सबै स्थानीय तहमा पुनःस्थापना कोष स्थापना हुने

ज्ञानमाण्डू।महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणमा उच्च प्राथमिकता दिएको छ । यसका लागि मन्त्रालयले अन्तरमन्त्रालय समन्वयमा शहरी र ग्रामीण क्षेत्रमा सचेतनामूलक कार्यक्रम सञ्चालन साथै सम्भावित जिल्लाको अध्ययन गरी नाकामा कडाइ गरेको छ । 

मन्त्रालयका प्रवक्ता ज्ञानेन्द्र पौडेलले भारतका विभिन्न स्थानबाट पाँच महिलालाई उद्धार गरी पारिवारिक पुनः मिलन तथा पुनः स्थापना गरेको जानकारी दिए । त्यसै गरी मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय समितिको बैठक बसी पीडित महिलालाई क्षतिपूर्ति प्रदान गरेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण नियमावली २०६५ पहिलो संशोधनका प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पेस गरिसकेको छ । सोही नियमावली अनुसार कानुनी व्यवस्थालाई थप कडाइ र अद्यावधिक गर्ने व्यवस्था गरिएको छ । मन्त्रालयले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी राष्ट्रिय प्रतिवेदन प्रकाशनको तयारी गरिरहेको प्रवक्ता पौडेलले बताए । 

पीडित तथा जोखिममा रहेका वर्गको जीवनस्तर सुधार गर्न सातै प्रदेशमा दीर्घकालीन पुनः स्थापना केन्द्र स्थापना गरी उद्यमशील तथा रोजगार मूलक बनाउने मन्त्रालयको योजना रहेको प्रवक्ता पौडेलले जानकारी दिए । 

मन्त्रालयले जोखिममा रहेकालाई स्थानीय तहमार्फत जीविकोपार्जनका कार्यक्रम सञ्चालन गर्न र पीडितलाई राहत तथा क्षतिपूर्ति दिन सबै प्रदेश तथा स्थानीय तहमा पुनः स्थापना कोषकोसमेत स्थापना गर्ने भएको छ । मन्त्रालयले सार्वजनिक गरेको आगामी कार्य योजनामा भनिएको छ, “ पीडितको तत्काल उद्धार तथा संरक्षण गर्नका लागि सबै स्थानीय तहमा अल्पकालीन पुनः स्थापना केन्द्र स्थापना गर्दै मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐनलाई समयानुकूल संशोधन गरिनेछ ।” मानव बेचबिखन तथा ओसारपसारमुक्त राष्ट्र निर्माण गर्ने मन्त्रालयको ध्येय रहेको छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x