फागुनदेखि स्वास्थ्य बीमा

ज्ञानमाण्डू।सुदूरपश्चिम प्रदेशका सात जिल्लामा स्वास्थ्य बीमितको सङ्ख्या हालसम्म साढे दुई लाख पुगेको छ । विसं २०७२ चैत २५ गतेदेखि कैलालीमा पहिलो पटक स्वास्थ्य बिमा कार्यक्रम सुरुआत भएको थियो । 

डोटी र डडेलधुरा जिल्लाबाहेक बीमितको सो सङ्ख्या पुगेको जनाइएको छ । स्वास्थ्य बिमा बोर्ड सुदूरपश्चिम प्रदेशका प्रदेश संयोजक जनक साउदले सुदूरपश्चिम प्रदेशमा बीमितको सङ्ख्या दुई लाख ५३ हजार ६२० पुगेको जानकारी दिए । सोमबार धनगढीमा आयोजित स्वास्थ्य बिमा अभिमुखीकरण कार्यक्रममा उनले डोटी र डडेलधुरामा फागुन पहिलो साताबाट कार्यक्रम कार्यान्वयनमा आउने जानकारी दिए । 

सात जिल्लामध्ये कैलालीमा सबैभन्दा बढी एक लाख ३९ हजार ८२० र सबैभन्दा कम दार्चुलामा छ हजार बीमित रहेका छन् । बझाङ ३० हजार ४५०, अछाम २७ हजार, बाजुरा २६ हजार ६५०, बैतडीमा १३ हजार र कञ्चनपुरमा १० हजार ७०० बीमित सङ्ख्या रहेको कार्यक्रममा जानकारी दिइयो ।

तीन प्रादेशिक अस्पताल, आठ जिल्ला अस्पताल, एक सामुदायिक अस्पताल, चार निजी अस्पताल र १४ प्राथमिक स्वास्थ्य केन्द्र गरी प्रदेशमा जम्मा ३१ स्वास्थ्य संस्थाले स्वास्थ्य बिमा कार्यक्रमलाई लागू गरी सेवा दिइँदै आएका छन् । 

देशका ५० जिल्लामा कार्यान्वयनमा आइसकेको स्वास्थ्य सो कार्यक्रम चालू आर्थिक वर्ष २०७६/७७ भित्रमा ७७ वटै जिल्लामा कार्यान्वयन गर्ने सरकारको लक्ष्य रहेको छ ।

त्यसै गरी सन् २०२० सम्ममा बीमितको सङ्ख्या ५० प्रतिशत र सन् २०३० सम्ममा १०० प्रतिशत पुर्‍याउने लक्ष्य छ । स्वास्थ्य बिमा नियमावली, २०७५ अनुसार अति गरिबको परिचयपत्र प्राप्त परिवार, अति अशक्त अपाङ्गता (रातो कार्ड), कुष्ठरोगी, एचआइभी सङ्क्रमित, जटिल खालका क्षयरोगी (एमडिआरटिबी) बिरामी भएका परिवारको योगदान रकमको शतप्रतिशत छुट र महिला स्वास्थ्य स्वयंसेविका संलग्न भएको परिवारको योगदान रकमको ५० प्रतिशत छुट दिइने व्यवस्था स्वास्थ्य बिमा कार्यक्रममा रहेको छ । 

त्यस्तै कडा प्रकारका रोग (अर्बुद रोग, मुटु रोग, हेड इन्जुरी, स्पाइनल इन्जुरी, सिकलसेल एनिमिया र अल्जाइमर) मा नदोहरिने गरी थप रु एक लाखको सेवा सुविधा दिने व्यवस्था छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x