ज्ञानमाण्डू। केन्द्रीय बैङ्कले सार्वजनिक गरेको तथ्याङ्क अनुसार वैदेशिक रोजगारीका लागि गएका नेपालीहरूले पठाउने विप्रेषण आप्रवाह (रेमिटेन्स) चालु आर्थिक वर्षको मङ्सिर सम्मको अवधिमा ६.८ प्रतिशतले घटेर जम्मा ३ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ कायम भएको छ भने मङ्सिर महिनामा ७६ अर्ब रेमिटेन्स थप भित्रिएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने विप्रेषण आप्रवाह ११ प्रतिशतले वृद्धि भएको थियो ।
नेपाल राष्ट्र बैङ्कका अनुसार चालु आर्थिक वर्षको श्रावण महिनामा रेमिटेन्स आप्रवाह ७५ अर्ब ९६ करोड रुपैयाँ, भदौमा करिब ८० अर्बले थप भई १ खर्ब ५५ अर्ब ३७ करोड रुपैयाँ, असोजमा करिब ८४ अर्बले थप भई २ खर्ब ३९ अर्ब ३२ करोड रुपैयाँ, कात्तिकमा करिब ७३ अर्बले थप भई ३ खर्ब १२ अर्ब ४२ करोड रुपैयाँ र मङ्सिरमा करिब ७६ अर्बले थप भई ३ खर्ब ८८ अर्ब ५८ करोड रुपैयाँ रेमिटेन्स भित्रिएता पनि गत आर्थिक वर्षको सोही अवधिको तुलनामा विप्रेषण आप्रवाहमा ६.८ प्रतिशतले कमी आएको तथ्याङ्कले देखाएको थियो ।
चालु आर्थिक वर्षको मङ्सिर अन्त्यसम्म आइपुग्दा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ७.३ प्रतिशतले कमी आई ३ अर्ब २६ करोड पुगेको नेपाल राष्ट्र बैङ्कले जनाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह ६.४ प्रतिशतले बढेको थियो ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको सङ्ख्या उल्लेख्य रूपमा वृद्धि भई १३१,०८२ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ९२.७ प्रतिशतले घटेको थियो । त्यसै गरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा अवधिमान २९५.८ प्रतिशतले वृद्धि भई ९९,५८० पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो सङ्ख्या ७७.३ प्रतिशतले घटेको थियो ।
समीक्षा अवधिमा खुद ट्रान्सफर ५.७ प्रतिशतले कमी आई ४३३ अर्ब ९२ करोड रुपैयाँ कायम भएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर ८.५ प्रतिशतले बढेको थियो।
स्रोत: नेपाल राष्ट्र बैङ्क