
राष्ट्रिय वाणिज्य बैङ्क लिमिटेडले निष्कासन गरेको ६ प्रतिशत ब्याजदरको ऋणपत्रमा आवेदन दिने आज कात्तिक १० गते अन्तिम दिन रहेको छ। बैङ्कले सात वर्ष अवधिको ‘६ प्रतिशत आरबीबीएल डिबेञ्चर २०८९’ निष्कासन गरेको हो।
बैङ्कले प्रतिकित्ता १ हजार रुपैयाँ अङ्कित मूल्यका ३० लाख कित्ता ऋणपत्र बिक्रीमा ल्याएको छ। यसबाट बैङ्कले कुल ३ अर्ब रुपैयाँ जुटाउने लक्ष्य राखेको छ।
कुल निष्कासित ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् १ अर्ब ८० करोड रुपैयाँ बराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री तथा बाँडफाँट गरिनेछ। बाँकी ४० प्रतिशत अर्थात् १ अर्ब २० करोड रुपैयाँ बराबरको १२ लाख कित्ता ऋणपत्र सर्वसाधारणका लागि छुट्टाइएको छ। सर्वसाधारणका लागि छुट्टाइएको ऋणपत्रमध्ये ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि आरक्षित गरिएको छ।
लगानीकर्ताले न्यूनतम २५ कित्ता र अधिकतम निष्कासन गरिएका सबै कित्ताका लागि आवेदन दिन सक्नेछन्। ऋणपत्रमा सी–आस्बा प्रणालीमा सहभागी बैङ्क तथा वित्तीय संस्थामार्फत वा मेरो सेयरबाट आवेदन दिन सकिनेछ।
यस ऋणपत्रको बिक्री प्रबन्धक कुमारी क्यापिटल लिमिटेड रहेको छ। ऋणपत्रलाई केयर रेटिङ्ग्स नेपालले ‘केयरएनपी सिंगल ए प्लस’ इस्यूअर रेटिङ प्रदान गरेको छ।
ऋणपत्रबाट प्राप्त हुने ब्याज प्रत्येक आर्थिक वर्षको पहिलो र दोस्रो अर्धवार्षिक अवधि समाप्त भएपछि कर कट्टी गरी भुक्तानी गरिने बैङ्कले जनाएको छ।
राष्ट्रिय वाणिज्य बैङ्कको ६ प्रतिशत ब्याजदरको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
