सानिगाड हाइड्रोको आइपिओ आज देखि सर्वसाधारणका लागि खुला


सानिगाड हाइड्रो लिमिटेडले आज जेठ १८ गतेदेखि सर्वसाधारणका लागि प्राथमिक शेयर (आइपिओ) बिक्री खुला गरेको छ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्टाइएको शेयर वितरण सम्पन्न भएपछि बाँकी शेयर सर्वसाधारणमा निष्कासन गरिएको हो।

कम्पनीले २ अर्ब ८५ करोड रुपैयाँ जारी पुँजीको ३० प्रतिशत बराबर ८५ लाख ५० हजार कित्ता आइपिओ निष्कासन गर्ने अनुमति पाएको छ। यसमध्ये स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषका लागि छुट्टाइएको हिस्सा बाँडफाँट भइसकेको छ।

अब सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका ४६ लाख ७४ हजार कित्ता शेयर बिक्रीमा ल्याइएको छ। यस निष्कासनबाट कम्पनीले ४६ करोड ७४ लाख रुपैयाँ बराबरको पुँजी सङ्कलन गर्ने लक्ष्य राखेको छ।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्म आवेदन दिन सक्नेछन्। छिट्टै पूर्ण आवेदन परेमा बिक्री प्रक्रिया जेठ २१ गतेमै बन्द हुनेछ भने माग अपुग भएमा असार १ गतेसम्म आवेदन खुला रहने कम्पनीले जनाएको छ।

कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमताको मूल्याङ्कन गर्दै इक्रा नेपालले ‘डबल बी माइनस’ (BB-) रेटिङ प्रदान गरेको छ। उक्त रेटिङले कम्पनीमा मध्यम स्तरको लगानी जोखिम रहेको सङ्केत गर्छ।

सो कम्पनीको धिताेपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटल लिमिटेडले रहेको छ । इच्छुक लगानीकर्ताले आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्था वा ‘मेरो शेयर’ मार्फत सी–आस्बा प्रणाली प्रयोग गरी आवेदन दिन सक्नेछन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x