
हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गते बुधवार देखी प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) बिक्री खुला गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपिओ जारी गर्न लागेको हो।
कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब ६९ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् ५९ करोड १५ लाख रुपैयाँ बराबरको आइपिओ निष्कासन गर्ने अनुमति पाएको छ। यसअनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका कुल ५९ लाख १५ हजार कित्ता सेयर निष्कासन गर्नेछ।
यसको पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि १६ करोड ९० लाख रुपैयाँ बराबरका १६ लाख ९० हजार कित्ता सेयर जारी गरिनेछ। यसमध्ये १० लाख १४ हजार कित्ता सेयर आयोजनाबाट अति प्रभावित क्षेत्रका बासिन्दाका लागि छुट्टाइएको छ। उक्त सेयर दोलखाको बिगु गाउँपालिकाका वडा नम्बर ५, ६, ७ र ८ तथा कालिन्चोक गाउँपालिकाका वडा नम्बर २, ३ र ४ का स्थानीयले आवेदन दिन सक्नेछन्। बाँकी ६ लाख ७६ हजार कित्ता सेयर यी दुवै गाउँपालिकाका अन्य वडाका स्थानीय बासिन्दाका लागि निष्कासन गरिनेछ।
त्यस्तै, सर्वसाधारणका लागि छुट्टाइएको सेयरको १० प्रतिशत अर्थात् ४ लाख २२ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जारी गरिनेछ। यस सेयरको कुल अङ्कित मूल्य ४ करोड २२ लाख ५० हजार रुपैयाँ रहेको छ।
कम्पनीको आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि आवेदन दिने म्याद छिटोमा कात्तिक २५ गते र ढिलोमा मङ्सिर १० गतेसम्म तोकिएको छ। वैदेशिक रोजगारीमा रहेका नेपालीले भने छिटोमा कात्तिक १६ गते र ढिलोमा कात्तिक २५ गतेसम्म आवेदन दिन सक्नेछन्।
आयोजना प्रभावित क्षेत्रका स्थानीयले नेपाल इन्भेस्टमेन्ट बैङ्क, सिन्धु विकास बैङ्क, प्रभु बैङ्कको सिंगटी शाखा, लक्ष्मी सनराइज बैङ्कको सुनखानी एक्सटेन्सन काउन्टर र सिटिजन्स बैङ्कको चरिकोट शाखाबाट आवेदन दिन सक्नेछन्।
वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त सी–आस्बा सेवामा सहभागी बैङ्क तथा वित्तीय संस्थाका तोकिएका शाखा कार्यालय र सीडीएससीको मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन्।
कम्पनीको आइपिओ निष्कासन तथा बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल रहेको छ।
हिम पर्वत हाइड्रोपावरको आइपिओ कात्तिक ११ गतेदेखि खुल्ने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
