मा पुजारीले विशेष पूजा अर्चना गरी खड्गलाई पूरा शक्ति भर्दछन्। पूजा अर्चना सकी शक्तियुक्त खड्ग उनले मगर जातिको पुजारीसमक्ष लैजान्छन्  र निजलाई खड्ग सुमसुम्याउन लगाउँछन् । ब्राह्मण पुजारीको अन्तिम आज्ञा पाई बलि खानको लागि खड्ग माथि उठ्दछ । बल्ल विश्वकर्मा जातिका पुजारीमार्फत देवीलाई लामबद्ध पशुहरूको बलि चढाउने काम सुरु हुन्छ । सबै पशुको बलि दिँदा उनीहरूलाई मोक्षको महान् अवसर प्राप्ति हुँदो रहेछ, यस्तो कार्यपछि विश्वकर्मा पुजारीले खड्ग झुकाउँछन् । कार्य सफल गरेको खड्गलाई शान्त पार्न एवं शक्ति निद्रामा लैजान विशेष पूजाको लागि विश्वकर्मा पुजारीले फेरि ब्राह्मण पुजारीसमक्ष लैजान्छन् । ब्राह्मण पुजारीले दर्शनार्थी  समक्ष प्रसाद ग्रहण गराउने क्रममा त्यहाँ दिएको बलिको मासु सबै जनाले आसपास रही बाँडेर खाइसकेर मात्र घर फर्कन सन्देश दिँदै अर्को पूजा नभएसम्म देवीले बलि नलिने  जानकारी सबैलाई दिन्छन् । ब्राह्मणको पूजापश्चात् खड्गलाई आसनमा बिराज गराउन विश्वकर्मा पुजारीले फेरि आफ्नो मूल पूजा मन्दिरमा लान्छन् । निज पुजारीले विशेष पूजाद्वारा खड्गको चढाइ गर्न सक्ने शक्ति निष्क्रिय गराई खड्गदेवीको मूल मन्दिर पुगी मगर पुजारीलाई खड्ग बुझाउँछन् । मगर पुजारीले पनि क्षमा पूजा गरी खड्गलाई आसनमा बिराज गराउँछन् । खड्ग निद्रामा जान्छन् । यससँगै पूजाका सबै कार्यहरू सम्पन्न भएको घोषणा हुने धार्मिक परम्परा यो मन्दिरमा रहेको छ ।

पूजाआजाको अवस्थामा बाजागाजा र साँझमा आरती उतार्ने कार्यक्रमहरू पनि हुन्छन् । पूजाको बिचमा नेवार पुजारीले आफ्नो विशेष कुलायन सम्झँदै आफ्नो भेसभुसा सहित माईको विशेष पूजा आराधना गर्दछन् । यस पूजाबाट खड्गदेवी मन्दिरको महिमा झल्किन्छ । यो मन्दिरलाई जातीय सहिष्णुताको प्रतीक मान्ने गरिन्छ । 

विश्वकर्मा बाबाको मुख्य प्रतीक मानिएको खड्गदेवीलाई सवारी व्यवसायी, सवारी चालक, निर्माण व्यवसायी, सेना, राजनीतिक नेता एवं कार्यकर्ताहरू र अन्य प्रशासकहरू जोकोहीले मनदेखि नै शुद्ध भावले दर्शन गर्दा ठुलो फल प्राप्ति हुन्छ भन्ने धार्मिक मान्यता रहेको छ ।

देवीको दर्शन गर्दा जमिन छोड्नु पर्ने अनि दसैँमा मात्र त्यो सम्भव हुने हुँदा यो मन्दिर वर्षको एक पटक दसैँको अष्टमीको दिन मात्र खुल्ने परम्परा छ।  दर्शनार्थी ले जमिन छोड्नको लागि पिङ बाहेक उहिले अर्को विकल्प नहुने रहेछ । पिङ चढेर केही बेर जमिन छाडे पछि देवीको दर्शन पूजा पूर्ण हुने भन्ने मान्यताले सबै दर्शनार्थीको हितको लागि दर्शनलाई विधि पुर्‍याउन वर्षको एक दिन मात्र मन्दिर खुल्ने चलन रहेछ। विधिपूर्वक गरेको पूजाको प्रसाद र चढाइएको बलि स्वरूपको मासु आफ्नो घर नलगी सबैलाई बाँडफाँड गरी मिलेर यहीँ नै खानुपर्दो रहेछ । सबै जना मिलेर बस्नु र रमाउनु पर्दछ भन्ने सामाजिक भावना पनि बनेको रहेछ। त्यसैले भाइचारा विकास एवं मनोरञ्जन बलिपछि ढलेको पशुको शरीरलाई लगत्तै खोसाखोस गर्ने प्रचलन पनि परापूर्व कालदेखि नै यहाँ चलेको पाइन्छ । यसमा पनि दर्शनार्थी निकै नै रमाइलो मान्दा रहेछन् ।

समग्रमा

पछिल्लो समय नेवारी सभ्यताको एक अभिन्न अंश जस्तै गरी यस मन्दिरको सम्पदाको मुख्य रेखदेखमा सबै जातजातिको सान्निध्ययतामा नेवार जातिको पहल रहेको अवस्था छ ।

मन्दिर सधैँ भरि खुल्ला गरी देवीको दर्शन गराउने अवस्था बनाउन दर्शनार्थी द्वारा जति समय जमिन छाडिन्छ उत्ति नै समयमा पैदल हिँडेर मन्दिर परिसरसम्म पुगी खड्गदेवी माईको दर्शन गर्न सक्ने व्यवस्था गरी हावामा सयर गराउने नियमित माध्यम भनेको केबलकार मात्र हुन सक्दछ ।  यस्तो सहज माध्यम हुँदा मन्दिर सर्वसाधारणको लागि दैनिक र नियमित खुल्ला गर्नको लागि वातावरण बनेको छ । देवीको प्रकृतिअनुरूपको दर्शनले नै दर्शनार्थी सँग देवी खुसी हुन सक्छिन् भन्ने विश्वासमा नै सेवा पस्कने उद्देश्यले बन्दीपुर केबलकारको निर्माण भएको छ।धार्मिक  साथै अन्य पर्यटनलाई केबलकारमार्फत प्रवर्धन गर्न खोज्दा खड्गदेवी माईको महिमा प्रचारित हुने सोच केबलकारको रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x