इच्छाकामना–६ कुयालघारीमा पहिलोपटक बिजुली

ज्ञानमाण्डू।चितवनको इच्छाकामना गाउँपालिका–६ कुयालघारीमा पहिलोपटक बिजुली बत्ती बलेको छ । 

प्रतिनिधिसभा सदस्य कृष्णभक्त पोखरेलले सोमबार ट्रान्सफर्मरको स्वीच अन गरेर औपचारिक उद्घाटन गरे । बिजुली बलेसँगै कुयलघारीका ८७ घर उज्यालो भएका छन् । गाउँमा पहिलोपटक बत्ती बलेपछि स्थानीयवासी खुशी भएका छन् । रु ३१ लाखको लागतमा ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत गाउँमा बिजुलीबत्ती बालिएको हो । सो ठाउँमा कोरोना कहरका बीच पनि विद्युतीकरणको काम तीव्र पारिएको थियो । 

सो अवसरमा प्रतिनिधिसभा सदस्य पोखरेलले कुयालघारीमा बिजुली बल्दा अत्यन्त हर्षित भएको बताउँदै आफूले गाउँलाई उज्यालो बनाउन गरेको मेहेनत पूरा भएको बताए । विभिन्न अप्ठ्यारा र अवरोध पन्छाउँदै लकडाउन र कोरोना कहरकै बीच काम गर्ने विद्युत् प्राधिकरण, ठेकेदार कम्पनीलाई धन्यबाद दिँदै प्रतिनिधिसभा सदस्य पोखरेलले सडक र बिजुली पुगेपछि दुर्गमका समस्या केही कम भएको बताए । “म निर्वाचित हुँदा साविकको काउले, दाहाखानी, चन्डीभन्ज्याङमा बिजुली पुगेको थिएन”, पोखरेलले भने , “अहिले केही गाउँबाहेक सबै ठाउँमा बिजुली बल्छ ।” प्रतिनिधिसभा सदस्य पोखरेलले अर्को वर्षभित्र इच्छाकामना गाउँपालिकामा विद्युतीकरणको काम सम्पन्न हुने बताए । 

इच्छाकामना गाउँपालिका वडा नं ६ का वडाध्यक्ष भूपेन्द्र चेपाङले वषौँंदेखिको बिजुली बाल्ने सपना पूरा हुँदा आफू निकै खुशी भएको बताउँदै गाउँमा थप आयआर्जनको बाटो खुलेको बताए । सबैको पहल, प्रयास र हातेमालोले गाउँमा ढिलै भए पनि बिजुली पुग्दा स्थानीयवासी निकै हर्षित भएको वडाध्यक्ष चेपाङले बताए । चेपाङले आधामारा, तीनबाङ र बारसीभन्ज्याङमा बिजुली बत्ती बलिसकेको जानकारी दिए । अझै चार गाउँमा बत्ती बल्न बाँकी रहेको वडाध्यक्ष चेपाङले बताए ।

नेपाल विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख सुरेश महतोले बिजुली नहुँदा कुयलघारीका नागरिकले भोगेको पीडा देखेर आफूहरुले कोरोना कहरकै बीच काम सम्पन्न गराउने अठोट लिएर अघि बढेको बताए । सो ठाउँमा ५० केभिएको ट्रान्सफर्मर र डेढ किलोमिटर ११ हजार भोल्टेजको लाइन जडान गरिएको प्रमुख महतोले जानकारी दिए । महतोले इच्छाकामनाका सबै वडामा विद्युत् पुगेको भन्दै बाँकी गाउँमा क्रमशः काम गरिने बताए । 

सो ठाउँमा बिजुली बाल्नका लागि २०७६/७७ मा बोलपत्र भएर काम अघि बढेको थियो । इच्छाकामना गाउँपालिकामा विद्युतीकरणका लागि केन्द्रीय सरकारले रु १२ करोड बजेट विनियोजन गरेको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x