सिटिजन्स बैङ्क इन्टरनेसनल लि.को अगुवाइमा सह-वित्तीय करण व्यवस्थापन गरी सह-वित्तीय करण बैङ्कहरूले रु. ७ अर्ब ५० करोड रुपैयाँ ऋण लगानी गर्ने गरी ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत आयोजना आउने भएको छ । आज मिति २०८३ वैशाख ३० गते बुधवारको दिन प्रवर्द्धक कम्पनी दिब्यज्योती हाइड्रोपावर लिमिटेड एवं लगानीकर्ता बैङ्कहरू बिच वित्तीय व्यवस्थापनका लागि सह-वित्तीय करण कर्जा सम्झौतामा हस्ताक्षर भएको छ । उक्त परियोजना गण्डकी प्रदेश, लमजुङ जिल्ला, मर्स्याङ्दी गाउँपालिका र बेसीशहर नगरपालिकामा निर्माण हुनेछ ।
परियोजनाको अनुमानित लागत करिब रु. ११ अर्ब ३० करोडमध्ये सह-वित्तीय करण बैङ्कहरूले ६७ः३३ को ऋण: स्वपुँजी अनुपातमा रु. ७ अर्ब ५० करोड बराबरको ऋण लगानी गर्नेछन् भने ३३% स्वपुँजी प्रवर्द्धकहरूबाट जुटाइने छ । आयोजना आगामी चार वर्षभित्र निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको र निर्माण सम्पन्न पश्चात् उत्पादित बिजुली नेपाल विद्युत् प्राधिकरणको उदीपुर स्थित सबस्टेशनमा जोडिने छ । कम्पनीका अनुसार आयोजनाबाट हिउँदमा ११२.०९९ गिगावाट घण्टा र बर्षायाममा २००.५०३ गिगावाट गरी वार्षिक ३१२.६०२ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ ।
सह-वित्तीय करण कर्जा सम्झौता हस्ताक्षर कार्यक्रमलाई संशोधन गर्दै सिटिजन्स बैङ्कका प्रमुख कार्यकारी अधिकृत गणेश राज पोखरेलले सिटिजन्स बैङ्कले स्थापनाकाल देखि नै एकल लगानीका साथै आफ्नो अगुवाइ, सह अगुवाइ तथा अन्य बैङ्कहरूसँगको सह वित्तीय करण कर्जा मार्फत जलविद्युत लगायत हरित ऊर्जा क्षेत्रमा उल्लेख्य रूपमा लगानी गर्दै आएको र बैंकिङ्ग क्षेत्र एवं स्वतन्त्रउर्जा उत्पादकहरूको संयुक्त लगानीबाट धेरै आयोजनाहरूको निर्माण भई सञ्चालनमा आएका कारण देशको समग्र ऊर्जा क्षेत्रको विकासमा निजी क्षेत्रको ठुलो योगदान रहेको बताउनुभयो ।
हाल सम्म निर्माण सम्पन्न भएका २७४.४०१ मेगावाट क्षमताका १६ वटा जलविद्युत आयोजना र निर्माणाधीन १,३३०.८२५ मेगावाट क्षमताका २६ वटा जलविद्युत आयोजना सहित जम्मा १,६०५.२२६ मेगावाट क्षमताका ४२ वटा जलविद्युत आयोजनामा यस बैङ्कको लगानी रहेको छ । सिटिजन्स बैङ्कले हाल सम्म १८ वटा हाइड्रोपावर आयोजनामा अगुवा बैङ्क, ३ वटा हाइड्रोपावर आयोजनामा सह अगुवा बैङ्क, १७ वटा हाइड्रोपावर आयोजनामा सहभागी बैङ्क रूपमा र ४ वटा हाइड्रोपावर आयोजनामा एकल लगानी रहेको छ ।
साथै बैङ्कले हाल कोशी प्रदेशमा ५२१.६६६ मेगावाट क्षमताका १४ वटा आयोजनाहरूमा, बाग्मती प्रदेशमा ३९३.८२५ मेगावाट क्षमताका १४ वटा आयोजनाहरूमा, गण्डकी प्रदेशमा ६१६.४६५ मेगावाट क्षमताका ९ वटा आयोजनाहरूमा, लुम्बिनी प्रदेशमा ५३.०२ मेगावाट क्षमताका २ वटा आयोजनाहरूमा र कर्णाली प्रदेश २०.२५ मेगावाट क्षमताका ३ वटा आयोजनाहरूमा लगानी गरेको गरेको छ ।
प्रवर्द्धक कम्पनी दिब्यज्योती हाइड्रोपावर लिमिटेडका तर्फबाट अध्यक्ष सतिस न्यौपानेले आगामी चार वर्षभित्र परियोजना निर्माण सम्पन्न गरी विद्युत् उत्पादन गर्ने लक्ष्य रहेको र हालसम्म नेपाल विद्युत् प्राधिकरण, विद्युत् विकास विभाग, वन तथा वातावरण मन्त्रालयलगायत सरोकारवाला निकायहरूमा गर्नुपर्ने सबै कानुनी प्रक्रिया पुरा गरी सकिएकोले आयोजना तत्काल निर्माण शुरुगरि समयमै सम्पन्न हुने विश्वास व्यक्त गर्नुभयो ।
सिटिजन्स बैङ्कको अगुवाइमा ५० मेगावाटको मर्स्याङ्दी बेसी जलविद्युत आयोजनाको वित्त व्यवस्थापन
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
0%
0%
0%
0%
0%
