रङ्गशालाका लागि महायज्ञबाट ५० करोड सङ्कलन गरिँदै

ज्ञानमाण्डू।गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशाला निर्माणका लागि महायज्ञबाट रु ५० करोड ७६ लाख ७६ हजार ५० सङ्कलन गर्ने लक्ष्य लिइएको छ । जिल्लाका सबै राजनीतिक दल, सांसद, स्थानीय तहका प्रमुख, सरकारी निकायका प्रमुखलगायत विभिन्न सङ्घसंस्थाका प्रमुख र प्रतिनिधिको महायज्ञमा सक्रिय सहभागिता रहेको छ । 
रङ्गशाला निर्माण स्थलमा यही माघ १९ गतेदेखि २६ गतेसम्म बृहत् धनधान्याञ्चल महोत्सव आयोजना गरिँदै छ । महायज्ञ मूल समितिका संयोजक प्रदेशसभा सदस्य विजय सुवेदीका अनुसार महायज्ञमा टोल विकास संस्थादेखि ठुला व्यावसायिक घरानासम्मबाट सहयोग सङ्कलनका लागि खाका तयार गरिएको छ । अनुमानित खाकाअनुसार उक्त रकम सङ्कलन हुने अपेक्षा गरिएको उनले बताएका छन् । 

स्थानीय स्तर, सङ्घसंस्था, गैर आवासीय नेपाली, पालिकाहरू, सहकारी, बैङ्क तथा वित्तीय संस्था, शैक्षिक संस्था, अस्पताल, निर्माण व्यवसायी, उद्योग, सरकारी कर्मचारी, खेलकुद सामग्री उत्पादक कम्पनी एवं एजेन्सीहरूबाट रकम सङ्कलनको लक्ष्य निर्धारण गरिएको छ । यससँगै तुला दान, चौरासी पूजा, व्रतबन्ध, लक्ष्यवर्ती, कलश, दानपेटिका, विवाह, धनधान्याञ्चल खाद्यान्न बिक्री, सौजन्य वस्तुबाट आम्दानी गरिने सुवेदीले जानकारी दिए । 

कम खर्चमा ठुलो मात्रामा रकम सङ्कलन गर्ने योजनाका साथ महायज्ञ गर्न लागिएको छ । समितिका महासचिव दिनेश चुकेका अनुसार महायज्ञ सम्पन्न गर्न रु ७६ लाख ७६ हजार ५० मात्रै खर्च गर्ने अनुमान गरिएको छ । रङ्गशाला निर्माणका लागि रु ५० करोड बचाउने योजना बनाइएको चुकेले जानकारी दिए । 

महायज्ञ सम्पन्न गर्न जिल्लाका सांसद, पार्टीका प्रमुख, प्रशासनिक प्रमुख, स्थानीय तहका प्रमुख, उद्योगी व्यवसायी, कानुन व्यवसायी, पत्रकारलगायत रहेको एक हजार १११ जनाको मूल आयोजक समिति, २१ जनाको स्टेरिङ कमिटी, २०१ जनाको सचिवालय र ६० उपसमिति गठन गरिएको छ । भरतपुर महानगरपालिकाको रामपुरमा रु दुई अर्व ५० करोड खर्च गरेर रङ्गशाला निर्माण गरिँदै छ । धुर्मुस–सुन्तली फाउण्डेशनले रङ्गशाला निर्माणको नेतृत्व लिएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x