कस्तो हुनेछ नबिल बैङ्कले नेपाल बङ्गलादेश बैङ्कलाई प्राप्ति गरे पश्चातकाे बैङ्क ?

merger and acquisition

ज्ञानमाण्डू। नबिल बैङ्क र नेपाल बङ्गलादेश बैङ्कबीच मिति २०७८ पौष २९ गते एक्विजिसन (प्राप्ति) सम्बन्धी प्रारम्भिक सम्झौता सम्पन्न भएको छ। लामो समय देखि यी दुई बैङ्कको मर्जर सम्बन्धी कुराकानीले नेपाली बजारमा राम्रै चर्चा पाएको छ। दुवै बैङ्कबीच भएको एक्विजिसन (प्राप्ति) सम्बन्धी सम्झौतालाई आधार मान्ने हो भने  नेपाल बङ्गलादेश बैङ्कको १०० कित्ता शेयर बराबर नबिलको ४३ कित्ता हुने गरी शेयर आदानप्रदान अनुपात (Swap Ratio) मा एक्विजिसनमा जाने तय भएको छ। 

यदि एक्विजिसन (प्राप्ति) सफल भएमा कस्तो हुनेछ त प्राप्ति पश्चातकाे बैङ्क?


चुक्ता पुँजी : नबिल बैङ्कको चुक्ता पुँजी १८ अर्ब ४९ करोड रुपैयाँ रहेको छ भने नेपाल बङ्गलादेश बैङ्कको चुक्ता पुँजी १० अर्ब ८ करोड रुपैयाँ रहेको छ। १०० कित्ता शेयर बराबर ४३ कित्ता स्वाप अनुसार एक्विजिसन पश्चातकाे बैङ्कको चुक्ता पुँजी २२ अर्ब ८३ करोड रुपैयाँ हुनेछ। अहिले ग्लोबल आइएमईको चुक्ता पुँजी सर्वाधिक २३ अर्ब ७९ करोड रुपैयाँ रहेको ।

जगेडा कोष: यदि एक्विजिसन (प्राप्ति) सफल भएमा प्राप्ति पछिको बैङ्कको जगेडा कोष २७ अर्ब १० करोड रुपैयाँ पुग्नेछ।

निक्षेप सङ्कलन र कर्जा लगानीमा बन्ने छ देशकै ठुलो बैङ्क : दुवै बैङ्कमा सङ्कलन भएको निक्षेप जोड्दा ३ खर्ब १३ अर्ब रुपैयाँ हुनेछ भने कर्जा लगानी २ खर्ब ९० अर्ब रुपैयाँ पुग्नेछ। अहिले सबै भन्दा धेरै निक्षेप सङ्कलन एनआईसी एशिया बैङ्कको २ खर्ब ९४ अर्ब रुपैयाँ रहेको छ भने एनआईसी एशियाले नै २ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ।

६ महिनाको नाफा करिब ३ अर्ब हुने : ६ महिनाको नाफा अर्थात् आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमास सम्म हेर्दा नबिल बैङ्कको खुद मुनाफा २ अर्ब १८ करोड रुपैयाँ रहेको छ भने नेपाल बङ्गलादेश बैङ्कको खुद मुनाफा ८१ करोड ११ लाख रुपैयाँ रहेको छ। दुवै बैङ्कको नाफा जोड्दा २ अर्ब ९९ करोड रुपैयाँ हुनेछ।

वितरण योग्य मुनाफा : ६ महिनाको वितरण योग्य मुनाफा हेर्दा नबिल बैङ्कको वितरण योग्य मुनाफा १ अर्ब ४५ करोड रुपैयाँ रहेको छ भने नेपाल बङ्गलादेश बैङ्कको वितरण योग्य मुनाफा ४९ करोड ३२ लाख रुपैयाँ रहेको छ। दुवै बैङ्कको वितरण योग्य मुनाफा जोड्दा १ अर्ब ९४ करोड रुपैयाँ हुनेछ।

कम्पनीका महत्त्वपूर्ण अनुपातहरू : खराब कर्जा हेर्दा नेपाल बङ्गलादेश बैङ्कको खराब कर्जा १ दशमलव ७४ प्रतिशत छ भने नबिल बैङ्कको खराब कर्जा १ दशमलव ११ प्रतिशत रहेको छ।

प्रति शेयर नेटवर्थ : नबिल बैङ्कको प्रति शेयर नेटवर्थ १८४ रुपैयाँ २८ पैसा हुँदा नेपाल बङ्गलादेश बैङ्कको १५७ रुपैयाँ १८ पैसा रहेको छ।

वार्षिक प्रति शेयर आम्दानी : नबिल बैङ्कको वार्षिक प्रति शेयर आम्दानी २३ रुपैयाँ ५९ पैसा छ भने नेपाल बङ्गलादेश बैङ्कको वार्षिक प्रति शेयर आम्दानी १६ रुपैयाँ ९ पैसा रहेको छ।

यी दुई बैङ्कबीचकाे प्राप्ति प्रक्रिया सफल भएमा प्राप्ति पश्चातकाे बैङ्क निक्षेप सङ्कलन र कर्जा लगानीको अर्थात् व्यवसायको आकारले नेपालकै ठुलो बैङ्क बन्ने छ र अन्य बैङ्कलाई पनि मर्जर तथा प्राप्तिमा जान दबाब सिर्जना गर्ने देखिन्छ।

नोट : यो नबिल बैङ्क र नेपाल बङ्गलादेश बैङ्क बिच भएको प्राप्ति सम्बन्धी प्रारम्भिक सम्झौताका आधारमा प्राप्ति प्रक्रिया सफल भए पश्चताको आकलित तथ्याङ्क मात्र हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x