ज्ञानमाण्डू। जारी पुँजीको २५ प्रतिशत अर्थात १० करोड ५० लाख रुपैयाँ बराबरको १० लाख ५० हजार कित्ता आइपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको युनाईटेड इदी–मर्दी एण्ड आर.वि. हाइड्रोपावर लिमिटेडले कात्तिक २७ गतेदेखि एक सय रुपैयाँ अंकित दरमा ८ लाख ७३ हजार ९१० कित्ता शेयरकाे आइपीओ निष्कासन गर्ने भएको छ । यसमध्ये ४३ हजार ६९६ कित्ता शेयर म्युचुअल फन्डलाई बाँडफाँट गरिएकाे र कर्मचारीका लागि १७ हजार ४७८ कित्ता शेयर छुट्याइएको कम्पनीले जनाएकाे छ ।

पहिलो चरणमा आयोजना प्रभावित जिल्लाका स्थानीयलाई ४ लाख २० हजार आइपीओ जारी गरेकाेमा २ लाख ४३ हजार ९१० कित्ता शेयर बिक्री गरेको कम्पनीले दोस्रो चरणमा सर्वसाधारण लगानीकर्ताका लागि ८ लाख १२ हजार ७३६ कित्ता शेयर निष्कासन गर्न लागेको हो । यस आइपीओ निष्कासनमा ग्लोबल आइएमई क्यापिटल बिक्री प्रबन्धकको रूपमा रहेका छन् ।
कम्पनीले निष्काशन गर्न लागेको आइपीओमा सर्वसाधारणले छिटोमा कात्तिक २७ गतेदेखि मंसिर ३ गतेसम्म आवेदन दिन सक्नेछन भने सबै शेयरमा आवेदन नआए ढिलोमा मंसिर ११ गतेसम्म आवेदन दिन पाउनेछन् ।