नेपाल लाइफ, नेशनल र लाइफ इन्स्योरेन्स कर्पोरेशनलाई वित्तीय क्षमताका आधारमा दाँजेर हेर्दा



ज्ञानमाण्डू। नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल विगत लामो समय देखि नेपालमा आफ्नो बीमा सेवा प्रदान गर्दै आइरहेका जीवन बीमा कम्पनीहरू हुन्। व्यापार विस्तारमा निकै आक्रामक यी तिन जीवन बीमा कम्पनीहरूले नेप्सेमा सूचिकृत भई वार्षिक प्रतिफल आफ्ना शेयरधनीहरु माझ वितरण गर्दै आएको पनि झन्डै एक दशक हुन लागेको छ।

विगत लामो समय देखि जीवन बीमा कम्पनीहरू मध्ये अग्रसर नेपाल लाइफ, व्यापार विस्तारमा निकै आक्रामक नेशनल लाइफ र यी दुई जीवन बीमा कम्पनीलाई टक्कर दिने लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाललाई चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा प्रकाशित अपरिष्कृत वित्तीय विवरणको उपलब्ध तथ्याङ्कका आधारमा एक आपसमा तुलना गर्ने प्रयास यहाँ गरिएको छ ।



चुक्ता पुँजीको आधारमा : तुलनात्मक रूपमा हेर्दा यी तिन इन्स्योरेन्सहरु मध्ये नेपाल लाइफको चुक्ता पुँजी सर्वाधिक रहेको छ। चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा नेपाल लाइफको चुक्ता पुँजी ७ अर्ब १९ करोड रहेको छ। सोही अवधिमा नेशनल लाइफको चुक्ता पुँजी ३ अर्ब ३९ करोड रहेको देख्न सकिन्छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशनको चुक्ता पुँजी २ अर्ब २१ करोड रहेको देखिन्छ ।

समीक्षा अवधिमा नेपाल लाइफको चुक्ता पुँजी ३१ प्रतिशतले वृद्धि भएको छ भने नेशनल लाइफ र लाइफ इन्स्योरेन्स कर्पोरेशन दुवैको चुक्ता पुँजी समान दश प्रतिशतले वृद्धि भएको छ।

जगेडा कोषको आधारमा : चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेशनल लाइफको जगेडामा ९६ करोड ५ लाख सञ्चित छ भने नेपाल लाइफको जगेडा कोषमा ८६ करोड ९६ लाख सञ्चित छ । सोही अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेशनको जगेडा कोषमा ६६ करोड ८९ लाख सञ्चित रहेको छ।

समीक्षा अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेशनको जगेडा कोष १६.०८ प्रतिशतले वृद्धि हुँदा नेशनल लाइफको जगेडा कोष १५ दशमलव ९४ प्रतिशतले घटेको छ भने नेपाल लाइफको जगेडा कोष ७६ दशमलव २९ प्रतिशतले घटेको छ ।

जीवन बीमा कोष : इन्स्योरेन्सहरुले प्रकाशित तथ्याङ्क अनुसार समीक्षा अवधिमा सर्वाधिक जीवन बीमा कोष नेपाल लाइफको रहेको छ। नेपाल लाइफको जीवन बीमा कोषमा १ खर्ब १८ अर्ब रहेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशनको जीवन बीमा कोषमा ८३ अर्ब ४० करोड रहेको छ। सोही अवधिमा नेशनल लाइफको जीवन बीमा कोष ४४ अर्ब ८९ करोडको रहेको छ। 

समीक्षा अवधिमा नेपाल लाइफको जीवन बीमा कोष २५ दशमलव २५ प्रतिशतले वृद्धि हुँदा नेशनल लाइफको २४ दशमलव ९० प्रतिशतले वृद्धि भएको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशनको जीवन बीमा कोष १७.९१ प्रतिशतले वृद्धि भएको छ । जीवन बीमा कम्पनीहरूको लागि जीवन बीमा कोषको निकै महत्त्व रहेको हुन्छ ।

महाविपत्ति कोष : चालु आर्थिक वर्षको पहिलो त्रैमासमा नेपाल लाइफको महाविपत्ति कोषको आकार अन्य दुई इन्स्योरेन्सको तुलनामा ठुलो रहेको छ। नेपाल लाइफको महाविपत्ति कोषमा ६३ करोड १३ लाख सञ्चित छ भने नेशनल लाइफको महाविपत्ति कोषमा ३० करोड ६५ लाख सञ्चित छ। सोही अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेशनको महाविपत्ति कोष २६ करोड ७३ लाखको रहेको छ।

खुद बीमा शुल्क आर्जन : तुलनात्मक रूपमा हेर्दा चालु आर्थिक वर्षको प्रथम तीन महिनामा नेपाल लाइफको खुद बीमा शुल्क आर्जन सर्वाधिक रहेको छ। गत आ.व.को सोही अवधिको तुलनामा ९.२१ प्रतिशतले वृद्धि हुँदै नेपाल लाइफको खुद बीमा शुल्क आर्जन ९ अर्ब ७४ करोड पुगेको छ। त्यस्तै, समीक्षा अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेशनको खुद बीमा शुल्क आर्जन ३.८९ प्रतिशतले वृद्धि भई ५ अर्ब २२ करोड कायम हुँदा नेशनल लाइफको खुद बीमा शुल्क आर्जन २३.०१ प्रतिशतले वृद्धि हुँदै ३ अर्ब ४४ करोड पुगेको छ।

खुद मुनाफा : चालु आर्थिक वर्षको प्रथम तीन महिनामा तुलना गरिएका सबै जीवन बीमा कम्पनीको नाफामा गिरावट आएको छ। गत आ.व.को सोही अवधिको तुलनामा नेपाल लाइफको खुद मुनाफा ९६ दशमलव ९३ प्रतिशतले घट्दै ७० लाख ३३ हजार पुगेको छ भने नेशनल लाइफको खुद मुनाफा २६ दशमलव ७२ प्रतिशतले घट्दै ८ करोड ६७ लाख पुगेको छ। यता, लाइफ इन्स्योरेन्स कर्पोरेशनको खुद मुनाफा ४४ दशमलव ९ प्रतिशतले घट्दै ३ करोड १९ लाख पुगेको छ।

यद्यपि, जीवन बीमा कम्पनीहरूको हकमा भने एक्चुअरी मूल्याङ्कन हुन बाँकी रहेको हुँदा खुद मुनाफा एक्चुअरी मूल्याङ्कन पश्चात् मात्र वास्तविक आउने छ ।

बीमा लेख सङ्ख्या : समीक्षा अवधिमा नेपाल लाइफ इन्स्योरेन्सको कायम बीमालेख सङ्ख्या अन्य दुईको भन्दा धेरै रहेको छ। नेपाल लाइफको कुल कायम बीमा लेख सङ्ख्या १३ लाख ९३ हजार २५८ छ। यस अवधिमा नेशनल लाइफको कुल कायम बीमा लेख सङ्ख्या ९ लाख ७० हजार ४९४ रहेको छ भने लाइफ इन्स्योरेन्स कर्पोरेशनको कुल कायम बीमा लेख सङ्ख्या ७ लाख ५० हजार ४१५ रहेको छ।

प्रति शेयर आम्दानी : चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमासमा आइपुग्दा नेपाल लाइफको वार्षिक प्रति शेयर आम्दानी शून्य रुपैयाँ ३९ पैसा छ भने नेशनल लाइफको वार्षिक प्रति शेयर आम्दानी १० रुपैयाँ २३ पैसा छ। सोही अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेशनको प्रति शेयर आम्दानी १ रुपैंया ४४ पैसा रहेको छ।

किताबी मूल्य : समीक्षा अवधिमा लाइफ इन्स्योरेन्स कर्पोरेशनको किताबी मूल्य अन्य दुईको भन्दा धेरै रहेको छ। उक्त इन्स्योरेन्सको किताबी मूल्य १४२ रुपैंया ०७ पैसा रहेको छ। त्यस्तै, सोही अवधिमा नेशनल लाइफको किताबी मूल्य १३६ रुपैयाँ ८९ पैसा छ भने नेपाल लाइफको किताबी मूल्य १२० रुपैंया ८५ पैसा रहेको छ।

अस्वीकरण: सार्वजनिक रूपमा उपलब्ध तथ्याङ्कबाट गरिएको यो विश्लेषण शैक्षिक उद्देश्यको लागि मात्र हो। यस पोस्टको सामग्री स्टक ट्रेडिंग उद्देश्यको लागि सख्त रूपमा निषेध गरिएको छ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बीमा सूचना

ad x