आइएमई बन्यो नेपालको पहिलो पब्लिक रेमिटेन्स कम्पनी

कम्पनीलाई आइपीओमा लैजाने प्रस्ताव पारित गर्दै आइएमईको २२औँ साधारण सभा सम्पन्न भएको छ ।
 
नेपालको पहिलो एवम् नेतृत्वदायी रेमिटेन्स कम्पनी आइएमईले शुक्रबार राजधानी काठमाडौँको लाजिम्पाटस्थित होटल ले हिमालयमा सम्पन्न गरेको २२ औँ साधारण सभाले उक्त प्रस्ताव पारित गरेको हो । यो सँगै आइएमईलाई नेपालको पहिलो पब्लिक रेमिटेन्स कम्पनीको परिचय पनि थपिएको छ ।

साधारण सभामा संक्षिप्त मन्तव्य दिँदै आइएमई ग्रुपका अध्यक्ष एवम् संस्थापक चन्द्रप्रसाद ढकालले आजभन्दा २३ वर्ष अघि निजी क्षेत्रबाट विदेशी मुद्रा नेपाल भित्र्याउने कार्य अत्यन्तै कठिन र चुनौतीपूर्ण छ भन्ने धेरै शुभचिन्तकहरूको सुझाव र सल्लाहकै बाबजुद एउटा सानो स्केलमा आइएमई स्थापना भएको स्मरण गर्नुभयो । अध्यक्ष ढकालले आम सेवाग्राहीबिच आइपीओसहित पहिलो पब्लिक रेमिटेन्स कम्पनीको रूपमा आउन पाउँदा अत्यन्तै खुसी लागेको बताउँदै आइएमईको आजसम्मको व्यावसायिक यात्रामा सहयोग गर्नुहुने सवैमा धन्यवाद व्यक्त गर्नुभयो ।


त्यसै गरी कार्यक्रमलाई सम्बोधन गर्दै आइएमई ग्रुपका सह संस्थापक एवम् प्रबन्ध निर्देशक हेमराज ढकालले विश्व अहिले डिजिटल युगमा प्रवेश गरेको औँल्याउँदै प्रतिस्पर्धी बजारमा कम्पनीलाई अझै ऊर्जावान्, पारदर्शी र व्यावसायिक दायरा फराकिलो बनाउन पब्लिकमा लगिएको बताउनुभयो ।
 
साधारण सभालाई ग्रुपका सिनियर भाइस प्रेसिडेन्ट एवम् आइएमईका सञ्चालक सुमन पोखरेल र ग्रुपका वित्त निर्देशक दीपक शर्माले शुभकामना व्यक्त गर्नुभएको थियो ।

अब नेपालको सबैभन्दा ठुलो रेमिटेन्स कम्पनी आइएमई लिमिटेडले सर्वसाधारणका लागि प्राथमिक सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले शीघ्र आइपीओ निष्कासन गर्ने आइएमईका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेलले बताउनुभयो ।
 
साे प्रक्रियाका लागि कम्पनीले सेयर निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गरी नियामक धितोपत्र बोर्डमा निवेदन दिने कम्पनीले बताएकाे छ । सम्बन्धित नियामक निकायबाट स्वीकृत प्राप्त हुनासाथ साे प्रक्रिया अगाडी बढ्ने कम्पनीले जनाएकाे छ ।
 
रेमिटेन्स समाधान प्रदायकहरू मध्येको अग्रणी आइएमई स्थापना भएको दुई दशकभन्दा बढी भइसकेको छ । आइएमईले विश्वभर विश्व–स्तरीय मनी ट्रान्सफर सेवाहरू प्रदान गर्दछ । आइएमईको विश्वव्यापी पहुँचका कारण विश्वका दुई सयभन्दा बढी देशहरूबाट मुलुकमा विप्रेषण भित्रिने गर्छ ।

आइएमईको इतिहास :-
नेपालको केन्द्रीय बैंक नेपाल राष्ट्र बैंक र बैंक नेगारा मलेसियाबाट इजाजत प्राप्त आइएमई सन् २००१ मा आजकै दिन स्थापना भएको हो । सानो स्केलमा फ्याक्स मेसिनको सहायताबाट सेवाको शुुरुवात गरेको आइएमईले वित्तीय पहुँचबाट टाढा रहेका नेपाली नागरिकलाई रेमिटेन्सको माध्यमबाट वित्तीय पहुँच स्थापित गराउन सहयोगी भूमिका खेल्दै आएको छ । अन्तर्राष्ट्रिय स्तरको रेमिटेन्स सेवामा नेपाली लगानी र ब्रान्डका लागि आइएमईले आफ्नो एउटा अलग र विशिष्ट पहिचान बनाएको छ ।
 
तत्कालीन समयमा वैदेशिक रोजगारीमा गएका नेपालीहरूले दुखले आर्जन गरेको रकम नेपालमा रहेका आफन्तसम्म पुर्‍याउनका लागि औपचारिक माध्यमको ठुलो अभाव थियो । औपचारिक प्रणालीमार्फत स्वदेश रकम भित्र्याउने कार्य निक्कै जोखिमयुक्त र चुनौतीपूर्ण थियो । त्यस्तो चुनौतीलाई चिरेर स्थापना भएको आइएमई आज २२ वर्षमा प्रवेश गरेको छ ।
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x