खुद ब्याज आम्दानीमा गिरावट आउँदा कृषि विकास बैंकको नाफा करिब साढे १६ प्रतिशत घट्यो


ज्ञानमाण्डू।कृषि विकास बैक लिमिटेडले चालू आ.व. २०७७/७८ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकका समग्र वित्तीय विवरणका परिसूचकहरू मूल्यांकन गर्दा बैंकको वित्तीय सूचकहरुमा सामान्य गिरावट अएको देख्न सकिन्छ ।

कृषि विकास बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ अर्ब ३२ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २६ करोड रुपैयाँ अर्थात १६ दशमलव ४४ प्रतिशत कम हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब ५८ करोड १७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। बैंकको खुद ब्याज आम्दानी र सञ्चालन नाफामा दुवै घटेको छ । जसको कारण खुद नाफा पनि प्रभावित भएको छ।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २९ करोड १५ लाख रुपैयाँ घटेर २ अर्ब ८८ करोड रुपैयाँमा सीमित भएको छ। त्यसैगरी, बैंकको सञ्चालन मुनाफा २४ करोड ५१ लाख रुपैयाँ घटेर १ अर्ब ८९ करोड ४७ लाख रुपैयाँमा समेटिएको छ। सो अवधिसम्ममा बैंकको वितरण योग्य मुनाफा ८० करोड ९५ लाख रुपैयाँ रहेको छ।

१६ अर्ब ४२ करोड २६ लाख रुपैयाँ चुक्ता पूँजी रहेको कृषि विकास बैक लिमिटेडको जगेडा घटेर कोषमा ९ अर्ब ९८ करोड १३ लाख रुपैयाँ रहेको छ भने रिटेन्ड अर्निङ्गमा आकर्षक वृद्धि भई ३ अर्ब २४ करोड ६२ लाख रुपैयाँ सञ्चित छ।

बैंकको निक्षेप १ खर्ब ४३ अर्ब ६२ करोड रुपैयाँबाट बढेर १ खर्ब ४४ अर्ब १९ करोड रुपैयाँ पुगेको छ। त्यसैगरी, बैंकको कर्जा लगानी १ खर्ब २१ अर्ब ८४ करोड रुपैयाँबाट बढेर १ खर्ब ३२ अर्ब ४८ करोड रुपैयाँ पुगेको छ। गत आर्थिक वर्षको पुस मसान्तसम्ममा ३ दशमलव ९१ प्रतिशत रहेको बैंकको निष्क्रिय कर्जा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा सामान्य घटेर ३ दशमलव १४ प्रतिशतमा कायम भएको छ।

यस अवधिसम्ममा बैंकको प्रतिशेयर आम्दानी ५ रुपैयाँ २८ पैसाले घटेर ४० रुपैयाँ ४ पैसामा सीमित भएको छ ।यस्तै, प्रतिशेयर नेटवर्थ पनि ३५ रुपैयाँ १३ पैसाले घटेको छ । सो अवधिसम्ममा बैंकको प्रतिशेयर खुद मूल्य २१८ रुपैयाँ ८८ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २१ दशमलव ३३ गुणा रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x