जन्मिएलगत्तै शिशुका नाममा बैंक खाता

ज्ञानमाण्डू।जुम्लाको पातारासि गाउँपालिकाले जन्मिए लगत्तै बालबालिकाको नाममा बैङ्क खाता खोलिदिने गरेको छ । बच्चा जन्मिएपछि जन्म दर्ता गराए लगत्तै गाउँपालिकाले रु तीन हजार र अभिभावकले रु तीन हजार गरी एकै पटक रु छ हजार जम्मा गरिदिने गरेको छ । 

सम्पूर्ण गाउँपालिकावासीलाई बैङ्कको पहुँचमा पुर्‍याउने र वित्तीय साक्षरता अभिवृद्धि गराउने उद्देश्यले कार्यक्रमको सुरुआत गरिएको गाउँपालिका अध्यक्ष लछिमन बोहराले बताए । स्वास्थ्य संस्थामा जन्मिएका बच्चाको नाममा बैङ्क खाता खोलिदिने कार्यक्रम गत वर्षबाट गाउँपालिकाले सञ्चालनमा ल्याएको हो । महिला स्वास्थ्य संस्थामा आएर सुत्केरी भएको प्रमाण पेस गरेमा गाउँपालिकाले रु तीन हजार बच्चाको नाममा जम्मा गरिदिने गरेको छ । 

बच्चाको नाममा रकम जम्मा गर्ने गाउँपालिकाको कार्यक्रमले सबै महिला स्वास्थ्य संस्थामा आएर सुत्केरी हुने गरेका छन् । भविष्यमा बालबालिकालाई उच्च शिक्षा हासिल गर्न सहयोग पुग्ने गाउँपालिका अध्यक्ष बोहराले बताए । बालबालिकाको उच्च शिक्षा अध्ययनमा सहयोग पुगोस् भनेर बालबालिकाको नाममा बैङ्क खाता खोलिदिने नीति तथा कार्यक्रमको सुरुआत गरिएको बोहराले उल्लेख गरे । स्वास्थ्य संस्थामा बच्चा जन्मिएको प्रमाणसहित जन्म दर्ता गराएकै दिन बैङ्क खाता खोलेर रकम जम्मा गरिदिने गरेको अध्यक्ष बोहराले जनाए  । 

स्वास्थ्य संस्थामा सुत्केरी भएमा आमा र बच्चाको जीवन सुरक्षा हुने भन्दै अध्यक्ष बोहराले स्वास्थ्य संस्थामा जे जन्मिए पनि बच्चाको नाममा बैङ्क खाता खोलिदिने गरेको बताए । गत वर्षसम्म रु दुई हजार ५०० जम्मा गर्दै आएको गाउँपालिकाले यस वर्षदेखि रु ५०० थपेर रु तीन हजार पुर्‍याएको र उच्च शिक्षा हासिल गर्न एकै पटक धेरै रकम आवश्यक पर्ने हुँदा जन्मेदेखि बचत गरेमा सहज हुने हेतुले यो कार्यक्रम गाउँपालिकाले लागू गरेको अध्यक्ष बोहराले उल्लेख गरे । 

“अहिले विभिन्न उत्सवका नाममा खर्च गर्ने होडबाजी छ”, अध्यक्ष बोहराका अनुसार, “कम्तीमा बालबालिकाकै खाता भयो भने बचत गरिदिऊँ भन्ने अभिभावकको मनमा पक्कै पर्छ, यसले आर्थिक अवस्था मजबुत गर्छ भन्ने हाम्रो विश्वास हो ।” घरमै सुँडेनीका भरमा हुने गरेका असुरक्षित प्रसूति कार्यलाई शून्य बनाउन यस कार्यक्रमले मद्दत गर्ने अध्यक्ष बोहराले जोड दिए  ।रासस 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%
0%
0%
0%
0%
0%

प्रतिकृया दिनुहाेस्

बैङ्किङ्ग निर्देशन/सूचना

ad x