कलेक्टिभ रूपमा नेपालमा लगानी गर्न एनआरएनलाई वरिष्ठ उपाध्यक्ष ढकालको आग्रह

ज्ञानमाण्डू। नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले कलेक्टिभ रूपमा नेपालमा लगानी गर्न गैर आवासीय नेपालीहरूलाई आह्वान गर्नुभएको छ । गैर आवासीय नेपाली सङ्घले बिहीबार राजधानीमा आयोजना गरेको वैदेशिक रोजगार, सामाजिक सुरक्षा, लगानी तथा वैदेशिक मुद्रा निक्षेपसम्बन्धी कार्यशालालाई सम्बोधन गर्दै वरिष्ठ उपाध्यक्ष ढकालले कोभिड १९ महामारी तथा रुस–युक्रेन युद्धका कारण मुलुकमा वैदेशिक मुद्रा संचितिमा सङ्कुचन देखिएको बताउँदै यो नेपालभित्र विदेशी मुद्रा भित्र्याउने र लगानी विस्तार गर्ने उपयुक्त अवसर भएको बताउनुभयो ।
“मुलुक अहिले वैदेशिक मुद्रा संचितिको चाँपबाट गुज्रिएको छ । नेपालमा वैदेशिक मुद्रा भित्र्याउँदै लगानी विस्तारका लागि तपाईहरूलाई यो उपयुक्त अवसर हो । प्रत्येक मुलुकको वा सहरको समूहहरू बनाई कलेक्टिभ रूपमा ठूलाठूला आयोजनाहरूमा लगानी विस्तार गर्नुहोस् । तपाईँले त्यहाँ गरेको लगानी र प्रतिफलभन्दा नेपालमा पक्कै पनि राम्रो हुनेछ,” उहाँले भन्नुभयो । उहाँले लगानी गर्न तथा प्रतिफल लैजान केही समस्या भए क्रमशः समाधान गर्दै जान नेपाल उद्योग वाणिज्य महासङ्घको तर्फबाट पहल गर्ने समेत बताउनुभयो ।
 
“नेपालमा लगानीको वातावरण बनाउन तथा तपाईँहरूको लगानीको प्रतिफल लैजान केही समस्या परेमा हामी तपाईँहरूसँगै हुनेछौ । यहाँहरूलाई आइपर्ने कुनै पनि समस्या समाधानका लागि समग्र निजी क्षेत्रको तर्फबाट आवश्यक पहल गर्ने म यहाँहरूलाई प्रतिविद्धतासमेत जनाउन चाहन्छु,” उहाँले भन्नुभयो । उहाँले नेपालको अर्थतन्त्रका केही सूचकहरू नकारात्मक रहे पनि नेपाल र श्रीलङ्काको आर्थिक अवस्था तुलना गर्न नमिल्ने बताउनुभयो ।
 
“नेपाल र श्रीलङ्काको आर्थिक अवस्था तुलना गर्न मिल्दैन । श्रीलङ्का ठुलो विदेशी ऋणमा छ । हामी त्यस्तो अवस्थामा छैनौ । अर्को कुरा उनीहरूको भन्दा हाम्रो अर्थतन्त्रमा रेमिटेन्स भूमिका फरक खालको छ । त्यसैले हामी कुनै पनि हालतमा श्रीलङ्का हुँदैनौ र त्यो बाटोमा पनि छैनौ,” उहाँले भन्नुभयो । आईपीओमा गैर आवासीय नेपालीहरूलाई १० प्रतिशत कोटा छुट्ट्याउँदा यसले अहिलेको तरलता समस्या समाधान गर्न धेरै हदसम्म सहयोग पुगेको बताउँदै उहाँले नेपालमा गैर आवासीय नेपालीहरूको लगानी भित्र्याउन पनि यसबाट सहयोग पुग्ने अपेक्षा गर्नुभयो ।
उहाँले नेपालमा सम्भावना नै सम्भावना रहेको र यसलाई अवसरका रूपमा लिन गैर आवासीय नेपालीहरूलाई आग्रह समेत गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x