स्वदेशमै रोजगारीको अवसर खोजी गर्न मेला आयोजना गरिएको हो, अध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासङ्घले काठमाडौँमा पहिलो पटक रोजगार मेला आयोजना गरेको र यसले कामको खोजीमा रहेका युवाहरूलाई प्रमुख कम्पनीहरूमार्फत कामको अवसर जुटाई दिन सहयोग पुर्‍याउने बताउनु भएको छ ।

महासङ्घले आयोजना गरेको उक्त मेलाले नयाँ अवसरहरूको खोजी गर्न सघाउनुका साथै आवश्यक सिप पहिचान सहित युवा जनशक्तिलाई स्वदेशमै काम गर्ने वातावरण बनाउने उहाँको भनाई छ । ‘रोजगार मेला हाम्रो पहिलो प्रयास हो । यसलाई सफल पार्न यहाँहरू सबैको उत्तिकै सहयोग र मेहनतको अपेक्षा हामीले गरेका छौँ,’ उनले भने, ‘महासङ्घले नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय र आइएलओको सहयोगमा यो कार्यक्रम आयोजना गर्न पाएकोमा हामीलाई निकै खुसी लागेको छ ।’

निजी क्षेत्र मुलुकको अर्थतन्त्रको एक अभिन्न अङ्ग भएको बताउँदै अर्थतन्त्रमा निजी क्षेत्रको योगदानका विषयमा महासङ्घले अन्तर्राष्ट्रिय वित्त निगमसँग मिलेर केही दिन अघि मात्रै अति नै महत्त्वपूर्ण प्रतिवेदन सार्वजनिक गरेको जानकारी दिनुभयो । ‘हामीले निजी क्षेत्रको सम्मानको विषय सुरुदेखि नै उठाइरहेका छौ,’ उनले भने, ‘निजी क्षेत्र किन सम्मानित हुनुपर्छ भन्ने कुरालाई उक्त प्रतिवेदनले पुष्टि गरेको छ ।’ साथै अध्ययन प्रतिवेदनले मुलुकको अर्थतन्त्रमा निजी क्षेत्रको योगदान ८१ प्रतिशत भन्दा बढी रहेको देखाएको जानकारी दिँदै ८५ प्रतिशत रोजगारी निजी क्षेत्रले प्रदान गरेको बताउनुभयो।

केही वर्ष यता विभिन्न कारण निजी क्षेत्रले सहजरुपमा काम गर्न नपाउँदा उद्योग व्यवसाय विस्तार हुन नसक्नुका साथै भएका उद्योग व्यवसाय पूर्ण रूपमा सञ्चालन हुन नसकेको उहाँको भनाई थियो । जसले गर्दा रोजगारीमा ठुलो प्रभाव पर्दा कामका लागि बिदेसिनेको सङ्ख्या ह्वात्तै बढ्यो । नेपालमा दक्ष जनशक्ति नपाउँदा उद्योग व्यवसायमा भारत लगायतका देशबाट कामदार ल्याउनु परेको उहाँले जानकारी दिनुभयो ।

अबका दिनमा महासङ्घले उक्त समस्या संवोधन गर्ने प्रयासको थालनी गरिसकेको बताउँदै त्यसका लागि उद्योगहरूको आवश्यकता अनुसारको कार्यस्थलमा आधारित सिप विकास तालीम सुरु गरिसकेको उहाँले जानकारी दिनुभयो । त्यसैका लागि कामको खोजीमा रहेका युवाहरू र काम गर्ने जनशक्ति खोजी रहेका उद्योग व्यवसाय कम्पनीहरूलाई एकै ठाउँमा भेला गराएर रोजगारदाताको आवश्यकता अनुसारको जनशक्ति उपलब्ध गराई दिने रोजगार मेलाको सुरुवात गरिएको उहाँको भनाई थियो ।

यसअघि महासङ्घले आइएलओको सहयोग र स्थानीय सदस्य उद्योग वाणिज्य सङ्घहरूको सहकार्यमा केही दिन अघि मात्र वीरगन्ज र बुटवलमा रोजगार मेला सम्पन्न थियो । महासङ्घको यी सबै प्रयासमा आईएलओको निकै ठुलो सहयोग र दरिलो साथ रहेको छ । साथै रोजगार मेलाहरूको आयोजनाबाट मुलुकभित्र काम खोजी रहेका जनशक्तिको तथ्याङ्क र उद्योग व्यवसायले खोजी रहेको जनशक्ति तथ्याङ्क पत्ता लगाउन सहयोग गर्नुका साथै  यस्ता कार्यक्रमले राष्ट्रलाई नै ठुलो सहयोग पुर्‍याउने अध्यक्ष ढकालले जानकारी दिनुभयो ।

महासङ्घले काठमाडौँमा आयोजना गरेको मेलाले जनशक्तिको अवस्था,उद्योग प्रतिष्ठानहरूले खोजेको जनशक्ति र जनशक्ति विकासमा गर्नुपर्ने तयारी लगायतका विषयमा आगामी योजना तथा कार्यक्रम बनाउन समेत थप सहयोग ढकालले बताउनु भयो। ‘मुलुककै प्रमुख समस्याको रूपमा रहेको सिपयुक्त जनशक्तिको अभावलाई संवोधन गर्न स्वदेशी उद्योगधन्दाका लागि आवश्यक जनशक्ति विकास गर्ने हाम्रो अभियानलाई सफलरुपमा दिशा निर्दिष्ट गर्न आजको कार्यक्रम फलदायी हुने मैले ठानेको छु’ उहाँले भन्नुभयो, ‘त्यसका लागि महासङ्घले वर्तमान आर्थिक सङ्कट समाधानको रणनीति तयार गर्ने, लगानीको वातावरण बनाउने, राज्य र निजी क्षेत्र बिचको साझेदारी सुदृढ गर्ने, दक्ष जनशक्ति उत्पादन र रोजगारी सृजना गर्ने, व्यवसायीहरूको मनोबल उच्च बनाउन राज्यको मर्यादाक्रममा निजी क्षेत्रको स्थान निर्धारण गर्ने कार्यक्रम अघि बढाएको छ ।’

रोजगार मेलाको मुख्य थिम नै कनेक्टिङ डट्स अफ युअर फ्युचर भनेर राखेका बताउँदै यसले युवाहरूको भविष्यको चाहना र अपेक्षाका विन्दुहरूलाई जोड्ने बताउनु भयो । साथै आगामी दिनमा महासङ्घका सदस्यहरूको सहयोग र सहकार्यमा मेलालाई क्यालेन्डर इभेन्टको रूपमा समेत अगाडी बढाइने उहाँले जानकारी दिनुभयो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x