ज्ञानमाण्डू। नेपाल उद्योग वाणिज्य महासङ्घको वरिष्ठ उपाध्यक्षमा व्यवसायी चन्द्रप्रसाद ढकाल निर्वाचित हुनुभएको छ । आज बिहान सम्पन्न मतगणनामा ढकालले आफ्ना प्रतिद्वन्द्वी किशोर प्रधानलाई पराजित गर्नुभएको हो । महासङ्घको नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन भएको थियो ।
महासङ्घको निर्वाचन समितिका अनुसार विजयी हुनुभएका ढकालले ३० प्रतिशत मत भार रहेको एशोसिएटमा ५२२ मत प्राप्त गर्दा प्रधानले ३७५ मत पाउनुभएको थियो । यस्तै २० प्रतिशत मत भार रहेको वस्तुगतमा ढकालले ५९ मत र प्रधानले ३९ मत प्राप्त गर्नुभयो । त्यसैगरी ५० प्रतिशत मतभार रहेको जिल्ला/नगरतर्फ ढकालले ५२ मत तथा प्रधानले ५३ मत प्राप्त गर्नुभयो ।
निर्वाचन समितिका अनुसार वरिष्ठ उपाध्यक्षमा विजयी ढकालले समग्रमा ५४.२६ प्रतिशत मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी प्रधानले ४५.७४ प्रतिशत मत प्राप्त गर्नुभयो । यो विजयसँगै ढकाल निजी क्षेत्रको छाता सङ्गठन नेपाल उद्योग वाणिज्य महासङ्घको २०औँ अध्यक्ष बन्ने निश्चित भएको छ । महासङ्घको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै आगामी कार्यकालको अध्यक्ष बन्ने व्यवस्था छ । सोही विधानअनुसार हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले अध्यक्षको जिम्मेवारी सम्हाल्दै हुनुहुन्छ ।
वस्तुगततर्फ विजयी हुनुभएका अञ्जन श्रेष्ठले ६२ मत प्राप्त गर्दा उहाँका प्रतिस्पर्धी उमेशलाल प्रधानले ३७ मत पाउनुभयो । जिल्ला नगरतर्फका उपाध्यक्ष दिनेश श्रेष्ठले ५८ मत प्राप्त गरी विजयी हुँदा ढकाल समूहका गुणनिधि तिवारीले ४७ मत प्राप्त गर्नुभयो ।
मतपरिणाम सार्वजनिक भएपछि पत्रकारलाई संक्षिप्त प्रतिक्रिया दिँदै ढकालले अब महासङ्घलाई बलियो र सबल संस्थाको रूपमा अगाडि लैजाने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “अब चुनावसँगै प्यानल पनि सकियो । हामीलाई विश्वास गर्ने सबैलाई धन्यवाद दिन चाहन्छु ।” रासस