ज्ञानमाण्डू। ग्लोबल आइएमई बैङ्क लिमिटेडले डिजिटल बैंकिङ्ग सेवाको विस्तार र प्रोत्साहनको लागि देशव्यापी वित्तीय साक्षरता अभियानअन्तर्गत डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । सातै प्रदेशका गाउँदेखि सहर सम्म डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रमहरू आयोजना गर्ने लक्षसहित सुरु भएको अभियानले हालसम्म ७ वटै प्रदेशमा डिजिटल बैंंकिङ्ग साक्षरता कार्यक्रमहरू आयोजना गरिसकेको बैङ्कले जानकारी दिएको छ ।

देशव्यापी वित्तीय साक्षरता अभियान अन्तर्गत ग्लोबल आइएमई बैङ्कले काठमाडौँ उपत्यकाको बालाजु स्थित बालाजी व्याङ्क्वेटमा डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रम सफलताका साथ समापन गरेको छ । उक्त कार्यक्रममा ग्लोबल आइएमई बैङ्कका विभिन्न शाखाका प्रतिनिधि, डिजिटल बैंकिङ्गका बारे बुझ्न निकै उत्साहित ग्राहक वर्ग र अन्य प्रतिष्ठित व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
बैंकिङ्ग सेवा कम समयमै छिटो तथा छरितो र घरमै बसेर पनि सेवा लिन पाउने सहजताको लागि यस्ता कार्यक्रमहरू देशव्यापी अभियानको रूपमा चलिरहेको बैङ्कका बालाजु शाखा प्रमुख विमला ढकाल ज्ञवालीले बताइन् ।

स्थानीय तहसम्मै डिजिटल वित्तीय चेतना तथा पहुँच पुर्याउने उद्देश्यका साथ यस अभियानका लागि बैङ्कले ७६ जिल्लामा रहेका आफ्ना २८७ शाखा कार्यालय, केन्द्रीय र प्रादेशिक कार्यालयलाई समेत परिचालन गरेकाे र यस डिजिटल बैंकिङ्ग साक्षरता कार्यक्रमले ग्राहक तथा स्थानीयवासीलाई डिजिटल बैंकिङ्गकाे प्रयाेग गर्न थप प्राेत्साहन गर्ने कुरा कार्यक्रममा उल्लेख गरिएको थियाे ।

आजको समयमा डिजिटल बैंकिङ्ग अपरिहार्य रहेको तथा मूलधारका वित्तीय माध्यमहरूलाई डिजिटल माध्यमले विस्थापित गर्दै जाने हुनाले डिजिटल बैंकिङ्गको प्रयोग र यसका फाइदाहरूको बारेमा सर्वसाधारणसमक्ष जानकारी पुर्याउनु जरुरी रहेको विषयमा कार्यक्रममा उपस्थित बैङ्कका प्रतिनिधिहरुले प्रकाश पारेका थिए ।
