‘अर्ग्यानिक’ कृषि उपज उत्पादन गर्ने कार्यक्रम शुरु

ज्ञानमाण्डू।पर्वत र बागलुङमा ‘अर्ग्यानिक’ कृषि उपज उत्पादन गर्ने कार्यक्रम सुरु गरिने भएको छ । कृषि ज्ञान केन्द्र पर्वतले दुवै जिल्लाका १७ स्थानीय तहमा विशिष्ट क्षेत्र पहिचान गरी अर्ग्यानिक कृषि उपज उत्पादन कार्यक्रम सञ्चालन गर्ने भएको हो । 

ज्ञान केन्द्रका प्रमुख वासुदेव रेग्मीले सामूहिक रूपमा गरिने कृषि फर्ममा ६० र एकल फर्ममा ५ रोपनी क्षेत्रमा उक्त खेती विस्तार गर्ने तयारी गरेको जानकारी दिए । अहिले कार्यक्रम कार्यान्वयन पूर्व सम्भावित क्षेत्रको पहिचान गर्न सुरु गरिएको रेग्मीले बताए । उक्त खेतीप्रति किसानको आकर्षण बढाउन कार्यालयले अनुदान, तालिम र बजारीकरणको व्यवस्था गर्ने भएको छ । कार्यक्रमका लागि कार्यालयले रु. १ करोड भन्दा बढी अनुदान वितरण गर्ने रेग्मीले जानकारी दिए । पछिल्लो समय तरकारी, फलफूल, नगदे बाली आदिमा विषादीको अत्यधिक र अनधिकृत प्रयोग बढ्दै गएपछि अर्ग्यानिक खाद्यान्नको महत्त्व बढ्दै छ । 

गाउँ गाउँमा खुलेका होमस्टे र विदेशी पर्यटक आउने होटेलमा स्थानीय उत्पादनको माग बढ्न थालेको छ । त्यस्तो खानाको माग बढ्दै गए पनि उत्पादन नगन्य रहेको छ । गत वर्ष देखि गण्डकी प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सुरु गरेको मुख्यमन्त्री वातावरण मैत्री नमुना कृषि गाउँ कार्यक्रमले पनि अर्ग्यानिक उत्पादनलाई बढवा दिएको छ । सो खेती विस्तारका लागि कृषि प्राविधिक, कृषक, कृषि उद्यमी लगायतलाई दुई दिने तालिम पनि कार्यालयले दिएको छ । 

तालिममा ३५ जना सहभागी भएका थिए । तालिम पश्चात् अव क्षेत्र निर्धारण गरेर सो खेती विस्तार सम्बन्धी कार्यक्रम सुरु गरिने कृषि विकास अधिकृत रामकृष्ण अर्यालले जानकारी दिए ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x