नेपालमा लगानीका लागि आग्रह गर्दै ग्लोबल आइएमई बैंकद्वारा दक्षिण कोरियाको सिओलमा अन्तर्क्रिया कार्यक्रम आयोजना


ज्ञानमाण्डू। नेपालमा लगानी गर्न दक्षिण कोरिया सरकार, निजी क्षेत्र र त्यहाँ रहेका नेपालीहरूलाई आग्रह गर्दै ग्लोबल आइएमई बैंक लिमिटेड र ग्लोबल मनि एक्सप्रेसले दक्षिण कोरियाको राजधानी सिओलमा अन्तर्क्रिया कार्यक्रमको आयोजना गरेका छन् ।

कार्यक्रममा ग्लोबल आइएमई बैंकले दक्षिण कोरियाको राजधानी सिओलमा शाखा सञ्चालन गर्न प्रक्रिया अगाडि बढाएको बताउँदै नेपाली बैंकमा विदेशी मुद्रामा खाता सञ्चालन नेपालीहरूलाई आग्रह समेत गरिएको थियो ।

उक्त कार्यक्रममा बोल्दै अर्थमन्त्री जनार्दन शर्माले विदेशी मुद्रा सञ्चित घटेको अहिलेको समयमा मुलुकको अर्थतन्त्र बचाउन प्रत्यक्ष वैदेशिक लगानी र रेमिट्यान्सको अत्यन्तै ठुलो महत्त्व रहेको बताउनुभएको छ ।

अर्थमन्त्री शर्माले कोरियामा रहेका गैर आवासीय नेपालीहरूलाई नेपालमा लगानी गर्न र वैदेशिक लगानी भित्र्याउन सहजीकरण गर्न आग्रह गर्नुभएको छ ।

“मुलुकमा अहिले विदेशी मुद्राको सञ्चित घटेको छ । बैंक तथा वित्तीय क्षेत्रमा लगानी योग्य पुँजीको अभाव रहेको छ । अहिलेको यस विषम परिस्थितिमा नेपालमा विदेशी लगानी भित्र्याउन र नेपाली बैंकमा विदेशी मुद्रामा खाता खोली औपचारिक बैंकिङ्ग प्रणालीबाट रेमिटेन्स भित्र्याउन तपाईँहरूले सहजीकरण गर्नुपर्यो,” उहाँले भन्नुभयो ।

द्रुत आर्थिक विकास र सम्मृद्धिको लागि नेपाललाई स्वदेशी पुँजीका साथसाथै ठुलो मात्रामा वैदेशिक लगानीको आवश्यकता रहेको बताउँदै उहाँले कोरियामा रहेका नेपालीहरूलाई मुलुकमा वैदेशिक लगानी र नयाँ नयाँ प्रविधि भित्र्याउन पहल गर्न आग्रह गर्नुभयो ।

कोरियामा ग्लोबल आइएमई बैंकले शाखा स्थापनाको प्रक्रिया अगाडि बढाएकोमा खुसी व्यक्त गर्दै अर्थमन्त्री शर्माले विदेशी मुद्राको सञ्चित घटेको अहिलेको परिवेशमा विश्वका विभिन्न मुलुकहरूमा रहेका नेपालीहरूलाई नेपाली बैंकमा विदेशी मुद्रा खाता सञ्चालन कालागि प्रोत्साहन गर्दै कार्यक्रम गर्ने र विदेशमा नेपाली बैंकको आफ्नै शाखा खोल्न प्रक्रिया सुरु गरेकोमा ग्लोबल आइएमई बैंकलाई धन्यवाद दिनुभएको छ ।

नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैर आवासीय नेपालीहरूलाई ढुक्क भएर नेपालमा लगानी गर्न र नेपाली बैंकमा विदेशी मुद्रामा खाता सञ्चालन गर्न आग्रह गर्नुभएको छ ।

“म यहाँका गैर आवासीय नेपालीसाथीहरु तथा गैर आवासीय नेपाली सङ्घलाई पनि अनुरोध गर्न चाहन्छु, आउनुहोस्, तपाई हामी हातेमालो गरेर अगाडि बढाैँ । तपाई हाम्रो सहकार्य र हातेमालोबाट नै मुलुकको समृद्धि सम्भव छ । नेपालमा प्रविधि र लगानी भित्र्याउन तपाईँहरूले सहयोग गर्नुहोस् । नेपालभित्र लगानीमैत्री वातावरण बनाउँदै तपाईँहरूको लगानीको सुरक्षा गर्न हामी तयार छौँ,” उहाँले भन्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x