विकट बस्ती जोड्न दुई वटा सडकमा धमाधम काम हुँदै

ज्ञानमाण्डू।मार्मा गाउँपालिकाको वडा नम्बर १ र वडा नम्बर ३ का विकट बस्ती जोड्ने गरी धमाधम सडक निर्माण भइरहेको छ । स्थानीय सरकारको पहिलो प्राथमिकतामा परेका दुवै सडकलाई विकट ग्रामीण बस्तीसम्म पुर्‍याउने लक्ष्यका साथ काम भइरहेको हो ।

सडक सञ्जालमा नजोडिएका बस्तीलाई सडकको पहुँचसम्म ल्याउन गत वर्षदेखि स्थानीय सरकारले सडक निर्माणमा प्राथमिकता दिएको गाउँपालिका अध्यक्ष जमनसिंह धामीले बताएका छन् । गाउँपालिकाको सबैभन्दा ठुलो बस्ती रहेको वडा नम्बर १ को जुडे, दर्मा, ताकु, घोल्जर तोलीमाडौ , दह र लोयोलगायतका बस्तीसम्म सडक पुर्‍याउने गाउँपालिकाको योजना छ । 

गाउँपालिका–१ को पारि बगरदेखि घोल्जरसम्म कूल २३ किलोमिटर सडक निर्माण हुने गाउँपालिकाका सब–इञ्जिनियर विक्रम जोशीले जानकारी दिएका छन् । गत वर्षबाट सडक निर्माणले गति लिएको हो । यो सडकमा हालसम्म झन्डै रु ५० लाख खर्च भएको छ । 

अहिलेसम्म साढे तीन किलोमिटर क्षेत्रसम्म सडकको ट्रयाक खुलाइएको छ । वडा नम्बर १ को दर्मधार बस्तीसम्म सडकको ट्रयाक खुलेसँगै जिप पुगेको गाउँपालिका–१ का वडाध्यक्ष वीरेन्द्रसिंह बोहराले जानकारी दिए । 

सडक दुर्गम बस्तीसम्म पुग्न थालेपछि स्थानीयवासी खुसी भएका छन् । साबिकको गाविस हुँदा पनि स्थानीयवासीले सास्ती भोग्दै आएका थिए । जनसङ्ख्याको हिसाबले यो वडा सबैभन्दा ठुलो छ । यो वडामा तीन हजारभन्दा बढीको बसोबास छ । 

लोया बस्ती सबैभन्दा विकट बस्ती हो । लोया, दह र तोलीमाडौँमा मात्र झन्डै १०० घरधुरीको बसोबास छ । “विगतमा यहाँका मासिनले पाँच घण्टा हिँडेर स्वास्थ्य सेवा लिन पारि बगर आउनुपथ्र्याे”, अध्यक्ष बोहराले भने , “अहिले गाउँपालिका भएपछि घोल्जरमा स्वास्थ्य केन्द्र राखिएको छ, यहाँका चार बस्ती लोया, दह, तोलीमाडौँ, घोल्जरका स्थानीयले सेवा पाएका छन् । सडक पुर्‍याउन सक्यो भने यो क्षेत्रका नागरिकले स्थानीय सरकारको अनुभूति गर्न सक्ने अवस्था छ ।” 

यो वर्ष पारि बगर घोल्जर सडकका लागि झन्डै रु एक करोड बजेट विनियोजन भएको छ । नेपाल सरकारको समपूरक विशेष अनुदान अन्तर्गत यो सडक बन्न लागेको हो । सडक निर्माणको बोल पत्र गर्ने तयारी भइरहेको गाउँपालिकाले जनाएको छ । 

यस्तै गाउँपालिकाकै वडा नम्बर ३ को बजानी बस्ती जोड्ने गरी सडक निर्माण भइरहेको छ । लटिनाथ बजार क्षेत्रबाट सार्सी हुँदै अन्तिम बस्ती बजानीसम्म सडक पुगेको छ । लटिनाथदेखि बजानीसम्मको साढे ६ किलोमिटर क्षेत्रमा सडकको ट्रयाक खुलाइएको वडाध्यक्ष पुष्कर विष्टले जानकारी दिएका छन् । 

सडक नहुँदा वडा कार्यालय र गाउँपालिका सदरमुकाम पुग्न घण्टौँ समय लाग्ने गरेको थियो । सडक पुगेसँगै स्थानीयवासीलाई राहत हुने विष्टको भनाइ छ । अहिले सडकको ट्रयाक खुला गरिएको छ । सडक स्तरोन्नति भएपछि नियमित सवारी चलाउन सकिने उनी बताउँछन् । यो सडकलाई बैतडीको डिलाशैनी गाउँपालिका–१ दुनीमा जोडिने छ । स्थानीय सरकार बनेपछि सडक नपुगेको बस्तीलाई जोड्ने योजना अघि सारिएको हो । 

गाउँपालिकाको वडा नम्बर ४, ५ र ६ अझै सडकले जोडिएको छैन । विटुले पारि बगर सडकले गाउँपालिकाको वडा नम्बर १, २ र ३ का केही बस्ती छोएको छ । सडक नपुगेको क्षेत्रमा घोरेटो बाटो निर्माण गरिएका छन् । फराकिला घोरेटो बाटोमार्फत अहिलेलाई बाटो सुधार गरिएको गाउँपालिकाका सब–इञ्जिनियर जोशी बताउँछन् । दुई सय आठ दशमलव छ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको गाउँपालिकाको जनसङ्ख्या झन्डै १५ हजार छ । भूगोलको हिसाबले विकट ठाउँमा बस्ती भएका कारण वडा नम्बर ६ को शेरी र वडा नम्बर ५ को मुरैसम्म सडक पुर्‍याउन कठिन छ । 

यो क्षेत्रलाई खलङ्गा नौगाड सिप्टी हुँदै मार्मा अपि हिमाल जोड्ने गरी सडक बनाउने योजना छ । सुदूरपश्चिम प्रदेश सरकारमार्फत नौगाड र मार्मा जोड्ने गरी सडक निर्माण हुने गाउँपालिकाले जनाएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x