चेपाङ समुदायका पीडा : किन गाउँमा आउँदैन विकास ?


ज्ञानमाण्डू।चितवनको इच्छाकामना गाउँपालिका–५ मरक्यानाकी शिला चेपाङ शिक्षित छैनिन् । उनलाई गाउँमा विकास भएको हेर्ने तीव्र इच्छा छ । सडक, बिजुली, नजिकै विद्यालय सञ्चालनमा ल्याएर गाउँका बालबालिका पढाउन पाइदिए हुन्थ्यो भन्ने उनको उत्कट चाहना छ । विकास टाठाबाठाले प्राप्त गर्छन् भन्ने उनको बुझाइ छ । गाउँपालिका गत आइतबार आयोजित अन्तर्क्रिया कार्यक्रममा चेपाङले भनिन् , “चेपाङगाउँमा मात्रै किन आउँदैन विकास ?”

“स्थानीय सरकारले विनियोजन गर्ने योजना र बजेटका बारेमा हामीलाई थाहा नै हुँदैन”, चेपाङले भनिन् , “हामी कम बोल्ने र कम जाने बुझेको भएर होला ?”। स्थानीयस्तरमा पनि समयमै सहज सूचना प्राप्त गर्न नसकेको उनले गुनासो पोखिन् । शिलाजस्तै अन्य चेपाङको गुनासो उस्तै छ । “हामीलाई सडक चाहियो, सडकको सुविधा भए तरकारी उत्पादन गर्छौँ र बेच्छौँ”, रामजी चेपाङको भनाइ छ । उनले विद्यालय टाढा हुँदा बालबालिका नियमित उपस्थित हुन समस्या भएको गुनासो पोखे । कक्षा ३ सम्मका लागि बालकक्षाको व्यवस्था गाउँमै गर्न सके मात्रै बालबालिका नियमित विद्यालय जाने उनले बताए । उनले चेपाङ बाहुल्य क्षेत्रका हरेक विद्यालयमा चेपाङ समुदायको शिक्षक राख्नुपर्ने माग गरे । “पहिलाभन्दा अहिले हामी धेरै बुझ्ने भइसकेका छौँ, अझै धेरै जान्न बाँकी छ”, रामजी चेपाङको भनाइ छ ।

इच्छाकामना गाउँपालिका–५ का वडासदस्य निर्मला श्रेष्ठले अधिकारका लागि चेपाङ समुदाय एकजुट हुनुपर्ने बताइन् । “आजसम्म एक जना चेपाङ पनि योजना चाहियो भनेर वडामा आएका छैनन्, हामीले नै प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छौँ, तपाईँहरू लाज नमान्नुहोस्, निर्धक्क भएर आफ्ना कुरा सम्बन्धित ठाउँमा राख्नुहोस्, तपाईँका माग सम्बोधन हुन्छन्”, उनको भनाइ छ ।

“चेपाङ समुदायको मुख्य समस्या बालविवाह हो”, वडा सदस्य श्रेष्ठले भने , “अझै पनि १५/१६ वर्षमै बच्चा जन्माउने गरिएको छ, २० वर्ष कम उमेरको जन्म र विवाह दर्ता नै हुँदैन ।” ती समुदायमा हुने बालविवाह जनप्रतिनिधिका लागि पनि चुनौतीको विषय बनेको श्रेष्ठको भनाइ छ । उनले कक्षा ५ सम्म अध्ययन गर्ने चेपाङ बालबालिकाका लागि सरकारले निःशुल्क खाजाको व्यवस्था गरेको जानकारी दिइन् ।

“अझै पनि चेपाङ नागरिकको अवस्था दर्दनाक छ”, इच्छाकामना गाउँपालिका–५ का वडाध्यक्ष मोदराज सिलवालले भने, “सरकार र विभिन्न सङ्घसंस्थाले सञ्चालन गरेको अभियान बालुवामा पानी खन्याए सरह भएको छ ।” जनचेतनाको कमी र गरिबीका कारण उनीहरू माथि उठ्न नसकेको सिलवालले बताए । “जीवनस्तर उकास्न शुरुआत आफैबाट गर्नुपर्छ, सरकार र सङ्घसंस्थाले त सहयोग मात्रै गर्ने हो”, उनको भनाइ छ ।

वडाले सञ्चालन गरेको उद्घोषणलगायतका तालिममा पनि चेपाङ समुदायको प्रतिनिधित्व नभएको उनले बताए । “यो समुदाय छरिएर होइन, एकीकृत भएर आउनुपर्छ, तपाईँहरू काम गर्छु भनेर आउनुहोस्, हामी बजेट दिन्छौँ”, उनको भनाइ छ। आफ्ना अधिकारका विषयमा खुलेर बोल्न आग्रह गर्दै हरेक कार्यक्रममा सहभागी हुँदा भत्ता र खाजाभन्दा पनि ज्ञान र सीप सिक्नेतर्फ ध्यान दिन वडाध्यक्ष सिलवालले आग्रह गरे ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x