पर्यटन प्रवर्द्धन गर्न सडक स्तरोन्नति

ज्ञानमाण्डू।आन्तरिक तथा बाह्य पर्यटकको सहजताका लागि कञ्चनपुरको भीमदत्त नगरपालिकाले सडकको स्तरोन्नतिको कार्यमा जोड दिन थालेको छ । नेपाल भ्रमण वर्षलाई लक्षित गरी नगरपालिकाले पर्यटकीय क्षेत्र जोड्ने सडकको स्तरोन्नति गर्न थालेको हो । पर्यटकीय क्षेत्रसम्म पुग्ने सडक कालोपत्रे गर्ने, ग्राभेल गर्ने र पदमार्ग निर्माणको कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको नगर प्रमुख सुरेन्द्र विष्टले जानकारी दिए ।

झिलमिला ताल, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, कालिताल झर्ना, विष्णु मन्दिर र रौटेला धार्मिक पर्यटकीय क्षेत्र जोड्ने सडक स्तरोन्नतिको कार्य गरिएको विष्टले बताए । पर्यटकलाई लक्षित गरी ताराकोटदेखि पर्यटकीय क्षेत्र झिलमिला जाने एक किलोमिटर पदमार्ग निर्माण गरिएको छ । सांसद विकास कोषको रु १० लाखको लागतमा दुई मिटर चौडाइको पदमार्ग निर्माण गरिएको हो । वडा कार्यालयको बजेटमा रु १० लाखको लागतमा झिलमिला तालको परिक्रमा पथसमेत निर्माण गरिएको वडा अध्यक्ष राम नाथले जानकारी दिए ।

तराई मधेस चुरे राष्ट्रपति कार्यक्रमअन्तर्गत झिलमिला ताललाई पहिरोबाट पुरिन बाट जोगाउनका लागि चेक ड्यामसमेत निर्माण गरिएका छौँ, उनले भनेका छन् , “यसका लागि रु १४ लाख रकम खर्चिएको छ ।” झिलमिला तालको सौन्दर्य हेर्न जाने पर्यटकको सुविधाका लागि पाँच किलोमिटर सडक कालोपत्रे गर्ने कार्यसमेत पूरा भएको छ । झिलमिला ताल रङ बदल्ने तालका रूपमा परिचित रहेको छ । 

पर्यटकको सहजताका लागि धार्मिक पर्यटकीय क्षेत्र त्रिपुरा पुग्ने सडक कालोपत्रे गर्ने कार्य कार्य शुरुआत भएको छ । त्रिपुरा क्लबदेखिको सडकसमेत रु १५ लाखको लागतमा वडा कार्यालयले कालोपत्रे गर्ने कार्य शुरुआत गरेको छ । पर्यटकीय वर्षलाई नै लक्षित गरी विश्वकर्मा मन्दिरको पर्खाल निर्माणको कार्यसमेत गरिएको छ । 

शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, मल्टिस्पान झोलुङ्गे पुललगायतका पर्यटकीय क्षेत्रमा जाने पर्यटक र सर्वसाधारणका लागि वडा नं १६ मा रु एक करोड ४० लाखको लागतमा डेढ किलोमिटर सडक कालोपत्रे गरिएको छ । मझगाँउ विमानस्थलतर्फ जाने सडक कालोपत्रे गरिएको हो । यसबाट शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज, महाकाली नदीमाथिको मल्टिस्पान झोलुङ्गे पुल हेर्न जाने पर्यटकका लागि सडक कालोपत्रे भएपछि सहजता भएको छ । पहिला सडकको अवस्था बिग्रँदो अवस्थामा रहँदा पर्यटकले निकै सास्ती खेप्दै आएका थिए । पर्यटक र सर्वसाधारणको असहजतालाई महसुस गरी सडक कालोपत्रे गरिएको उनले जानकारी दिए । 

शुक्लाफाँटा निकुञ्जतर्फ जाने सडकको बाह्रसिङ्गे चोकमा मध्यवर्ती समितिको सहयोगमा वडा कार्यालयले बाह्र सिङ्गेको प्रतिमा राख्नेसमेत भएको छ । नगरपालिकाको वडा नं १९ मा १८ किलोमिटर बढी क्षेत्रमा शुक्लाफाँटा पर्यटकीय मार्ग निर्माणको कार्य गरिएको छ । मार्ग निर्माणका लागि नयाँ ट्रयाक खोलिएको छ । 

पर्यटकीय मार्ग निर्माण भएपछि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकलाई सहज हुने वडाध्यक्ष दामोदर महराले जानकारी दिए । भीमदत्त नगरपालिका–१० मा रहेको कालिताल झर्नाको मनमोहक दृश्यावलोकनका लागि पुग्ने पर्यटकलाई मध्यनजर गर्दै पदमार्ग निर्माण गरिएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत रु १० लाख रकम परिचालन गरी पदमार्ग निर्माण गरिएको वडाध्यक्ष परमानन्द जोशीले बताए । उनका अनुसार सात किलोमिटर लामो पदमार्ग निर्माण गरिएको छ । पदमार्ग निर्माण गरिएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई सहजरुपमा झर्नासम्म पुग्न थालेका छन् । 

भीमदत्त नगरपालिका–१ मा रहेको धार्मिक पर्यटकीय क्षेत्र रौटेला पुग्ने सडक कालोपत्रे गर्ने कार्य गरिएको छ । जसबाट धार्मिकजनलाई पर्यटकीय क्षेत्रमा पुग्नका लागि निकै सहज भएको छ । विगतमा कच्ची सडक हुँदा सवारीसाधन गुड्न र पैदल हिँड्न निकै अप्ठेरो रहेको थियो । सडक कालोपत्रे भएसँगै यस क्षेत्रको विकासमा समेत टेवा पुगेको छ । रु २५ हजारप्रति कट्ठाका दरले बिक्री हुँदै आएको जग्गाको मूल्य बढेर प्रतिकट्ठा रु सात लाख बढी पुगेको छ । 

भीमदत्त नगरपालिका–८ मा रहेको धार्मिक तथा पर्यटकीय क्षेत्र भम्केपानीमा सौर्यबत्ती जडान गरिएका छन् । वडा कार्यालयले रु २० लाख बजेट परिचालन गरी सौर्यबत्तीको व्यवस्था गरेको हो । पर्यटकीय क्षेत्र भम्केपानीमा २० वटा सौर्यबत्ती जडान गरिएका छन् । सौर्यबत्ती जडान गरिएपछि धार्मिक पर्यटकीय क्षेत्रको सौन्दर्यता बढ्नुका साथै पुग्ने आन्तरिक तथा बाह्य पर्यटकलाई सहज भएको छ । वडा कार्यालयकै पहलमा भम्केपानी क्षेत्रमा जाने सडकको स्तरोन्नतिसँगै कालोपत्रे गर्ने कार्यसमेत गरिएको छ । पर्यटकीय क्षेत्रमा पर्यटकलाई सहजरुपमा पुग्नका लागि सडक स्तरोन्नतिको कार्यलाई निरन्तरता दिँदै पर्यटकलाई आवश्यक पर्ने अन्य सुविधा प्रदान गर्नसमेत नगरपालिकाले योजना बनाई कार्य अगाडि बढाउनेसमेत जनाइएको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges

Nepal Telecom

01-4210283
Bhadrakali Plaza, Kathmandu Nepal
https://www.ntc.net.np/

Ncell Axiata Limited

+977 980 555 4444
Lainchaur, Kathmandu
https://www.ncell.axiata.com/en
ad x