कोरोनाको प्रभाव : पाल्पाली ढाका उद्योगमा

ज्ञानमाण्डू।कोरोना भाइरस सङ्क्रमणको प्रभाव विशेष गरी पाल्पाका ढाका उद्योग, होटेल रेस्टुराँ तथा अन्य व्यवसायमा परेको छ । 

लुम्बिनी र पोखराको बिच भागमा पर्ने जिल्ला सदरमुकाम तानसेनको अहिले सुनसान जस्तै बनेको छ । लुम्बिनी र पोखरा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल रहन्थ्यो । पर्यटक आउने क्रम सुस्त भएसँगै यसको असर व्यवसायमा पुगेको हो । 

विशेष गरी पाल्पाली ढाका उद्योग र होटेल व्यवसायमा सो भाइरसको सङ्क्रमणबाट नराम्रो असर परेको सम्बद्ध व्यवसायी बताउँछन् । यहाँको पहिचानका रूपमा प्रख्यात ढाका उद्योगलाई कोरना भाइरसले असर पारेको पाल्पाली ढाका उद्योगी सागर महर्जन बताउँछन् । “कोरनाको सन्त्रासले ढाका उद्योगमा नराम्रो असर पुगेको छ । अहिले व्यापार व्यवसाय कम हुँदै गएको छ”, उनको भनाइ छ । उत्पादन भएका ढाका कपडाका सामग्री बिक्री नहुँदा त्यत्तिकै पसल उद्योगमा समय बिताएर बस्नुपरेको उद्योगी व्यवसायी गुनासो गर्छन् ।

ढाका खरिद गर्नकै लागि पर्यटक यहाँ आउने गर्छन् । तर अहिले भाइरसको सन्त्रासले विदेशी पर्यटकको चहलपहल हराउन थालेको छ । ढाका उद्योगबाट उत्पादित विभिन्न सामग्री कोशेलीका रूपमा लैजाने चलन छ । विदेशी पर्यटकले ठुलो परिमाणमा ढाका कपडा खरिद गर्दा व्यापारीलाई राम्रो आम्दानी गर्ने अवसर हुन्छ । विदेशी पर्यटकको आवागमन नै कम हुन थालेपछि ढाका कपडाको व्यापार व्यवसायमा कमी आएको व्यवसायी मनोज पौडेल बताउँछन् ।

“कोशेलीका रूपमा धेरैजसो ढाका कपडाबाट उत्पादित सामग्री बाह्य पर्यटकले खरिद गर्ने हुँदा व्यवसायी उद्योगीलाई राम्रो आम्दानी आउँछ, कोरोना भाइरसको प्रभावले अहिले व्यापार नै चौपट हुने अवस्थामा छ”, व्यवसायी  पौडेलको भनाइ छ । 

ठुलो लगानीमा उद्योग व्यवसाय सञ्चालन गरेका व्यक्ति व्यापारमा सुस्तता आउँदा मारमा परेका छन् । भाइरसले ढाका उद्योग, होटेल व्यवसायसँगै हस्तकलाका उद्योग, विभिन्न साना तथा ठुला व्यवसाय प्रभावित बनेको छ ।

पर्यटकको बाक्लो उपस्थितिले होटेल रेस्टुराँ भरिभराउ हुन्थे । विगत एक महिनायता सुनसान जस्तै छ । भाइरसका कारण जिल्लाका ठूलासाना सबैजसो उद्योग, व्यापार व्यवसाय प्रभावित बन्न पुगेको उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष एवं होटेल व्यवसायी सङ्घका अध्यक्ष मोहनप्रसाद श्रेष्ठ जानकारी दिए ।

“व्यापार व्यवसाय नै कम भएपछि आयस्रोत नै अत्यन्त न्यून मात्रामा छ, बाह्य पर्यटकले गर्दा ठुला व्यापार व्यवसाय, उद्योगमा सहयोग पुगेको थियो”, अध्यक्ष श्रेष्ठको भनाइ छ । व्यापार कम हुँदा मासिक भाडा तिर्न व्यवसायीलाई समस्या भइसकेको उनले बताए । 

सदरमुकाम तानसेनमा पनि हिजोआज अत्यावश्यक कामकाजका मात्र मानिस पुग्ने गर्छन् । घुमघाम गर्न जाने पर्यटकको चहलपहलले बजार गुञ्जायमान हुन्थ्यो । तर अहिले भने अति आवश्यक कामबाहेकका व्यक्ति कोही नभित्रिँदा सदरमुकामको वातावरण सुनसानमय बनेको छ । तानसेनको टुँडिखेल मैदान, श्रीनगर डाँडा, नेपालको ताजमहलका रूपमा रहेको रानी महल दरबार, भैरव स्थान मन्दिरलगायतका विभिन्न पर्यटकीय तथा धार्मिक क्षेत्रमा पर्यटकको चहलपहल कम छ ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x