आशुतोष इनर्जीको आइपिओ मङ्सिर १४ गतेदेखि खुल्ने, स्थानीय र वैदेशिक रोजगारीमा रहेकाले आवेदन दिन सक्ने


आशुतोष इनर्जी लिमिटेडले मङ्सिर १४ गतेदेखि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) जारी गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्न लागेको हो।

कम्पनीले आफ्नो जारी पुँजी ६० करोड रुपैयाँको २० प्रतिशत अर्थात् १२ करोड रुपैयाँ बराबरको १२ लाख कित्ता आइपिओ निष्कासन गर्न अनुमति पाएको छ। त्यसमध्ये प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यका ६ लाख कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि छुट्टाइएको छ।

स्थानीय बासिन्दाका लागि छुट्टाइएको सेयरमध्ये ३ लाख कित्ता अति प्रभावित क्षेत्रका बासिन्दालाई वितरण गरिनेछ। यसअन्तर्गत लमजुङ जिल्लाको दूध पोखरी गाउँपालिका वडा नम्बर १ र २ तथा गोरखा जिल्लाको अजिरकोट गाउँपालिका वडा नम्बर २ र ३ का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन्।

बाँकी ३ लाख कित्ता सेयर अति प्रभावित क्षेत्रबाहेक दूध पोखरी गाउँपालिका, दोर्दी गाउँपालिका तथा अजिरकोट गाउँपालिकाका स्थायी बासिन्दालाई वितरण गरिनेछ।

त्यस्तै, सर्वसाधारणका लागि छुट्टाइएको सेयरमध्ये १० प्रतिशत अर्थात् ६० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिनेछ। यसका लागि नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीले आवेदन दिन सक्नेछन्।

आइपिओमा न्यूनतम १० कित्ता र अधिकतम २० हजार कित्ताका लागि आवेदन दिन सकिनेछ। आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले छिटोमा मङ्सिर २८ गते र ढिलोमा पुस १४ गतेसम्म आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा मङ्सिर १७ गते र ढिलोमा मङ्सिर २८ गतेसम्म आवेदन खुला रहनेछ।

कम्पनीको आईपीओलाई इक्रा नेपालले ‘इक्राएनपी इस्यूअर रेटिङ ट्रिपल बी माइनस’ प्रदान गरेको छ। यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृति प्राप्त सी–आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्था र तिनका तोकिएका शाखा कार्यालयमार्फत आवेदन दिन सक्नेछन्। साथै, सी–आस्बा प्रणाली प्रयोग गरी मेरो सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ।

आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाले सी–आस्बा सदस्य बैङ्क तथा वित्तीय संस्थाका तोकिएका शाखा, आयोजना कार्यालय तथा ग्लोबल आइएमई बैङ्कको दोर्दी शाखा, हिमालयन बैङ्कको गौडा शाखा, राष्ट्रिय वाणिज्य बैङ्कको भच्चेक शाखा र एनएमबि बैङ्कको बेसीशहर शाखाबाट आवेदन दिन सक्नेछन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

ad x