सिटिजन्स सुपर ५० को इकाई बिक्री खुला, सर्वसाधारणले आजदेखि आवेदन दिन सक्ने

सिटिजन्स क्यापिटल लिमिटेडले सिटिजन्स म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सिटिजन्स सुपर ५० को इकाई निष्कासन तथा बिक्री आज मङ्सिर २ गतेदेखि खुला गरेको छ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अङ्कित मूल्यमा १० करोड इकाई निष्कासन गर्न लागेको हो। यसअनुसार योजनाको कुल आकार १ अर्ब रुपैयाँ रहेको छ।

कुल निष्कासित इकाईमध्ये १५ प्रतिशत अर्थात् १ करोड ५० लाख इकाई योजना प्रवर्द्धक सिटिजन्स बैङ्क इन्टरनेसनल लिमिटेडका लागि छुट्टाइएको छ। बाँकी ८ करोड ५० लाख इकाईमा सर्वसाधारण लगानीकर्ताले आवेदन दिन सक्नेछन्।

यस योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड इकाईसम्मका लागि आवेदन दिन पाउनेछन्। इकाई खरिद गर्न इच्छुक लगानीकर्ताले छिटोमा मङ्सिर ७ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिमा मागअनुसार आवेदन नपरेमा निष्कासन अवधि मङ्सिर १६ गतेसम्म थप गरिनेछ।

सिटिजन्स सुपर ५० बन्दमुखी प्रकृतिको सामूहिक लगानी योजना हो। यसको अवधि १० वर्ष तोकिएको छ। निष्कासन प्रक्रिया सफल हुन न्यूनतम ५० प्रतिशत अर्थात् ५ करोड इकाई बिक्री हुनुपर्ने व्यवस्था छ। सो परिमाणमा आवेदन नपरेमा योजना रद्द गरी १५ दिनभित्र आवेदकको रकम फिर्ता गर्ने प्रक्रिया सुरु गरिने क्यापिटलले जनाएको छ।

योजनाको धितो पत्र निष्कासन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ। इच्छुक लगानीकर्ताले नेपाल धितो पत्र बोर्डबाट स्वीकृति प्राप्त आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x