ग्लोबल आइएमई बैंक र बैंक अफ काठमाण्डूबिच एक आपसमा गाभ्न/गाभिनको लागि अन्तिम समझदारी पत्रमा हस्ताक्षर



ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबिच एक आपसमा गाभ्न गाभिनको लागि सोमबार अन्तिम समझदारी पत्रमा हस्ताक्षर सम्पन्न भएको छ ।

समझदारी पत्रमा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल तथा बैंक अफ काठमाण्डू लिमिटेडका अध्यक्ष प्रकाश श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।

यस अघि ग्लोबल आइएमई बैंक लिमिटेड र बैंक अफ काठमाण्डू लिमिटेडबिच गाभ्ने/गाभिने (मर्जर) प्रयोजनका लागि मूल्याङ्कन कर्ताबाट प्राप्त चल/अचल सम्पत्ति, दायित्व तथा कारोबारको मूल्याङ्कन प्रतिवेदनका आधारमा निर्धारण गरिएको शेयर स्वाप अनुपात १ः१ दुवै बैंकका सञ्चालक समितिले अनुमोदन गरिसकेका छन् ।

मर्जर पश्चात् बैंकको कूल पुँजी रु. ५७ अर्ब, चुक्ता पुँजी रु. ३५.७७ अर्ब, कूल निक्षेप रु. ४०० अर्ब, कूल कर्जा रु. ३७९ अर्ब भन्दा बढी पुग्नेछ । मर्जर पछि बन्ने नयाँ बैंक कूल पुँजी, चुक्ता पुँजी तथा व्यवसायको आकारको हिसाबले नेपालको सबै भन्दा ठुलो बैंक बन्नेछ । 
नयाँ बैंकको नाम ग्लोबल आइएमई बिओके लिमिटेड हुने र सञ्चालक समितिमा ग्लोबल आइएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकाल सहित ५ जना र बैंक अफ काठमाण्डूको तर्फबाट २ जना रहनुहुनेछ । त्यसै गरी बैंकको प्रमुख कार्यकारी अधिकृतको रूपमा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य रहनुहुनेछ ।
 
२१ वटा बैंक तथा वित्तीय संस्थाहरू गाभिएर बन्ने ग्लोबल आइएमई बिओके लिमिटेडमा ५ वटा वाणिज्य बैंक, १० वटा विकास बैंक तथा ६ वटा फाइनान्स कम्पनी समाहित हुनेछन् ।

साथै, दुवै बैंकले असोज मसान्त सम्म १ अर्ब ४७ करोड रुपैयाँ भन्दा बढी खुद नाफा आर्जन गरी सकेका छन् । 

दुई बैंकहरुको मर्जर पश्चात् कूल ३८५ शाखा कार्यालय, ३६७ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ६१ विस्तारित शाखा कार्यालयहरू, ३ वटा विदेश स्थित सम्पर्क कार्यालयहरू, ४० लाख भन्दा बढी ग्राहकहरू सहित अन्य धेरै वित्तीय परिसूचकहरूमा ग्लोबल आइएमई बिओके लिमिटेड मुलुकको सबै भन्दा ठुलो बैंक हुनेछ ।

दुवै बैंकहरु एक आपसमा गाभिए पश्चात् संस्थाको पुँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै मुलुकको सबैभन्दा सबल एवम् सक्षम बैंकको रूपमा वित्तीय बजारमा स्थापित भई ग्राहकहरूलाई थप उत्कृष्ट सेवा तथा सुविधा प्रदान गर्न तथा लगानीकर्ताहरूलाई उच्चतम प्रतिफल दिने विश्वास बैंकले लिएको छ । 

हस्ताक्षर कार्यक्रममा बोल्दै बैंकका सञ्चालक समितिका अध्यक्षहरूले बैंकले वित्तीय क्षेत्रमा नयाँ अवसरहरू ल्याई ग्राहक, शेयरधनी, बैंकसँग प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सरोकार राख्नुहुने सबैको हितलाई ध्यानमा राखी बैंकले कार्य सम्पादन गर्ने संयुक्त प्रतिबद्धता व्यक्त गर्नुभयो । 

ग्लोबल आइएमई बैंकका अध्यक्ष ढकालले मुलुकको आवश्यकताअनुसार बैंकिङ्ग क्षेत्रको विकास हुने बताउँदै, ठुला पूर्वाधारमा लगानी गर्न, मुलुकभर वित्तीय पहुँच पुर्‍याउन र बैंकिङ्ग लागत घटाउन ठुला र सबल बैंकको आवश्यकता रहने र मर्जरपछि बन्ने बैंकले त्यसको सम्बोधन गर्ने बताउनुभयो ।

ग्लोबल आइएमई बैंक नेपाल सरकार तथा नेपाल राष्ट्र बैंकले दिने निर्देशनहरू परिपालनामा सधैँ पहिलो हुने गरेको बताउँदै उहाँले तदअनुरुप यो मर्जरको अन्तिम समझदारी पत्रमा हस्ताक्षर गरिएको बताउनुभयो ।

उहाँले मर्जरपछि बन्ने नयाँ बैंक ठुलो मात्र नभएर सम्पूर्ण हिसाबले सर्वोत्कृष्ट बैंक बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । 

मर्जरपछि बन्ने नयाँ बैंक सबै प्यारा मिटरमा पहिलो नम्बरमा रहने बताउँदै उहाँले पहिलो नम्बरमा आउने उद्देश्यले भन्दा पनि नियमन निकाय र बैंकको हितमा काम गर्दै जाँदा बैंक अहिलेको अवस्थामा पुगेको बताउनुभयो ।

बैंक अफ काठमाण्डूका अध्यक्ष श्रेष्ठले मुलुकको आर्थिक विकास र समृद्धि बैैंक तथा वित्तीय संस्थाको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो ।
“मुलुकको आर्थिक रूपान्तरण र आर्थिक सम्मृद्धिको लागि ठुलो, सक्षम र राम्रो बैंकको आवश्यकता पर्छ । त्यसको सम्बोधन मर्जरपछि बन्ने ग्लोबल आइएमई बिओकेले गर्नेछ,” उहाँले भन्नुभयो ।

उहाँले मर्जरपछि बन्ने नयाँ बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमा ठुलो सफलता हासिल गर्ने विश्वास प्रकट गर्नुभयो । 
साथै, उक्त कार्यक्रममा दुवै बैंकका अध्यक्षहरूले गाभ्ने/गाभिने प्रक्रियामा प्रत्यक्ष वा अप्रत्यक्षता सहयोग पुर्‍याउने नेपाल सरकार, नेपाल राष्ट्र बैंक, बैंकका सञ्चालकहरू, शेयरधनी, कर्मचारी वर्ग, सञ्चार क्षेत्र लगायत सम्बन्धित सम्पूर्ण शुभेच्छुकहरू प्रति हार्दिक आभार व्यक्त गर्नुभएको छ । 

संयुक्त मर्जर समितिका संयोजक राधेश पन्तले मर्जर समितिले बैंकका लगानीकर्ता, कर्मचारी तथा समग्र बैंकलाई केन्द्रमा राखेर मर्जर समितिले काम गरेको बताउँदै दिगो र उच्च प्रतिफल दिन ठुलो बैंकले मात्र सक्ने बताउनुभयो ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x