
अध्ययनमा कोभिड १९ डेडिकेटेड अस्पताल भनी २५ वटा अस्पतालले मात्र कोभिड १९ सँग सम्बन्धित कार्य सञ्चालन गरेको पाइएको छ । अन्य पाँच अस्पतालले कोभिड १९ सँग सम्बन्धित कार्य नगरेको पाइएको प्रतिवेदनमा उल्लेख छ । चार अस्पतालले गैर कोभिड १९ बिरामीलाई वैकल्पिक अस्पतालमा सार्ने गरेको पाइएको छ । अध्ययनमा डेडिकेटेड अस्पतालमध्ये २० अस्पतालमा सघन उपचार कक्ष र सात अस्पतालमा उच्च परिनिर्भरता कक्ष (एचडियु) रहेको पाइएको छ । ती २० अस्पतालमा २३५सघन उपचार कक्ष र सात अस्पतालमा ९७ कक्ष एचडियु रहेको छ ।
यसैगरी १७ अस्पतालमा ९८ भेन्टिलेटर रहेका छन् । अन्य १३ अस्पतालमा भने भेन्टिलेटर छैन । ती मध्ये १९ अस्पतालले कोभिड १९ को सङ्क्रमण रोकथाम समिति गठन गरेका थिए । अध्ययनमा ९६.७ प्रतिशत अस्पतालले कोभिड १९ व्यवस्थापन समूह, ९३.३ प्रतिशतले कोभिड १९ सम्बोधन योजना बनाएका थिए ।
यस्तै ती अस्पतालमा ७२९ आइसोलेसन र एक हजार ९२६ शय्या रहेका छन् । परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा मेघनाथ धिमालका अनुसार अस्पतालमध्ये एक चौधाई भन्दा बढी (३० प्रतिशत) अस्पतालमा कोभिड १९ को नमूना परीक्षण गर्ने व्यवस्था नरहेको पाइएको छ । यस्तै १३.३ प्रतिशत अस्पतालमा मात्र कोभिड १९– को नमूना सङ्कलनका लागि छुट्टै क्षेत्र तोकिएका छन् ।
तोकिएका अस्पतालमध्ये १० अस्पतालमा मात्र पिसिआर र १७ अस्पतालमा आरडिटी परीक्षणको व्यवस्था रहेको छ । मन्त्रालयले कोभिड १९– को रोकथाम र नियन्त्रणका लागि ९३ वटा अस्पतालमा कोभिड १९ क्लिनिक सञ्चालन गरेको छ । ती मध्ये ५२ वटा क्लिनिकले मात्र २४ सै घण्टा सेवा उपलब्ध गराएको अनुसन्धानका क्रममा देखिएको परिषद्का वरिष्ठ अनुसन्धान अधिकृत डा धिमालले बताए ।
अध्ययनका अनुसार १९ क्लिनिकले मात्र सङ्क्रमण रोकथाम समिति गठन गरेर काम गरिरहेका छन् । ती क्लिनिकलमा १३ हजार ७२४ शय्या, एक हजार १८५ आइसोलेसेन, ३५ क्लिनिकलमा ८०९ सघन उपचार कक्ष र ३१४ भेन्टिलेटर, १० वटा क्लिनिकलमा २७९ एचडियु सुविधा रहेको छ । यस्तै अध्ययनले सबै क्लिनिकले कोभिड १९–बाहेकका बिरामीको लागि आकस्मिक सेवा भने उपलब्ध गराएका छन् ।रासस