
नेपाल राष्ट्र बैङ्कले बैङ्किङ प्रणालीमा रहेको अतिरिक्त तरलता व्यवस्थापन गर्न १ खर्ब रुपैयाँ निक्षेप सङ्कलन गर्ने भएको छ। केन्द्रीय बैङ्कले निक्षेप सङ्कलन उपकरणमार्फत उक्त रकम बजारबाट खिच्ने तयारी गरेको हो।
राष्ट्र बैङ्कको अनुसार यसका लागि शुक्रवार दिउँसो ३ बजे बोलकबोल प्रक्रिया सञ्चालन गरिनेछ। ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैङ्क तथा वित्तीय संस्थाहरूले यस प्रक्रियामा सहभागिता जनाउन सक्नेछन्।
निक्षेप दिन इच्छुक संस्थाहरूले न्यूनतम १० करोड रुपैयाँदेखि आह्वान गरिएको कुल रकमसम्म प्रस्ताव पेस गर्न सक्नेछन्। बोलकबोल रकम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी प्रस्ताव गर्नुपर्ने व्यवस्था गरिएको छ।
राष्ट्र बैङ्कले निक्षेप सङ्कलन ब्याजदरमा आधारित बोलकबोल प्रणालीमार्फत गर्ने जनाएको छ। साथै, बैङ्क तथा वित्तीय संस्थाहरूले बहु ब्याजदरमा एकभन्दा बढी प्रस्ताव समेत पेस गर्न सक्नेछन्।
यस पटक सङ्कलन गरिने निक्षेपको अवधि १९ दिन रहनेछ। राष्ट्र बैङ्कको अनुसार उक्त निक्षेप सङ्कलन उपकरणको साँवा तथा ब्याज आगामी असार १७ गते भुक्तानी गरिनेछ।
अतिरिक्त तरलता व्यवस्थापन गर्न राष्ट्र बैङ्कले १ खर्ब रुपैयाँ बजारबाट तान्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
