
ज्ञानमाण्डू। चालु आर्थिक वर्षको माघसम्म आइपुग्दा विकास बैङ्कहरूले साढे ३ अर्ब अधिक रुपैयाँ नाफा कमाउन सफल भएका छन्। नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार माघसम्ममा १४ वटा विकास बैङ्कहरूले ३ अर्ब ८८ करोड रुपैयाँ खुद नाफा कमाएका छन् भने ३ विकास बैङ्कहरू अझै घाटामा रहेका छन्। अघिल्लो महिना अर्थात् पुषमा जम्मा १४ वटा विकास बैङ्कहरूले ३ अर्ब ४४ करोड रुपैयाँ नाफा कमाएका थिए। यदि सबै विकास बैङ्कहरूको नाफा र नोक्सान मिलान गर्नेहाे भने पुषमा विकास बैङ्कहरूको कुल नाफा ३ अर्ब ३९ करोड थियो जुन माघसम्ममा ३ अर्ब ८२ करोड पुगेको देखिन्छ । पुषको तुलनामा विकास बैङ्कहरूको समग्र नाफा माघमा ४३ करोड ६६ लाख रुपैयाँ अर्थात् १२.८७ प्रतिशतले वृद्धि भएको देख्न सकिन्छ।
केन्द्रीय बैङ्कबाट उपलब्ध तथ्याङ्कलाई आधार मान्दा चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा विकास बैङ्कहरू मध्ये ८ वटा बैङ्कहरूको मुनाफा औसत भन्दा धेरै रहेको देखिन्छ भने सोही वर्गका बाँकी अन्य संस्थाले समीक्षा अवधिमा औसत भन्दा कम नाफा कमाएको देखिन्छ। माघमा विकास बैङ्कहरूले औसतमा २२ करोड ५२ लाख रुपैयाँ नाफा कमाएको देखिन्छ । यता, माघसम्म आइपुग्दा ३ वटा विकास बैङ्क ५ करोड ४१ लाख रुपैयाँ घाटामा रहेको केन्द्रीय बैङ्कले सार्वजनिक गरेको तथ्याङ्कले देखाएको छ।

Click here to join Gyanmandu.com's Viber Community
- सर्वाधिक नाफा कमाउनमा मुक्तिनाथ विकास बैङ्क नै अगाडि, कुन विकास बैङ्कको नाफा कति छ?
चालु आर्थिक वर्षको माघसम्ममा मुक्तिनाथ विकास बैङ्क सर्वाधिक नाफा कमाउने विकास बैङ्क भएको छ । मुक्तिनाथ विकास बैङ्कले ६९ करोड अधिक नाफा कमाएको देखिन्छ जुन पछिल्लो महिनाको तुलनामा १५.८४ प्रतिशतको वृद्धि हो। गत महिना बैङ्कले ६० करोड २४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको तथ्याङ्कले जनाएको छ।
यसै गरी मुक्तिनाथ विकास बैङ्क पश्चात् सर्वाधिक नाफा आर्जन गर्न सफल गरिमा विकास बैङ्क रहेको छ। सो बैङ्कले चालु आर्थिक वर्षको माघसम्ममा ५६ करोड अधिक नाफा कमाएको छ। सोही अवधिमा महालक्ष्मी विकास बैङ्कले ५२ करोड ८३ लाख, ज्योति विकास बैङ्कले ४१ करोड २८ लाख मुनाफा आर्जन गर्दा लुम्बिनी विकास बैङ्क, साइन रेसुङ्गा डेभलपमेन्ट बैङ्क र कामना सेवा विकास बैङ्कले ४० करोड अधिक रुपैयाँ नाफा कमाएका छन्।
समीक्षा अवधिमा साङ्ग्रिला डेभलपमेन्ट बैङ्कले ३० करोडले १२ लाख, मितेरी डेभलपमेन्ट बैङ्कले ७ करोड ५४ लाख रुपैयाँ मुनाफा आर्जन गर्दा एक्सेल डेभलपमेन्ट बैङ्कले ४ कराेड १७ लाख, सिन्धु विकास बैङ्कले २ कराेड ९४ लाख, सालपा विकास बैङ्कले १ कराेड ५० लाख, ग्रिन डेभलपमेन्ट बैङ्कले ७२ लाख र कर्पाेरेट डेभलपमेन्ट बैङ्कले ४७ लाख रुपैयाँ नाफा कमाउन सफल भएको तथ्याङ्कले जनाएको छ।
- सर्वाधिक घाटामा सप्तकोसी डेभलपमेन्ट बैङ्क , कुन विकास बैङ्कको घाटा कति छ?
चालु आर्थिक वर्षको माघसम्म सप्तकोसी डेभलपमेन्ट बैङ्क सर्वाधिक घाटामा रहेको तथ्याङ्कले देखाएको छ। उक्त बैङ्क २ करोड ९० लाख रुपैयाँ घाटामा रहेको देखिएको छ जुन पछिल्लो महिनाको तुलनामा कम हो। गत महिना बैङ्क ३ करोड २७ लाख रुपैयाँ घाटामा रहेको तथ्याङ्कले जनाएको छ।
त्यस्तै कर्णाली डेभलपमेन्ट बैङ्क १ कराेड ५७ लाख र नारायणी डेभलपमेन्ट बैङ्क ९४ लाख रूपैयाँ घाटामा रहेका छन्।