नबिल बैङ्कको नबिल एसएसई फेलोशिप कार्यक्रमको चौथो चरणको आवेदन खुला

नबिल बैङ्कले Nabil School of Social Entrepreneurship - फेलोसिप कार्यक्रमको चौथो ब्याच २०२४ का लागि आवेदन आह्वान गरेको छ । तेस्रो ब्याचको सफलतापछि बैङ्कले चौथो ब्याचको कार्यक्रमका लागि आवेदन माग गरेको हो । सामाजिक परिवर्तनका लागि नवीनतम सोच भएका १८ वर्षभन्दा माथिका नेपाली नागरिकले २०८१ साल भदौ १४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

बैङ्कले कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, र सूचना प्रविधि लगायत कुनै पनि क्षेत्रमा नवीनतम सोच भएका र उद्यम गर्न चाहिने सीप तथा तालिमको खोजीमा रहेका उद्यमीहरूका लागि निःशुल्क तालिमको लागि आवेदन खुला गरेको हो । इच्छुक व्यक्तिहरूले www.nabilbank.com मा उपलब्ध फारम भरेर वा क्युआर कोड स्क्यान गरेर आवेदन दिन सक्ने बैङ्कले जनाएको छ । सो कार्यक्रम बैङ्कको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन भइरहेको छ ।

सो कार्यक्रम नबिल बैङ्क र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा ६ महिनासम्म चल्नेछ । आवासीय र प्रयोगात्मक ढाँचामा सञ्चालन हुने यस कार्यक्रममा सहभागीहरूले सामाजिक उद्यमको सम्पूर्ण व्यावसायिक चक्रमा आवश्यक तालिम प्राप्त गर्नेछन् । तालिमपछि, उनीहरूले आफ्नो उद्यमको प्रकृतिअनुसार विज्ञहरू (mentors) को  सहयोगमा व्यावहारिक चुनौतीहरूको समाधानका लागि आवश्यक सहयोग प्राप्त गर्नेछन् । यसले दीर्घकालीन सफलता प्राप्त गर्न मद्दत गर्ने विश्वास बैङ्कले लिएको जनाएको छ ।

हालसम्म, नबिल एसएसई अन्तर्गत ५६ जना सामाजिक उद्यमीले तालिम प्राप्त गरी ८० प्रतिशतले उद्यम स्थापना गरेका छन् भने ११ सय ८४ रोजगारीका अवसरहरू सिर्जना भएका छन् ।

सो कार्यक्रमका सहभागी फेलोहरूले स्थापना गरेका उद्यमले स्थानीय स्तरमा उपलब्ध स्रोत–साधनहरूको दिगो उपयोग गरी रोजगारी सिर्जना गर्नुका साथै  स्थानीय अर्थतन्त्र बलियो बनाउन समेत मद्दत गरेको बैङ्कले जनाएको छ । साथै उद्यमीहरूको कार्यलाई स्थानीय सरकार तथा विभिन्न संस्थाहरूबाट पुरस्कृत हुनुले पनि यस कार्यक्रमको महत्त्व अझै थप बढेको महसुस बैङ्कले गरेको जनाएको छ ।  

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x