बढा दशैं नेपालीहरूको महान् पर्वको रूपमा मनाइने प्रचलन छ। तर बढा दशैंको अवसरमा नेपालका विभिन्न स्थानमा विभिन्न तरिकाले मनाउने परम्परा रहँदै आएको छ। यस्तै परम्पराको कुरा गर्दा मध्य पहाडी जिल्ला प्युठान, गुल्मी, अर्घाखाँची, पाल्पा लगायत का क्षेत्रहरूमा नाचिने ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्त्व बोकेको नाच हो सराए नाच।
सराय नाच विजया दशमीको दिन देखि कोजाग्रत पूर्णिमासम्म नाचिने १५ औँ शताब्दीदेखि सुरु भएको नाच हो भन्ने विश्वास गरिन्छ। खुँडा, तरबार, खुकुरी सहितका हतियार प्रदर्शन गर्दै " वाख्खै" शब्द उच्चारण गर्दै हातमा खुकुरी,खुँडा, तरबार, ढाल र लट्ठी लिएर दमाहा, नरसिंह, ट्याम्के, सनही र झ्यालीको तालसँगै नाच्ने चलन रहेको छ। सो नाच भुरेटाकुरे राजाको पालादेखि नै प्रदर्शन हुँदै आइरहेको मान्यता रहेको छ।
रामले रावणलाई पराजित गरी मानव जातिलाई मुक्ति दिलाएको खुसीयालीमा सो नाच प्रदर्शन गर्ने मान्यता एउटा रहेको छ भने अर्को मान्यता अनुसार ५६५ वर्ष अगाडि देखि दानवीय स्वभाव भएका जाट राजालाई मारेको सम्झना मा पनि यसको प्रदर्शन हुने किंवदन्तीहरू पनि रहेको पाइन्छ। ती राजा निकै क्रूर र उनले चाहेको बेलामा स्थानीय बासीहरूले आफ्नो बालबच्चाको बलि दिनै पर्ने कुराबाट आक्रोशित भएर उनकै भारदार र श्रीमतीहरू मिलेर योजना बनाई उनलाई मारेको खुसीयालीमा सराय नाच प्रदर्शन गर्दै आइरहेको मान्यता छ।
सो नाच प्रदर्शन गर्दै गर्दा उच्चारण हुने "वक्खै" शब्दको अर्थ पनि " त्यसलाई नछोड" भन्ने हो भनेर मानिने प्रचलन छ। सयौँ, हजारौँ मानिसहरूको उपस्थितिमा प्रदर्शन गरिने सराय नाच विशेष गरी गुल्मीका धुर्कोट र चोएगा, अर्घाखाँचीका अर्घाभगवती र भण्डारथुम, पाल्पाको भैरवस्थान, प्युठान बिजुलीकोट खडक भगवती मन्दिर, प्युठान को जाबुने स्थित आलम देवी मन्दिर लगायत का विभिन्न मन्दिरहरूमा प्रदर्शन गरिन्छ। सो नाच देवीको मन्दिरमा नाच्ने गरिन्छ। शक्ति पीठका अगाडि आलम स्थापना गरिएको स्थानमा पुजारीको हातबाट टीका लगाएर हतियार पूजा गरी नाच्ने गरिन्छ। यी स्थानहरूमा लोप हुने अवस्थामा पुगेको सराय नाच अहिले भने दाङ, रुपन्देही, कपिलवस्तु जस्ता स्थानहरूमा मध्ये पहाडी क्षेत्रबाट बसाइँ गरेर आएका केही समुदायले जगेर्नाका निम्ति प्रदर्शन गर्न सुरु गरेको पनि देख्न सकिन्छ।
सराय नाच आफैमा रमाइलो, धार्मिक, ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको एक महत्त्वपूर्ण नाच भएका कारणले यस्ता सम्पदा र संस्कृतिको जगेर्ना गर्नु हामी सबैको दायित्व हो।