सेनाको स्वास्थ्य शिविरमा २१ हजार नागरिक लाभान्वित

ज्ञानमाण्डू।नेपाली सेनाले महोत्तरीको सोन्मा गाउँपालिकामा सञ्चालन भएको स्वास्थ्य शिविर हालसम्मकै वृहत् र सफल शिविरका रूपमा स्थापित भएको जिकिर गरेको छ । आधारभूत स्वास्थ्य सेवाको पहुँचकै समस्या देखिएको उक्त क्षेत्रमा सेनाले सञ्चालन गरेको साताव्यापी निःशुल्क शल्यक्रिया शिविरबाट २१ हजारभन्दा बढी नागरिक लाभान्वित भएका थिए । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र नेपाली सेनाद्वारा संयुक्त रूपमा सञ्चालित उक्त शिविरमार्फत जुकाको औषधि वितरणदेखि पाँच किलोसम्मको ट्युमर शल्यक्रिया गरी निकालिएको थियो । एक सय ८० जनाको विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्य टोलीले उक्त शिविरमा साना ठुला गरी ३२९ वटा सफलतापूर्वक शल्यक्रिया गरेको थियो । 

गत मङ्सिर २७ देखि पुस ५ गतेसम्म सञ्चालित उक्त शिविरबाट लामो समयदेखि आन्द्रामा प्वाल परेका, जटिल गर्भावस्थामा रहेका, हर्निया भएका र ट्युमरका बिरामीले लाभ लिएको शिविर संयोजक सहायक रथी डा देवेन्द्रबहादुर खत्रीले जानकारी दिए । सेनाले त्यस क्षेत्रका डोम र मुसहर समुदायमा जुकाको औषधि वितरण गर्नुका साथै बस्तीमा लामखुट्टे निरोधक औषधि छिटेको थियो । 

उक्त शिविरमा उपचार गर्न आउने कतिपय बालक बिरामीमा जन्मजात मुटु प्वाल परेको तथा कुपोषणको समस्या भेटिएको थियो । उक्त क्षेत्रका बिरामीमा महिलामा पाठेघर खस्ने समस्या देखिएको थियो भने पुरुष धेरैमा दम, पित्त थैलीको पत्थरी र हर्निया भेटिएको डा खत्रीले बताए । 

स्वास्थ्य मन्त्रालयका सहसचिव डा विकास देवकोटाले भौगोलिक हिसाबले सुगम देखिए पनि शिक्षा र स्वास्थ्यलगायतका कारणले पछि रहेको प्रदेश नं २ का जिल्लामा स्वास्थ्यमा नागरिकको पहुँच विस्तार गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको जानकारी दिए । उक्त शिविरमा सिन्धुली, धनुषा, महोत्तरी र सर्लाहीका जनता ठुलो सङ्ख्यामा उपचारका लागि पुगेका थिए । पुरुषको तुलनामा उपचार गर्न आउने महिलाको सङ्ख्या बढी रहेको थियो । 

महोत्तरीका शिविरबाट नागरिक–सैनिक सम्बन्ध विस्तारमा ठुलो योगदान पुगेको ठहर गर्दै उत्साहित भएको सेनाले निकट भविष्यमै नेपालगञ्जक्षेत्रमा पनि यस्तै बृहत् स्वास्थ्य शिविर सञ्चालन गर्ने सोच बनाएको सैनिक मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । स्वास्थ्यमा जनताको पहुँच कम भएको क्षेत्रमा मुलुकका अन्य क्षेत्रमा पनि सेनाले शिविर सञ्चालन गर्दै आएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x