कामपाको ट्राफिक आइल्यान्ड आकर्षक बनाइँदै

ज्ञानमाण्डू।रत्नपार्क, जमल र तीनधारा पाठशाला अघिल्तिर गरी तीन स्थानका ट्राफिक आइल्यान्डको व्यवस्थापन प्रभु बैङ्कले गर्ने भएको छ । आइल्यान्डको व्यवस्थापनको विषयमा मङ्गलवार काठमाडौँ महानगरपालिकाका तर्फबाट निमित्त प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवाली र बैङ्कका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनले सहमति पत्रमा हस्ताक्षर गरे । 

हस्ताक्षर कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले ठाउँ लिने, आफ्नो प्रचार गर्ने तर सौन्दर्य अभिवृद्धिमा ध्यान नदिने हो भने आपसी सम्बन्ध लामो समय टिक्न सक्दैन भन्दै दिगोरूपमा काम गर्नुपर्ने धारणा राखे । “सहरको मुहार राम्रो बनाउन राखिएका ती ठाउँ अवाञ्छित गतिविधि सञ्चालन गर्ने ठाउँ नबनुन्, मेरो चाहना यही हो”, शाक्यको भनाइ छ । 

सो अवसरमा बैङ्कका प्रमुख कार्यकारी अधिकृत शेरचनले महानगरले स्वीकृत गरेको ढाँचामा मौसम सुहाउँदा फूल, ठाउँ सुहाउँदा बिरुवा र आकर्षक फोहोरा निर्माण गर्ने जानकारी दिए । सम्झौताबमोजिम बैङ्कले वडा २८ मा पर्ने रत्नपार्क, वडा २७ मा पर्ने जमलको आकाशे पुलमुनि र वडा १ मा पर्ने तीनधारा संस्कृत पाठशाला अघिको ट्राफिक आइल्यान्डमा बगैँचा निर्माण गरेर हरियाली बनाउने, मर्मत सुधार, हेरचाह र आधुनिक पानीको फोहोरा निर्माण गर्नेछ ।

आउँदो पाँच वर्षका लागि भएको सम्झौताबमोजिम आइल्यान्डको व्यवस्थापन गरेबापतको खर्च बैङ्क आफैँले व्यहोर्नेछ । आइल्यान्डमा बैङ्क र महानगरको परिचय झल्कने लोगो राखिने छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x