डोटीमा आज एकैसाथ आठ अस्पतालको शिलान्यास गरिँदै


 
डोटी, जिल्लामा आज एकैसाथ आठवटा अस्पतालको शिलान्यास गरिने भएको छ । नेपाल सरकारले आज देशभरिका ३९६ अस्पतालको एकै साथ उद्घाटनको तयारी गरेसँगै डोटी जिल्लामा पनि आठ अस्पताल उद्घाटन हुन लागेका हुन् ।

सुदूरपश्चिम प्रदेशस्तरीय सरुवा रोगसम्बन्धी ५० शय्याको अस्पतालसहित जिल्लाका बोगटान फुड्सिल गाउँपालिकाको केदारअखडा प्राथमिक स्वास्थ्य केन्द्र र जोरायल गाउँपालिकाको सरस्वतीनगर प्राथमिक स्वास्थ्य केन्द्रमा १५/१५ शय्याको अस्पताल स्थापना हुने भएको छ । 

जिल्लाको पूर्वीचौकी, केआइसिंह, सायल, बडिकेदार गाउँपालिका र शिखर नगरपालिकामा १०/१० शय्याका अस्पतालको शिलान्यासको तयारी गरिएको जिल्ला स्वास्थ्य कार्यालय डोटीका प्रमुख रमेश मलासीले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लाका विभिन्न स्थानीय तहमा १०/१० शय्याका अस्पताल आज शिलान्यास गरिँदै छ, जसका लागि सबै काम तयारी अवस्थामा छ ।” 

विसं २०३९ मा क्षेत्रीय अस्पतालका लागि जग्गा अधिग्रहण गरिएको दिपायल सिलगढी नगरपालिका–५ ग्वालासैनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले शिलान्यास गर्ने कार्यक्रम तय भएको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिनुभयो । करिब ३८ वर्ष पहिले अस्पताल निर्माणका लागि जग्गा अधिग्रहण गरिएको उक्त क्षेत्रमा रााजनीतिक खिचातानीका कारण अस्पताल बन्न सकेको थिएन ।

सरुवा रोगसम्बन्धी अस्पताल यहाँका तराईका जिल्लामा स्थापनाका लागि त्यहाँका राजनीतिक दलका नेताले विभिन्न प्रयास गरे पनि अन्ततः डोटीमा उक्त अस्पताल स्थापना हुने भएपछि यहाँका स्थानीयवासी निकै खुशी भएको दिपायल सिलगढी नगरपालिका–४ पिपल्लाका समाजसेवी धनबहादुर शाहीले बताउनुभयो । उहाँले भन्नुभयो, “सरुवा रोगसम्बन्धी अस्पताल तराईका जिल्लामा बनाउने नेताबीच निकै खिचातानी थियो, अन्ततः हाम्रो जिल्लामा बन्ने भयो यसैमा हामी खुशी छौँ ।” रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

Directories

Categories

Telecom
ISP
Commecial Banks
Colleges
ad x