
ज्ञानमाण्डू।कोभिड– १९ का कारण पश्चिम नेपालको आर्थिक केन्द्र नेपालगञ्ज प्रभावित भएको छ । यहाँका उद्योग, व्यवसाय र पर्यटन क्षेत्र कोरोनाको सङ्क्रमण नियन्त्रणका लागि लागु गरिएको लकडाउनका कारण ठप्प हुँदा लगानीकर्ता निराश हुन थालेका छन् ।
नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष अब्दुलवाहिद मन्सुरी नेपालगञ्जमा पछिल्लो समयमा ठुला उद्योग स्थापना हुनु बाँकेको आर्थिक विकासका लागि उत्साहजनक रहेको तर कोरोनाका कारण उद्योग क्षेत्रको लगानी खेर जाने हो कि भन्ने चिन्ता व्यक्त गरेका छन् ।
पछिल्लो समय मात्र बाँकेमा उद्योग सञ्चालनका लागि जय अम्बे स्टील, सगरमाथा स्टील इण्डष्ट्रिज, नेपाल वेलहोप एग्रिटेक प्रालि, गोल्डेन गेमिङ्ग इन्टरनेशन क्यासिनो, वर्षा रिसाइक्लिङ्ग इण्डष्ट्रिज, विकास फ्लोर मिल र भिभो मोबाइल नेपाल प्रालिको सर्भिस सेन्टरले उद्योग विभागबाट दर्ता अनुमति लिए । तीमध्ये अधिकांश उद्योग सञ्चालनको प्रक्रियामा छन् ।
पर्यटन क्षेत्रमा उल्लेखनीय वृद्धि भएको छ । सिद्धार्थ समूहको पहिलेदेखि उत्साहजनक लगानी भइरहेका बेला होटेल सोल्टी, सेन्ट्रल प्लाजा, सिटी प्यालेस, सिग्नेट, गोल्डेज ब्लिज जस्ता होटेल भित्रिए । देशकै सबैभन्दा ठुलो सुपरमार्केट भाटभटेनी सञ्चालन भई उत्साहजनक तरिकाले सञ्चालन भइरहेको छ । यसले नेपालगञ्जको चमक बढाएको छ ।
स्थानीयदेखि देशका ठुला र नाम चलेका औद्योगिक समूह लगानी गर्न हौसिएका छन् । ‘राजनीतिक स्थिरता र ऊर्जालगायतका समस्या समाधान भएपछि लगानीको उत्साह थपिएको छ । बाँके औद्योगिक हबका रूपमा विकास भइरहेको छ,’ चुन्नाले भने , ‘तर विश्वभर फैलिएको कोरोना सङ्क्रमणले औद्योगिक क्षेत्रलाई पूर्णरुपमा शिथिल बनाइदियो ।’
बाँके जिल्ला कर्णाली र सुदूरपश्चिम प्रदेशका मुख्य प्रवेशद्वारा भएकाले पछिल्लो समय ठुला लगानीकर्ता आकर्षित भएको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य कृष्णप्रसाद श्रेष्ठले बताए । श्रेष्ठले भने , ‘अहिले उद्योगीलाई कोरोना सङ्क्रमणले नराम्ररी प्रभावित गरिदियो ।’ कर्णाली र सुदूरपश्चिम प्रदेशलाई ध्यानमा राखी सरकारले बाँकेको नौवस्तामा प्रदेश नं ५ कै सबैभन्दा ठुलो औद्योगिक क्षेत्र निर्माणको काम सुरु गरिसकेको छ । यसले आगामी दिनमा नेपालगञ्जलाई आर्थिकरुपमा बलियो बनाउने उत्साह थपेको नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका महासचिव चिरञ्जीवी ओली बताउँछन् ।रासस